NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमालेले किन खोस्यो जिल्ला अध्यक्ष थापाको पद ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलाली जिल्ला अध्यक्ष रतनबहादुर वर्खास्त गरेको छ ।

सोमबार बसेको प्रदेश कमिटीको बैठकले थापालाई जिम्मेवारीबाट मुक्त गरेको हो । थापा मदन जयन्ती अवसरमा पदमुक्त भएका छन् ।

यसअघि बिहीबार कैलाली जिल्ला कमिटीले थापालाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । थापामाथि आफ्नै उम्मेदवार हराउन विपक्षीसँग साँठगाँठ गरेको, नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको लगायत आरोपमा कारबाही गरेको सचिव धर्मराज पाठकले जानकारी दिएका छन् । उनका अनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी दुर्गा जोशीलाई दिइएको छ । एक महिनाभित्र नयाँ अध्यक्षको निर्वाचन गर्न जिल्ला कमिटीलाई दिइएको छ । पदीय जिम्मेवारीबाट हटाइएको विषयमा थापाले आफूलाई केही थाहा नपाएकोे बताए ।

‘मलाई यस विषयमा केही थाहा छैन । अहिले म केही बोल्ने पक्षमा छैन । यस विषयमा पछि विस्तृतरूपमा जानकारी गराउँला ।’ नेपालवाचसँग भने ।

थापाको कारवाहीको सम्बन्धमा एमालेका केन्द्रीय नेताहरूले नै असन्तुष्टि जनाएका छन् । ‘थापामाथिको कारबाही गलत छ । पूर्वाग्रहपूर्ण छ । परिस्थिति प्रतिकुल रहेको अवस्थामा पार्टीलाई एकतावद्ध रूपमा अगाडि बढाउनुपर्नेमा उल्टो कारबाही गर्दा झन् आत्मघाती हुन्छ’, एक केन्द्रीय नेताले भने, ‘कारबाहीलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि तल्लो तहबाटै छलफल गरी आउनुपर्छ । निर्वाचनको मुखमा कारबाही गर्दा पार्टीले थप क्षति व्यहोर्नुपर्छ ।’

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए । एक उपमहानगरसहित ७ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा स्थानीय तह निर्वाचनमा एमालेले दुई गाउँपालिका अध्यक्ष र तीन उपप्रमुख मात्र जितेको थियो ।

१. धनगढी उपमहानगरपालिका–स्वतन्त्र\एमाले

२. गोदावरी नगरपालिका–कांग्रेस\एमाले

३. गौरीगंगा नगरपालिका–माओवादी\कांग्रेस

४. घोडाघोडी नगरपालिका–एस \कांग्रेस

५. लम्की चुहा नगरपालिका–कांग्रेस\एमाले

६. भजनी नगरपालिका– नागरिक उन्मुक्ति पाटी

७. चुरे गाउँपालिका–एमाले \कांग्रेस

८. कैलाली गाउँपालिका– कांग्रेस

९. जानकी गाउँपालिका–नागरिक उन्मुक्ति पार्टी

१०. जेशीपुर गाउँपालिका– नागरिक उन्मुक्ति पाटी

११. टिकापुर नगरपालिका– नागरिक उन्मुक्ति पाटी\माओवादी

१२. बर्दगोरीया गाउँपालिका–एमाले\माओवादी

१३. मोहन्याल गाउँपालिका–माओवादी\कांग्रेस