NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् भावी राष्ट्रपतिका प्रवल दाबेदार

काठमाडौं । आगामी संसदीय निर्वाचन परिणामले कुन राजनीतिक दललाई कस्तो हैसियतमा पुर्याइदिन्छ भन्ने यकिन नभए पनि केही नेताहरू अबको राष्ट्रपति बन्ने सुनिश्चितताको खोजीमा जेटेका छन् । यसअघि मधेसी र महिला राष्ट्रपति बनेका हुनाले अबको चुनावमा जनजातिका नाममा आफ्नै पालो आउने ठानेर सुवास नेम्वाङले मुख मिठ्याइरहेका छन् । तर प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरूले नै राष्ट्रपति ताकिरहेको हुँदा अबको राष्ट्रपति क्षेत्री ब्राह्मण समुदायबाट बन्ने सम्भावना देखिएको छ ।

कांग्रेस र एमाले कित्तका केही ज्येष्ठ नेताहरूको व्यवस्थापन अपरिहार्य हुँदै गएकाचले पनि आगामी राष्ट्रपति जनजाति समुदायबाट बन्ने सम्भावना न्यून छ । नेपाली कांग्रेसमा केही अघिसम्म कुलबहादुर गुरुङलाई राष्ट्रपतिको सम्भावित उम्मेदवारका रूपमा हेरिन्थ्यो । जीवनमा एकपटक प्रधानमन्त्री बन्ने सपना देख्दादेख्दै राजनीतिबाट अवकाश हुने स्थितिमा पुगेका रामचन्द्र पौडेलको व्यवस्थापन आवश्यक ठानिएकाले उनलाई राष्ट्रपति दिएर थन्क्याउने सोच कांग्रेसका कार्यकारी भूमिकाका नेताहरूले बनाएका छन् । कारणवश शेरबहादुर देउवा आफैंले राष्ट्रपतिको कार्यभार लिनुपर्ने स्थिति भएन र कांग्रेसकै भागमा राष्ट्रपति पद आइलाग्यो भने रामचन्द्र पौडेललाई उक्त अवसर मिल्न सक्ने प्रवल सम्भावना छ ।

राष्ट्रपतिमा माधव नेपाल र झलनाथ खनालको पनि दाबी रहने स्थिति छ । खनालले यसअघि नै राष्ट्रपति बन्ने इच्छा दर्शाएका थिए र केपी ओलीसँग उनको दूरी बढ्नुका अनेक कारणमध्ये यो पनि एक थियो । वामपन्थी कित्ताबाट झलनाथ राष्ट्रपतिका सबैभन्दा बलिया दाबेदार हुन् ।

चिट्ठा परेको शैलीमा प्रधानमन्त्री पद प्राप्त गर्दै आएका शेरबहादुर देउवा नै अबको राष्ट्रपति बन्ने सम्भावना प्रवल बनेर गएको छ । आगामी संसदीय निर्वाचनपश्चात कांग्रेस र माओवादी कार्यकाल बाँडेर प्रधानमन्त्री बन्न सहमत भए भने त्यस्तो अवस्थामा पहिलो प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री आरजु राणा बन्ने निश्चितप्रायः छ । त्यसो भएमा शेरबहादुर देउवा स्वयं राष्ट्रपति बन्न अग्रसर हुनेछन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।