NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको दौडधुप, क–कसलाई भेट्दैछन् ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका लिउलाई परराष्ट्रका कर्मचारीहरूले स्वागत गरेका थिए । भर्खर चिनियाँ विदेश विभाग प्रमुखमा नियुक्त भएका लिउले पहिलो विदेश भ्रमण नेपालबाट सुरू गरेका हुन् ।

लिउले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता  गरेका छन् । देउवासँग भेट लगत्तै अहिले उनी परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई भेट्न सिंहदरबार गएका छन् ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ओलीलाई भेट्न लिउ सोमबार ओली निवास बालकोटमा जाने तय भएको छ । प्रचण्ड र माधव लगायत नेताहरूलाई भेटवार्ताको स्थानबारे खुलाइएको छैन ।

प्रमुखमा नियुक्त भए लगत्तै उनले असार ९ र १० गते ओली र प्रचण्डसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए । त्यस्तै लिउले असार १६ मा परराष्ट्रमन्त्री खड्कासँग कुराकानी गरेका थिए ।

अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसी फागुन १५ मा संसदबाट अनुमोदन भएपछि चीनबाट भएको यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

सरकारले आगामी मंसिरमा प्रदेश र संघको निर्वाचनको मिति तय गर्ने तयारी गरिरहेको अवस्थामा लिउको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । नेपालको परराष्ट्रमन्त्रालय र नेपालस्थित चिनियाँ दुतावासले लिउको भ्रमणको उदेश्यबारे कुनै जानकारी नदिएपनि दुई देशबीच भाइचार सम्बन्ध अझै प्रगाढ बनाउने विषयमा भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा सुरूदेखि नै वामपन्थी एकतालाई जोड दिँदै आएको चीनले ठूला कम्युनिष्ट पार्टी एमाले, माओवादी र एकीकृत समाजवादीलाई मिल्न दबाब दिने हिसाबले उनको भ्रमण भएको हुनसक्ने राजनीति वृत्तमा चर्चा चलेको छ । तर भाइचारा पार्टीको हिसाले दुई पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ र आपसी सहयोगको लिउको भ्रमण भएको ठूला कम्युनिष्ट पार्टीको नेताहरूले दाबी गरेका छन् ।

एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले लिउको भ्रमण दुई पक्षबीचको सम्बन्ध विस्तार र आपसी सहयोगको विषयमा केन्द्रीत हुने दाबी गरेका छन् ।

‘तत्काल वामपन्थी दलहरूबीच एकता वा सहकार्यको कुनै गुञ्जायस छैन । लिउको भ्रमणले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको विषयमा छलफल केन्द्रीत हुनेछ’, भट्टराइले भने ।

‘लिउको भ्रमण विशुद्ध दुई कम्युनिष्ट पार्टीबीचको आपसी भाइचारा सम्बन्ध विस्तारको लागि हो’, एकीकृत समाजवादीका विदेश विभागका सचिव डा. शंकर खतिवडाले भने, ‘नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप हुँदैन । वामपन्थी एकताका लागि दबाब दिन आएको भन्ने कुरा वेकारका बहिरका हल्ला हुन् ।’

गत महिना अमेरिकाका एसिया प्रशान्तका सैन्य प्रमुखसहितका टोलीले नेपालको भ्रमण गरेका थिए । उनीहरू स्वदेश फर्किए लगत्तै अमेरिकी सैन्य सहयोग स्टेट पाटर्नसिप प्रोग्राम(एसपीपी) सम्बन्धी पत्रचार सार्वजनिक भएपछि चिनियाँ सशंकित देखिएका छन् । एसपीपीको नेपालमा व्यापक विरोध भएपछि सरकारले एसपीपीमा सहभागी नहुने पत्राचार गरेको थियो ।

किन आए चिनियाँ विदेश विभाग प्रमुख नेपाल ? यस्तो छ चीन मामिलाका जानकारको बुझाइ !