NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

संघीयता खारेजी राप्रपाको चुनावी मुद्दा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीयता खारेजीलाई आमामी निर्वाचनको प्रमुख मुद्दा बनाउने भएको छ ।

बिहीबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेजीको मुद्दा चुनावी मुद्दा बनाउने धारणा राखे ।

केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने उनले प्रस्ताव गरेका छन् ।

‘संघ र प्रदेशको निर्वाचनमा राप्रपाले संघीयता खारेजीसहित केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्थाको एजेण्डालाई जोडदार रुपमा उठाउने छ,’ लिङ्देनको प्रतिवेदनमा उल्लेख छ, ‘समय छँदै हाल कायम संरचनागत कमी कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतामा प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताका आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ ।

प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको र राजसंस्था तथा हिन्दूराष्ट्र पुर्नस्थापनाको पक्षमा राप्रपा संकल्पित रहेको उनले बताए ।

साथै, राप्रपाले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार तथा परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

जसका लागि राप्रपाले पूर्ण समानुपातिक संसद् र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको नमुना अघि सारेको छ ।