NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्रीलंकामा प्रधानमन्त्री कार्यालय तोडफोड, सरकारी टेलिभिजन बन्द

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको हिंसालाई रोक्नुको विकल्प नरहेको बताएका हुन् ।

यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् । उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।

‘हामी संविधान च्यात्न सक्दैनौँ । हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ,’ उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।

बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलंकाको संकट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा सयौंको सङ्ख्यामा तैनाद शसस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलंकास्थित सम्वाददाताले पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलंकाको संकटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् ।

यसैबीच, श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ । प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।