NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

जर्मनीलाई झुक्याउन फ्रान्सले जब नक्कली पेरिस बनायो

काठमाडौं । अक्टुबर ४, सन् १९२० मा बेलायती अखबार द ग्लोबमा ए मोक पेरिस : फ्रेन्च प्लान टु डिसिभ जर्मन इन्भेडर्स (नक्कली पेरिस : जर्मन आक्रमणकारीहरुलाई धोका दिने फ्रान्सको योजना) शीर्षकको रिपोर्ट प्रकाशित भयो । प्रतिवेदनको शीर्षक निकै रोचक थियो ।

अखबारका अनुसार युद्ध र छलकपटको यो कथा सार्वजनिक भए पनि विश्वास गर्न असम्भव नै थियाे ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रथम विश्वयुद्धको क्रममा दुवै पक्षबीच अस्थायी युद्धविराम भएका कारण सैन्य गतिविधि रोकिएको थियो । यही अवसरको फाइदा उठाउँदै फ्रान्सेली इन्जिनियरहरुले पेरिसबाट धेरै टाढा अर्को पेरिस निर्माण गरे । त्यहाँ सडक, घर, स्टेशन, रेल, रेलमार्गलगायत पुरै सहरको नक्कल गरी वास्तविक सहर जस्तै बनाइयो ।’

यो इलेक्ट्रिकल इन्जिनियर फर्नान्ड जेकोपोजीको कल्पना थियो, उनले फ्रान्सेली सरकारको सहयोगमा यसलाई वास्तविकतामा परिणत गरे ।

बमवर्षक जर्मनी वायु सेनाकाे विमानलाई झुक्याउन र तिनीहरुलाई वास्तविक राजधानीबाट टाढा लैजाने तरिका थियो, उनीहरुले विमानबाट बम आक्रमण गरे पनि कुनै मानवीय एवं भौतिक क्षति नहोस् भनेर नक्कली पेरिस बनाइएको थियो ।

विष्फोटक पदार्थ विमानबाट बोकेर आकाशबाट हेरेर सिधै लक्ष्यमा खसालिन्थ्यो । प्रविधिको अभावका कारण पाइलटहरूले राति आकाशबाटै आफूहरु वास्तविक पेरिसमाथि उडिरहेका थिए वा नक्कली पेरिसमाथिको आकाशमा थिए भन्ने छुट्याउन सकेनन् ।

पेरिसमा आक्रमण गर्ने पहिलो जर्मन विमान तोब लडाकु थियो, जसले पेरिसमा ३० अगस्ट, १९१४ मा बम खसालेको थियो, पछि जर्मनीले लन्डनमा आक्रमण गर्न यी पक्षी आकारका विमानहरू पनि प्रयोग गरेको थियो ।

पेरिसमा जर्मनीको चासो हुनुमा दुईवटा कारण थिए । पहिले कुनै पनि देशको राजधानी रणभूमिको सबैभन्दा नजिक रहेको पेरिस थियो, पेरिसमा आक्रमण गर्नका लागि जर्मन विमानहरुले करिब ३० किलोमिटरमात्रै यात्रा गरे पुग्थ्यो । दोस्रो, राजधानी भएका कारण फ्रान्सका लागि पेरिस महत्वपूर्ण थियो ।

पेरिसमा जर्मनीले पहिलोपटक ३० अगस्ट १९१४ मा आक्रमण गरेको थियो। कुनै देशको राजधानीमा आक्रमण भएको यो पहिलो घटना हो । धेरै मानवीय क्षति नभए पनि मानसिक रुपमा ठूलो हानि पुर्यायो । युद्ध चर्किरहेको थियो, युद्धभूमिमा नजाने बालबालिका र महिलाहरू पनि आक्रमणमा पर्न थालेका थिए ।

त्यसपछि अर्को १८ महिनासम्म सहरमा धेरैपटक आक्रमण भयो । यसमा मार्च १९१५ मा जेपलिनद्वारा पहिलो आक्रमण गरेको थियो । जेपेलिन काउन्ट फर्डिनान्ड भोन जेपेलिन द्वारा आविष्कार गरिएको थियो । यी विमानहरूले बेल्जियम एयरपोर्टबाट उडान भरेर पेरिसमा बम खसाले । यद्यपी यी आक्रमणमा मारिनेको संख्या थोरै थियो ।

२९ जनवरी १९१५ मा फ्रान्सको राजधानी आकाशमा दुईवटा जेपेलिन देखिए । उनीहरुले खसालेको बमबाट २४ जनाको ज्यान गएको थियो भने ३० जना घाइते भएका थिए । फेबु्रअरी ७, १९१६ मा मृतकको शवयात्रा निकालियो । मृतकका कफिनलाई ६ वटा गाडीमा राखेर नोट्रेडम चर्चमा लगिएको थियो । शवयात्रामा राजनेता र अधिकारीहरुका साथै हजारौं मानिसहरुको सहभागिता रहेको थियो ।

पेरिसको नक्कली सहर बनाउने परियोजनामा ​​जेकोपोजी पनि संलग्न भए, यद्यपि यसको पछाडि के कारणहरू थिए भन्ने अहिलेसम्म थाहा छैन । सन् १९१७ को उत्तरार्धमा, उनलाई देशको युद्ध विभाग, डिफेन्स कन्ट्रे एभियन्सद्वारा हवाई आक्रमणबाट फ्रान्सको रक्षा गर्ने जिम्मेवारी दिइएको थियो । यसअन्तर्गत जर्मनी विमानलाई झुक्याउन पुरै पेरिसजस्तै देखिने गरी अर्को सहर बनाउने योजना अगाडि बढ्यो ।

अहिलेको आधुनिक समयमा यो योजना निकै काल्पनिक देखिन्छ, तर त्यसबेला यस्तो योजना अपनाउनुको कारण बुझ्न गाह्रो छैन । त्यतिबेला आकाशबाट युद्ध हुने प्रविधिको खासै विकास भएको थिएन । विष्फोटक पदार्थ विमानबाट बोकेर आकाशबाट हेरेर सिधै लक्ष्यमा खसालिन्थ्यो । प्रविधिको अभावका कारण पाइलटहरूले राति आकाशबाटै आफूहरु वास्तविक पेरिसमाथि उडिरहेका थिए वा नक्कली पेरिसमाथिको आकाशमा थिए भन्ने छुट्याउन सकेनन् ।

रातको अँध्यारोमा राजधानीतर्फ विमान उड्ने गर्दथे । तिनीहरूसँग प्राविधिक उपकरणहरू थिएनन्, बरु स्थलाकृतिको जानकारी दिने नक्साहरू थिए । उनीहरुले सेन नदीनजिकैबाट पेरिसमा बम खसाल्थे । पेरिस फ्रान्सको उत्तरमा बग्ने सेइन नदीको किनारमा अवस्थित छ ।

तर यो नदी सिधा बग्दैन । प्रसिद्ध पेरिस ब्रिज र एफिल टावरको छेउमा पुग्दा नदी दुई पटक ऊँटको कुम जस्तै घुम्छ । यीमध्ये दोस्रोमा मायासौं लफिते भनिने ठाउँमा जेकोपोजीले पेरिसको नक्कली सहर बनाउने स्थान रोजेका थिए ।

यसबाहेक जर्मनीका विमानहरूलाई झुक्याउन राजधानीको १६ किमी पूर्वमा नक्कली औद्योगिक क्षेत्र र पेरिसको उत्तर पूर्वमा भिलेपिन्टाइनको छेउमा नक्कली सौ डिनी बनाउने योजना बनाइएको थियो ।

जेकोपोजीको कडा परिश्रमको नतिजा पहिलेदेखि नै देखिन थालेको थियो । सेप्टेम्बर १६ मा एक जर्मन गोथा विमानले राजधानीमा २२ हजार किलोग्राम बम खसालेको थियो । उक्त आक्रमणमा ६ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । अर्को आक्रमणअघि सम्म नक्कली पेरिस सुरु गर्ने योजना भए पनि त्यसो हुन पाएन । दुई महिना पछि युद्ध समाप्त भयो । सन् १९२० मा यसबारे बेलायती पत्रिकाले समाचार लेखे पनि नक्कली पेरिस बनाउने व्यक्तिको पहिचान गर्न त्यसबेला कसैले सकेन ।

पछि जेकोपोजीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान लिजन अफ अनरबाट सम्मानित गरियो । फर्नान्ड जेकोपोजीको निधन सन् १९३२ मा भएको थियो ।

उनको निधनपछि द पिपुल नामको एक पत्रिकाले लेखेको थियो, ‘आइफिल टावरमा उनले जडान गरेको प्रकाशले विश्वको ध्यान आफ्नो तान्न सफल भयो । पेरिसलाई प्रकाशको सहर बनाउन उनको ठूलो भूमिका रह्यो ।’ तर पत्रिकाले विश्वयुद्धका क्रममा फ्रान्सेली सरकारको प्रयासको उल्लेख गर्यो, न त नक्कली पेरिस सहर बनाउने उनको योजना बारे लेख्यो ।