प्रचण्डले फेरि फाले कम्युनिस्ट एकताको ‘कार्ड’ !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिस्ट एकताको कार्ड फालेका छन् ।
आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिनुपर्ने बताउँदै फेरि कार्ड फालेका हुन् ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कांग्रेससहितको गठबन्धन सरकारमा छ । यस्तो बेला पनि कम्युनिस्ट एकतामै जोड दिँदै फेरि उनले कार्ड फाले ।
कांग्रेससँगको सम्बन्धमा उतारचढाब भएपछि प्रचण्डले कम्युनिस्ट एकताको विषय उठाउने गरेका छन् । आगामी संसदीय र प्रदेश चुनावमा कांग्रेसले माओवादीलाई पाउनुपर्नेभन्दा कम सिट दिन लागेको भन्दै केही समयअघि पनि प्रचण्डले यस्तै ‘धम्की’ दिँदै आएका थिए ।
आज पुनः उनले यस विषयलाई जोडतोडका साथ उठाएका हुन् ।
प्रचण्डले बैठकमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरूको रायसमेत माग गरेको एक नेताले बताए ।
उनले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरूसँग अनौपचारिक छलफल भएको जानकारी दिए । भ्याएसम्म आजै तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यको बैठक बस्ने तयारी भएकोसमेत भएको बताइएको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयनको लिखित प्रस्ताव पेश भएको छ । बैठकमा स्थायी कमिटी, पोलिटव्युरो र पदाधिकारी चयनको लिखित प्रस्ताव पेश गरेका हुन् ।
प्रचण्ड र माधव नेपालको केपी शर्मा ओलीसँगको खटपटपछि करिब दुई वर्षअघि नै नेकपा विखण्डनतर्फ गएको थियो । केही समयपछि सर्वोच्च अदालतले नै नेकपा खारेज गरिदिएर एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएको थियो ।
त्यसयता प्रचण्ड कांग्रेससँगको सहकार्यमा छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको हानाथापको असरस्वरुप प्रचण्डको अगुवाइमा पुनः नेकपा ब्युँताउने खेल भइरहेको कतिपयको विश्लेषण छ । यसबाट उत्साहित भएर उनले आज कम्युनिस्ट एकताको मुद्दा अघि सारेको हुनसक्ने बताइएको छ ।
यसअघि अर्कोतिर वामदेव गौतम पनि नेपाल एकता अभियानमा जुटिसकेका छन् । यद्यपि, उनको अभियानमा विवाद आएको छ ।
प्रतिक्रिया