NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बालेनको स्पष्टीकरण : गैरकानुनी र अनैतिक काममा महानगर सामेल हुने छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको जनाएका छन् ।

ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै सञ्चारमाध्यममा आएका समाचार अतिरञ्जित भएको बताएका छन् ।

‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने उनले स्पष्ट पारेका छन् ।

‘कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन,’ उनले स्पष्टीकरण दिएका छन्, ‘साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न–गराउन अनुरोध गर्दछु ।’

ई–स्पोर्टसका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको भन्दै अहिले मेयर शाहकोे आलोचना भइरहेको छ ।