NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

२२ वर्षपछि नियुक्त भन्सार एजेन्टले के गर्छन् ?

काठमाडौं । २२ वर्षपछि पहिलोपटक भन्सार एजेन्ट नियुक्त गरिएको छ ।

०५७ मा ५६ जना एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् ।

लामो समयदेखि भन्सार एजेन्ट नियुक्ति नहुनु र भएका पनि अधिकांश निष्क्रिय हुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए । यसबीचमा भन्सार नाका र वैदेशिक व्यापार दुवै बढे पनि भन्सार सहजीकरण गर्ने एजेन्ट नहुँदा समस्या निम्तिएका छन् ।

यसैलाई केन्द्रित गरेर विभागले ०७७ फागुनमा भन्सार एजेन्टका लागि दरखास्त माग गरेको थियो । तर, कोभिड– १९ को महामारी, विवाद, प्रक्रियागत सुस्तताका कारण नियुक्तिमा ढिलाइ भएको थियो ।

निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरहसमेत मानिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ ।

विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दशौँ संशोधन) को व्यवस्था छ । भन्सार एजेन्टमा छनोट भएका व्यक्तिसँग सात हजार रुपैयाँ राजस्व र धरौटीबापत सात लाख रुपैयाँ नगद वा सो रकमबराबरको बैंक जमानत लिई नियुक्त दिइने भन्सार नियमावली, २०६४ (२०७६ दशौँ संशोधन) मा व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष