साढे ३ अर्बको मदिरा आयात हुँदा सरकारले उठायो ५ अर्ब राजश्व
प्रतिबन्धले अवैध कारोबारको जोखिम बढ्दो

काठमाडौं । सरकारले पछिल्लो समय बढ्दो व्यापार घाटा, उच्च आयात, विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
तर आयात खुला भएको बैला नै नेपालमा अर्बौ रुपैयाँ बराबरको मदिरा भने भित्रिसकेको विभागको तथ्यांकले देखाउँछ । आयात प्रतिबन्ध भएतापनि अवैधानिक तरिकाले नेपालमा करौडौँ रुपैयाँ बराबरको मदिरा आयात भइरहेको विदेशी मदिरा बिक्रेता व्यवसायीहरूले दाबी गर्दै आएका छन् ।
त्यस्तै उनीहरूले बजारमा स्टक मदिरा सकिँदै गएकाले अवैध रुपमा मदिरा आयात गर्ने समूह सक्रिय हुन थालेको पनि दाबी गरेका छन् । विस्तारै चाडपर्व नजिकिँदै गरेकाले पनि अवैध आयात बढ्न सक्ने मदिरा व्यापारीहरूले सरकारलाई सजगसमेत गराउँदै आएका छन् । साथै उनीहरूले मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाउन पनि आग्रह गर्दै आएका छन् । तर सरकारले साउन १ देखि व्यवसायीले माग गरे अनुसार प्रतिबन्ध हटाउन चाहेन । सरकारले यसअघि असार मसान्तसम्म तयारी मदिरासहित १० वस्तुको आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।
अर्कोतिर मदिरामा उच्च दरमा कर लाग्छ । मदिरा आयात गर्दा आयातकर्ताले ३ सय रुपैयाँसम्म कर तिर्नुपर्छ । सरकारले आर्थिक वर्ष ७८/७९ को बजेटमार्फत मदिरा, सुर्तीजन्य वस्तु र पेय पदार्थको अन्तशुल्क बढाएको थियो । अन्तशुल्क त्यसमाथि थप भ्याट जोड्दा सरकारले आयातभन्दा बढी राजश्व उठाउँछ । मदिरामा मात्र हैन गाडी, मोबाइलजस्ता वस्तुबाट सरकारलाई राजश्वबाट राम्रै आम्दानी हुने गर्छ । सरकारको यो नीतिले एकातिर आयातमा केही कमी त आएको छ नै, अर्कोतिर सरकारले अर्बौ रुपैयाँमा उठाउने राजश्वमासमेत कमी आएको तथ्यांकमा देखिएको छ ।
यता विदेशी मदिरा आयातकर्ताहरू ठूलो मूल्य बराबरको राजश्व संकलन गर्न सकिने मदिरा आयातमा प्रतिबन्ध लगाउँदा राजश्व गुमेको र सरकारलाई नै घाटा भएको बताउँछन् । आयात–निर्यातकर्ता व्यापारीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल जस्तो खुला सीमाना भएको मुलुकमा मोटरगाडी, मोटरसाइकल जस्ता दर्ता गरेपछि मात्र प्रयोग गर्न पाइनेबाहेकका वस्तुको आयात प्रतिबन्धले नरोकिने बरु अवैध कारोबारको जोखिम बढाउने भन्दै विज्ञप्तिमार्फत जानकारीसमेत गराइसकेको छ ।
संघका महासचिव मदन मित्तल बच्चाको खेलौना, मदिरा, तास, इनर्जी ड्रिंक्स जस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा चोरबाटोबाट भित्रिने बताउँछन् । महासचिव मित्तलले तीन वर्षअघि आयातमा प्रतिबन्ध लागेको विदेशी इनर्जी ड्रिंक्स नेपाली बजारमा पाइरहेको घटनालाई उदाहरणको रुपमा अघि सार्दै प्रश्न गरे, ‘२०७६ असारदेखि औपचारिक रुपमा आयात नभएको इनर्जी ड्रिंक्स बजारमा कसरी आयो ?
प्रतिबन्धले तस्करी बढायो कि आयात रोक्यो ?’
संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठिया आयातमा प्रतिबन्ध लाग्दा औपचारिक माध्यमबाट हुने विदेशी मुद्राको बहिर्गमन रोकिएको देखिए पनि त्यसको अर्को पाटो झन् डरलाग्दो हुने बताउँछन् । महंगो विदेशी मदिरालाई कडाई गरेर स्वदेशी मदिरा उत्पादनलाई जोड दिनुपर्ने सम्बन्धित सरोकारवालाले भन्दै आएपनि आयात हुन भने छोडेको छैन । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिनाको तथ्यांकअनुसार नेपालले विभिन्न प्रकारका साढे तीन अर्बको मदिरा आयात गरको पाइएको छ ।
३ अर्बको मदिरा आयात
विभागको तथ्यांकअनुसार ह्वीस्की, वाइन, भोड्कालगायतका ३ अर्ब ४८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको छ । उक्त मूल्य बराबको मदिरा आयात हुँदा आयातको झण्डै दोब्बरको हाराहारीमा अर्थात सरकारले ५ अर्ब १५ करोड १९ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ ।
कुन देशबाट कस्ता मदिरा आयात हुन्छन् ?
नेपालमा आयात हुने मदिरामा सबैभन्दा बढी ह्वीस्की रहेको छ । ह्वीस्कीबाहेक नेपालमा बढी आयात हुने मदिरामा वाइन, भोड्का, जिनजस्ता अल्कोलिक पदार्थ रहेको छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् ।
नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाटसमेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार नेपालमा ३० देशबाट मदिरा आयात हुँदै आएको छ ।
सबैभन्दा बढी मदिरा आयात बेलायतबाट
नेपालमा आयातित हुने कच्चा र तयारी मदिरामा सबैभन्दा बढी बेलायतबाट आयात भएको पाइएको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त देशबाट १ अर्ब ७० करोड ६९ लाख ६८ हजार मदिरा आयात भएको हो । बेलायतपछि नेपालले अमेरिकाबाट १६ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको मदिरा आयात गरेको छ । त्यस्तै अस्ट्रेलियाबाट ११ करोड ९७ लाख एक हजार आयात भएको छ ।
छिमेकी मूलुक भारतबाट भने नेपालले ४२ करोड ७१ लाख ३६ हजार रुपैयाँको मदिरा आयात गरेको छ । अन्य राष्ट्रहरुमा फ्रान्स ६२ करोड ८३ लाख ९३ हजार, ब्राजिल ५ करोड ९४ लाख ८५ हजार, इस्पेन ६ करोड ५५ लाख २८ हजार, इटली ४ करोड ४२ लाख ६१ हजार, आइरल्याण्ड ३ करोड ८९ लाख ४ हजार, साउद अफ्रिका १ करोड ९९ लाख ७६ हजार, मेक्सिको १ करोड ९४ लाख ७४ हजार, पोर्चुगल १ करोड ६१ लाख, जर्मनी १ करोड २७ लाख २६ हजार, चिली १ करोड २४ लाख ५२ हजार, स्वीडेन ५ करोड ८९ लाख ४२ हजार मदिरा आयात भएको विभागले जनाएको छ । बाँकी देशबाट भने नेपालले १ करोडभन्दा कम मूल्य बराबरको मदिरा आयात गरेको पाइएको छ ।
२ अर्ब २६ करोड १७ हजारको ह्वीस्की
भन्सार विभागको चालु ११ महिनाको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी ह्वीस्की आयात भएको छ । सोही अवधिमा तयारी ह्वीस्की मात्रै एक अर्ब ३५ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो रकम बराबरको ह्वीस्की आयात गर्दा सरकारले २ अर्ब ४२ करोड ९६ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार कच्चा ह्वीस्की मात्रै ९० करोड ४५ लाख ९६ हजारको आयात भएको छ ।
विभागका अनुसार फ्रान्स, जर्मनी, ताइवन, अमेरिका, अस्ट्रेलिया, स्वीडेन, इजरायल, जापान, मेक्सिको, पोल्याण्डलगायतका देशबाट ह्वीस्की आयात भएको छ । जसमध्ये सबैभन्दा बढी बेलायतबाट १ अर्ब १३ करोड ६९ लाख ३४ हजार रुपैयाँको ह्वीस्की आयात भएको छ । त्यस्तै अमेरिकाबाट ९ करोड ७६ लाख ५८ हजार रुपैयाँको ह्वीस्की नेपाल भित्र्याइएको छ ।
३५ करोड ४९ लाखको वाइन
ह्वीस्कीपछि नेपालमा सबैभन्दा बढी ३५ करोड ४९ लाख ३४ हजारको वाइन आयात भएको छ । उक्त वाइन आयात गर्दा सरकारले ६२ करोड ३५ लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
तथ्यांकअनुुसार सोही अवधिमा सबैभन्दा बढी अस्ट्रेलियाबाट ११ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको वाइन भित्रिएको छ । यसै गरी फ्रान्सबाट ७ करोड ८३ लाख ४४ हजार रुपैयाँको वाइन आयात भएको छ । वाइन आयात हुने अर्को राष्ट्र इटालीबाट नेपालले ६ करोड ९५ लाख ३० हजारको वाइन आयात गरेको पाइएको छ ।
छिमेकी राष्ट्र भारतबाट ११ महिनाको अवधिमा नेपालले भारतबाट वाइन आयातकै लागि ३६ लाख ६३ हजार रुपैयाँ खर्चिएको छ । नेपालले चिनबाट भने ६१ लाख २४ हजार रुपैयाँको वाइन आयात गरेको छ ।
वाइन आयात हुने अन्य देशहरुमा चिलीबाट १ करोड २५ लाख ८५ हजार, पार्चुगलबाट १ करोड ६१ लाख ९ हजार, जापानबाट ५ लाख ६२ रुपैयाँ, अमेरिकाबाट वाइन ३३ लाख ६५ हजार रुपैयाँमा आयात गरेको छ ।
