NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्रीबाट उपप्रधानमन्त्री, अहिले स्वेच्छाले राजीनामा

काठमाडौं (एजेन्सी) । पोल्याण्डको सत्तारूढ दल ‘कानुन तथा न्याय पार्टी’ का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले मङ्गलबार प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै आफू सरकारको कुनै पनि पदमा नरहेको स्पष्ट पारेका छन् ।

आफ्नो राजीनामा प्रधानमन्त्रीले स्वीकृति गरिसकेको र अब राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

‘अब सरकारमा रहिनँ, मैले प्रधानमन्त्री मातेउज मोराविस्कीलाई राजीनामा पत्र बुझाई सकेको छु,’ उनले भने ।उनले यसअघि नै राजीनामाको मनस्थिति बनाए पनि रुस–युक्रेन युद्धका कारण रोकिएका थिए ।

जारोस्लावले चुनावमा ध्यान केन्द्रित गर्न उपप्रधानमन्त्रीको जिम्मेवारीबाट अलग हुन चाहेको बताएका छन् ।

पोल्याण्डमा सन् २०२३ मा निर्वाचन हुँदैछ ।

अब उनको स्थान त्यहाँका रक्षा मन्त्रीले लिनेछन् ।

जारोस्लाव पोल्याण्डका शक्तिशाली नेता हुन् । उनले सन् २००६- २००७ मा त्यहाँको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनी सन् २००३ देखि सो पार्टीको प्रमुख प्रभावशाली नेता रहँदै आएका थिए । सन् २००१ मा स्थापना भएको सो पार्टीको उनी सह–संस्थापक थिए ।

पोल्याण्डको राजनीतिमा उनलाई लामो समय लोकप्रिय नेताका रुपमा चिनिन्थ्यो भने उनको परिवार पनि प्रभावशाली राजनीतिक परिवार मानिन्छ ।

उनका जुम्ल्याहा लेच कास्जीन्स्कीको सन् २०१० मा निधन भएको थियो । जतिबेला उनी पोल्याण्डका राष्ट्रपति थिए ।