NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसले थपेका ११ शुभेच्छुक संस्था कुन–कुन हुन् ?

काठमाडौं । कांग्रेसले पार्टीमा विभिन्न ११ वटा शुभेच्छुक संस्था थपेको छ । यस अघि निवेदन दिएका केहीलाई भ्रातृ संस्थाको मान्यता दिंदै कांग्रेस केन्द्रीय समिति बैठकले ११ वटा विभिन्न शुभेच्छुक संस्था पनि थपेको हो । थपिएका शुभेच्छुक संस्थामा पर्यटन व्यवसायी संघ, निजी शिक्षक संघ, भूतपूर्व प्रहरी संघ, चिकित्सक संघसहितका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२(२)क बमोजिम (१) नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गरेको हो ।

नेपाल आदिवासी जनजाति संघका विद्यमान संरचनाहरु स्वतः निष्क्रिय हुने कांग्रेसले जनाएको छ । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्ने कांग्रेसले जनाएको छ ।

अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने कांग्रेसको भनाई छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघलाई नेपाली कांग्रेसको भ्रातृ संघको मान्यता प्रदान गरिएको पनि कांग्रेसले जनाएको छ ।

यस अघि नै पार्टीको भ्रातृ संघको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गत आवद्ध संघको रुपमा रहनेछन् । आदिवासी जनजाति भित्र रहेका अन्य जातजातिहरु (थारू बाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्ने कांग्रेसले जनाएको छ ।