त्यस्तै अर्जेन्टिनाबाट ६ लाख ४५ हजार, भियतनामबाट २ लाख ७४ हजार, साउदी अरेबियाबाट ५१ लाख ८९ हजार रुपैयाँको वाइन आयात भएको छ । न्यूजिल्यान्डबाट सबैभन्दा कम २३ हजार रुपैयाँको वाइन आयात भएको छ ।
१० करोड ५४ लाखको लिकर
तथ्यांकअनुसार ११ महिनाको अवधिमा १० करोड ५५ लाख ५४ हजार रुपैयाँ बराबरको लिकर आयात भएको छ । सोही रुपैयाँ बराबरको लिकर आयात हुँदा सरकारले २५ करोड ५१ लाख १८ हजार राजश्व संकलन गरेको छ ।
विभागका अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा बढी अमेरिकाबाट ५ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको लिकर आयात भएको छ । त्यसपछि जर्मनीबाट १ करोड १६ लाख ८ हजार, मेक्सिकोबाट १ करोड ५३ लाख २४ हजार, बेलायतबाट ७५ लाख ५४ हजार, आयरल्याण्डबाट ७० लाख ६१ हजार, फ्रान्सबाट १९ लाख ७४ हजार लिकर आयात भएको पाइएको छ ।
३ करोड १३ लाखको बियर
नेपालमा धेरै मात्रामा उत्पादन हुने विदेशी मदिरामा बियर पनि रहेको छ । जसमा सरकारले अल्कोहलयुक्त बियर र ननअल्कोहलिक बियर आयात गर्ने गरेको पाइएको छ ।
विभागको तथ्यांक हेर्दा ११ महिनाको अवधिमा नेपालमा ३ करोड १३ लाख ८३ हजार रुपैयाँको बियर आयात भएको छ । यति मूल्य बराबरको बियर आयात गर्दा सरकारले ५ करोड ४९ लाख ९३ हजार रुपैयाँ राजश्व उठाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट २ करोड ४ लाख ३८ हजारको बियर आयात भएको छ । सिंगापुरबाट ३२ लाख १३ हजार त्यस्तै बेल्जियमबाट ३१ लाख २३ हजार, चीनबाट २१ लाख ३९ हजार, जर्मनीबाट १ लाख ४ हजारको बियर आयात भएको छ ।
१ करोड १४ लाखको जिन एण्ड जेनेभा
नेपालमा आयात हुने मदिरामा जिन एण्ड जेनेभा पनि रहेको छ । विभागका अनुसार जेठ मसान्तसम्ममा १ करोड १४ लाख ३४ हजार रुपैयाँको जिन एण्ड जेनेभा आयात भएको पाइएको छ । सोही मूल्य बराबरको जिन एण्ड जेनेभा आयात हुँदा सरकारले २ करोड ७१ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।
सो अवधिमा सबैभन्दा बढी बेलायतबाट ८४ लाख १४ हजार रुपैयाँको जिन एण्ड जेनेभा आयात भएको छ । त्यस्तै अन्य मुलुकहरुमा जापानबाट १७ लाख १ हजार, इटली ७ लाख ६१ हजार, अमेरिकाबाट ३ लाख ९८ हजार जिन एण्ड जेनेभा आयात भएको छ ।
१ करोड ११ लाखको भोड्का
विदेशबाट आयातित मदिरामा भोडका पनि रहेको छ । नेपालमा जेठ मसान्तसम्ममा १ करोड ११ लाखको भोड्का आयात गरेको पाइएको छ । सरकारले सोही मूल्य बराबरको भोड्का आयात हुँदा ३ करोड ९४ लाख राजश्व संकलन गरेको छ । विभागका अनुसार नेपालमा सबैभन्दा बढी फ्रान्सबाट ५३ लाख ७२ हजार रुपैयाँको भोड्का आयात भएको छ ।
भोड्का आयात हुने अन्य देशहरूमा बेलायतबाट ३२ लाख ८० हजार, पोल्याण्डबाट ११ लाख १३ हजार, अमेरिकाबाट ३ लाख ७३ हजार रुपैयाँको भोड्का आयात भएको पाइएको छ । त्यस्तै ११ महिनाको अवधिमा नेपालमा ५५ लाखको रम आयात भएको विभागको तथ्यांक छ ।
२८ लाखको लिकर्स
वाइनपछि नेपालमा सबैभन्दा बढी २८ लाख २६ हजारको लिकर्स आयात भएको पाइएको छ । सो मूल्य बराबरको लिकर्स आयात गर्दा सरकारले विभिन्न लिकर्स आयातकर्ताबाट ७३ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । तथ्यांकअनुसार सबैभन्दा बढी लिकर्स फ्रान्सबाट ९ लाख २ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै मेक्सिकोबाट ६ लाख ४५ हजार, नेदरल्याण्डबाट ५ लाख १४ हजारको आयात भएको पाइएको छ ।
प्रतिक्रिया