NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

२ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति प्रस्ताव, तर देउवाले हुँदैन किन भने ?

काठमाडौं । निर्वाचन आयोगले अगामी २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र थपलियाले तयारीका लागि कम्तिमा १२० दिनको समय लाग्ने भन्दै २ मंसिरमा एकै चरणमा निर्वाचन सरकारलाई प्रस्ताव गरेका हुन् ।

‘तयारीका लागि आवश्यक समय १२० दिनको राख्दै हामीले २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सुझाव दिएका छौं’ थपलियाले भने, ‘चुनाव मंसिरमै हुन्छ । तर केही अवधि राखेर मिति घोषणामा सरकार जुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

२ मंसिरमा चुनाव निर्वाचन गर्ने आयोगको सुझावमा देउवाले २ मंसिरमै नहुन सक्छ भन्दै ज्योतिषीको साइत कुर्ने संकेत गरेका छन् ।
कुनै पनि पनि महत्ववपूर्ण कार्य गर्नु अघि प्रधानमन्त्री देउवाले ज्योतिषीबाट साइत निकाल्ने गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आयोगबाट २ मंसिरको सुझाव आएपछि कात्तिकको अन्तिम वा मंसिरको पहिलो हप्ता आसपासको साइत निकालेर निर्वाचनको मिति घोषणा गर्ने तयारी प्रधानमन्त्री देउवाको छ । मंसिरको दोस्रो साताबाट उता मौसमको कारण निर्वाचन गर्न सम्भव हुनेछैन । मंसिरबाट सर्दा निर्वाचन कम्तिमा फागुनसम्म धकेलिने छ ।

गत वैशाख ३० देउवा नेतृत्वको सरकारले ७५२ तहमा स्थानीय तहको निर्वाचन गराएको थियो । जुन निर्वाचनबाट देउवाकै दल कांग्रेसले ३२९ तह जित्दै पहिलो स्थान हात पारेको थियाे । देउवाले निर्वाचन ५ मंसिरभन्दा उता नजाने भन्दै तयारी थाल्न आयोगलाई निर्देशन दिएका थिए ।