एमालेले एम अधिकारी गभर्नर होइनन् भन्यो, तर को हुन् भनेन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागको सदस्य रहेको भन्दै प्रश्न उठेपछि यसबारे सो पार्टीले प्रष्टीकरण दिएको छ ।
खोटाङ घर भएका अधिकारी नै एम अधिकारी रहेको भन्दै गभर्नर पार्टी विशेषमा सक्रिय रहेको प्रश्न उठेपछि एमालेले विज्ञप्ति जारी गरेको हो ।
पार्टीको अर्थ तथा योजना विभागमा नाम आएका एम अधिकारी राष्ट्र बैंकको गभर्नर हो भन्दै उठेको प्रश्नमा आफूहरूको ध्यानाकर्षण भएको एमालेको भनाई छ ।
‘यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चार माध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनि भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’ एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछुु ।’
तर एम अधिकारी महाप्रसाद नभएको प्रष्ट्याए पनि उनीसँगै ठेगाना मिल्ने को हुन् भनेर एमालेले केही खुलाएको छैन ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग विवाद बढेपछि हटाइएका गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्काइदिएको थियो । तर उनी एमाले नेताको हैसियतमा एम अधिकारीको नामबाट सक्रिय रहेको हुन सक्ने भन्दै प्रश्न उठेको हो ।
आफूमाथि प्रश्न उठेपछि गभर्नर अधिकारीले आफ्नो नाममा विवाद सिर्जना गर्न खोजिएको भन्दै प्रष्ट पारिदिन माग गर्दै एमालेलाई पत्र नै लेखेका थिए । यसै पत्रको जवाफ लेख्दै एमालेले एम अधिकारी राष्ट्र बैंकका गभर्नर नभएको जनाएको हो ।
०७३ सालमा पनि यस्तै गरी प्रश्न उठ्दा अधिकारीले प्रष्ट पारिदिन एमालेसमक्ष पत्र नै लेखेका थिए । सो पत्रको जवाफ दिंदा अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम भूलवस पर्न गएको बताएको थियो । अन्तिम नामावलीमा अधिकारीको नाम नरहेको भन्दै एमालेले त्यतिखेर विभागसँग अधिकारीको कुनै साइनो नरहेको बताएको थियो ।
यसरी पहिले र अहिले पनि एमालेले खोटाङका एम अधिकारी महाप्रसाद अधिकारी नभएको बताएको छ । तर पहिले भुलवस भनेको एमालेले अहिले ती को हुन् भनेर प्रष्ट्याएको छैन । त्यतिखेर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए ।
यस्तो थियो महाप्रसादले एमालेलाई लेखेको यसपटकको पत्र
त्यस पार्टीको अर्थसम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी (खोटाङ) सदस्य रहेको भनि सोसियल मिडिया तथा अन्य संचारमाध्यमबाट जानकारी भयो । नेपाल नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सिर्जना भएको देखिन्छ । म सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्छु। साथै त्यस दल लगायत अन्य कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यहोरासमेत अनुरोध गर्दछु । यसरी राजनीतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विषेशको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदा हुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु।
प्रतिक्रिया