NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बाबुरामका नजरमा कुन दल कस्ता ? (राजनीतिक प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई प्रमुख नेताले पार्टी फुटाउने सहमति यसअघि नै गरिसकेका छन् ।

अध्यक्ष उपेन्द्र यादव पक्षले आजका लागि वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै छ । यता, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यसैदिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका छन् । त्यहाँ उनले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

भट्टराईले अध्यक्ष यादवको कार्यशैलीका कारण आफूले अलग हुने निर्णय गरेको बताएका छन् ।

‘अध्यक्ष यादवले पार्टीको कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएको निर्णय र रुलिङलाई माइन्युट गर्न पनि अनिच्छा देखाए । आपसमा समन्वय पनि गरेनन् । बैठक बोलाउँदासमेत फरक विचार राख्न सक्ने सदस्यलाई सूचना नै नदिने गरे । दिँदा पनि असाध्यै ढिलो दिए । पार्टीमा जिम्मेवारी बाँडफाँट राम्रोसँग गरेनन्,’ भट्टराईले प्रदिवेदानमा भनेका छन्, ‘खासखास मान्छे कामैकामले थिचिएजस्तो हस्याङफस्याङ गर्दै दौडधुप गरिरहने तर, पार्टीपंक्तिको ठूलो संख्या बर्षौं जिम्मेवारीविहीन र बेरोजगारजस्तो रहने कार्यशैलीबाट बलियो र प्रभावकारी पार्टी बन्न संभव नै हुँदैन । स्थानीय तह निर्वाचनमा पनि उनले पार्टीको उम्मेदवार चयनमा कार्यशैलीगत लथालिङ्गेपन देखाए । व्यक्ति–व्यक्तिले आफू खुशी टिकट बाँड्दै हिँड्ने, फरक पृष्ठभूमि वा समूहको भए पूर्वाग्रह राखेर टिकट नै नदिने, कतिपय ठाउँमा एउटै पदका लागि फरकफरक व्यक्तिबाट टिकट जाने एकभन्दा बढी उम्मेदवारले मनोनयन गर्ने, कतिपय ठाउँमा मनोनयनको दिन बिहानसम्म पनि टिकट नपुग्ने, गठबन्धनको संस्थागत संवाद र प्रयत्न नगर्ने यस्ता अनेक समस्या जताततै देखिए । जसको कारणले गर्दा पार्टीको उम्मेद्वारी संख्या र परिणाम निक्कै कमजोर बन्न पुग्यो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रायः सबै पार्टीको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले दस्तावेजमा लोकतान्त्रिक समाजवाद लेखे पनि व्यवहारमा समाजवाद कतै नदेखाएको उनको आरोप छ ।

यस्तै, नेता भट्टराईले आफूलाई कम्युनिस्ट भन्ने नेकपा (एमाले) पनि संसदीय प्रणाली समातेपछि कांग्रेसजस्तै बनेको टिप्पणी गरेका छन् ।

भट्टराईले आफ्नो पूर्वपार्टी नेकपा (माओवादी केन्द्र)प्रति पनि कडा टिप्पणी गरेका छन् । जनताको बहुदलीय जनवाद स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग नभएको भट्टराईको आरोप छ ।

यसैगरी, भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बारे पनि टिप्पणी गरेका छन् । शक्तिले सानो भए पनि विचारले राप्रपा दल देशको सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको उनको भनाइ छ ।

अब हेरौं भट्टराईले कुन दललाई के भने ?

कांग्रेस

वैचारिक दृष्टिकोणले कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो । दस्तावेजमा यसले प्रजातान्त्रिक समाजवाद लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा समाजवाद अहिलेसम्म कहीँकतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको प्रजातन्त्र पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र हो ।

लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, संघात्मक, पूर्ण र शुद्ध ( परफेक्ट एण्ड पियोर ) ढाँचा वा प्रारुपमा विकास गर्न यो पार्टीको कुनै रुचि देखिँदैन ।

एमाले

सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले जनताको बहुदलीय जनवादमार्फत् संसदीय प्रणालीको बाटो समात्योर बिस्तारै करिब कांग्रेसजस्तै–जस्तै बन्न पुग्यो । एमालेको जस्तो विचारलाई विश्व राजनीतिमा युरो कम्युनिज्म भन्ने गरिन्छ, जसको अर्थ उदारपुँजीवादी संसदीय लोकतन्त्रबाटै समाजवाद, साम्यवाद ल्याउन सकिन्छ भन्ने विश्वास हो ।

माओवादी केन्द्र

माओवादी केन्द्रले हिजो माओवाद, एक्काइशौं शताब्दीको जनवाद, प्रचण्डपथजस्ता विचारको कुरा गथ्र्यो । एमालेसँगको एकता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्माण र सहकार्यको करिब साँढे ३ बर्षको अबधिमा यो पार्टी एमालेजस्तै जनताको बहुदलीय जनवादी बन्यो । पुनश्चः विभाजनपछि यसले आफूलाई फेरि माओवादी भन्न
थालेको छ ।

यो ब्राण्ड मात्रै हो कि विचारधाराले नै माओवादी हो भन्ने प्रश्न गर्न सकिन्छ । औपचारिक रुपमा जनताको बहुदलीय जनवाद स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी देखिँदैन ।

राप्रपा

राप्रपा र राप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल हुन् । पुराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चहरूको बिरासतको गर्भबाट यी दलको उदय र अस्तित्व कायम भएको हो ।

जनतामा निहीत धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो गत आमनिर्वाचनमा निक्कै कमजोर भएको थियो । भरखरै सम्पन्न स्थानीय निर्वाचनमा थोरै प्रगति गरेको छ ।

शक्तिले सानो भए पनि विचारले यी दल देशको सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हुन् ।

यस्तो छ राजनीतिक प्रतिवेदन :

जसपा विभाजनको अन्तिम कसरत : ४० प्रतिशत सदस्य आफूसँग रहेको बाबुराम पक्षको दाबी