अपहरणमा परेका तीन वर्षीय बालकको सकुशल उद्धार, आरोपी पक्राउ
जनकपुरधाम । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ ।
भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।
अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बालकलाई आफ्नै घरमा लिएर खातुन लुकेकी थिइन् । बालकको उद्धार र ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन ।
जानकारी हुनेबित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो । प्रहरी टोलीले बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया