संखुवासभा सामुहिक हत्याकाण्ड : संग्लग्न चार जनालाई जन्मकैद

काठमाडौं । संखुवासभाको मादीमा भएको सामुहिक हत्याकाण्डमा संग्लग्न चारजना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला अदालत चैनपुर संखुवासभाले सोमबार चार जनालाई आजीवन कैद सजाय सुनाएको हो ।
४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र २६ वर्षीय लोकबहादुर कार्कीलाई आजीवन कैद सजाय सुनाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
एकजना १७ वर्षीय नाबालिगको हकमा भने अदालतले छुट्टै निर्णय गरेको छ । उनलाई २५ वर्ष सजायको दुई तिहाइ कैद हुनेगरी सजाय सुनाएको हो ।
यस्तै, उनीहरूलाई जनही दुई–दुई लाख क्षतिपूर्ति तिराउनसमेत अदालतले आदेश दिएको छ ।
गत वर्षको भदौ २१ गते मादी नगरपालिका–१ खोलागाउँका बृद्धा र बालबालिकासहित एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको छ ।
९० वर्षीय बौद्धबहादुर कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५५ वर्षीय छोरा तेजकुमार, उनकी ५४ वर्षीया श्रीमती मनमाया, नातिनी बुहारी ३२ वर्षीया रञ्जना, पनाती ८ वर्षीय विपिन र पनातिनी ५ वर्षीया गोमाको हत्या भएको थियो ।
हत्यामा संग्लग्न सबै नजिकका दाजुभाइ हुन् ।
प्रतिक्रिया