NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मिश्रले पुस्तकमार्फत उठाए राजसंस्था, संघीयता खारेजी र हिन्दू–बौद्ध राष्ट्रको माग

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ ।

पुस्तक छिट्टै बजारमा उपलब्ध हुने पूर्वपत्रकारसमेत रहेका मिश्रले जानकारी दिएका छन् ।

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०–७० लाख युवा बिदेशिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन् ।

मिश्रले गत वर्ष विवेकशील साझाको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको उनले बताएका छन् ।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन् ।

यसअघि प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकस्व पनि उनले राजानीतिक सुधारकै प्रयासका लागि प्रदान गर्दै आएका छन् । उनका अन्य तीन पुस्तकको लेखकस्व विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेशनलाई प्रदान गरिँदै आएको छ ।

May be an image of text that says 'विचारभन्दा माथि देश संवैधानिक राजसंस्था सडःघीयता खारेजी हिन्दू-बौद्धराष्ट्र हिन्दू बौद्ध कल्याणकारी (सामाजिक) लोकतन्त्र रवीन्द्र मिश्र'