राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

राँझा। राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ । बुधबार बिहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर रहेको छ । आज दिनभरि मध्यम वर्षाद भइरहने अनुमान रहेकाले राप्ती नदीमा बाढीको सतह बढ्न सक्ने छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया