NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अपहरणमा परेका तीन वर्षीय बालकको सकुशल उद्धार, आरोपी पक्राउ

जनकपुरधाम । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ ।

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बालकलाई आफ्नै घरमा लिएर खातुन लुकेकी थिइन् । बालकको उद्धार र ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन ।

जानकारी हुनेबित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो । प्रहरी टोलीले बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।