NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

लामखुट्टेले टोक्दा विमानचालकको मृत्यु

काठमाडौं । लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म संक्रमण फैलिएर बेल्जियममा एक प्रशिक्षार्थी विमानचालकको मृत्यु भएको छ । बरी अफ सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत वर्ष जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिनपछि मृत्यु भएको थियो ।

सफोकका वरिष्ठ कोरनर नाइजल पार्स्लीले पेपरको मृत्युलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष उनले अदालतमा पेस गरेका छन् ।

पेपर अक्सफर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाइमा बताइएको छ । लामखुट्टेले उनको निधारमा दाहिने आँखानिर टोकेको थियो ।

दाहिने आँखा सुन्निएर संक्रमण भएको देखिएपछि उनी जुलाई ७ मा अस्पतालको दुर्घटना तथा आपतकालीन विभागमा गएकी थिइन् । पेपरलाई एन्टिबायोटिक औषधि दिइएको थियो तर दुई दिनपछि उनी बेहोस भइन् र उनका प्रेमीले उनलाई अस्पताल पुर्याएका थिए ।

अस्पताल पुर्याएको ३ दिनपछि जुलाई १२, २०२१ मा उनको मृत्यु भयो ।

उनको मृत्यु हुँदा अस्पतालले मस्तिष्कमा सेप्टिक एम्बोलीका कारण भएको भनेको थियो । स्ट्याफाइलोकोकस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । निधारमा किराले टोक्दा यस्तो अवस्था हुन्छ ।

पार्स्लीले अनुसन्धानको निष्कर्ष दर्ता गराउँदै पेपरको निधारमा कीराको टोकाइबाट हुने गम्भीर सङ्क्रमणका कारण मृत्यु भएको बताए । उनले भने, ‘मैले यस्तो भएको पहिले कहिल्यै देखेको थिइनँ ।’