NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एनएसीमा गाईजात्रा : जहाजको इन्जिन इजरायलमा, आङ नेपालमा !

उदासीनताले मासिक एक करोड व्ययभार थपिएको थपियै

काठमाडौं । सात महिनादेखि जहाजको आङ नेपालमा अनि इन्जिनचाहिँ इजरायलमा छ । मासिक एक करोड बुझाउने गरी भाडामा लिएको इन्जिनले चलिरहेको जहाजको अर्को इन्जिनमा समस्या आएपछि फेरि ग्राउण्डेड छ । र पनि, इन्जिन मर्मत गरेर ल्याउने ताताे कसैलाई लागेकाे छैन ।

यो भद्रगाेल हो, नेपाल वायु सेवा निगमको । राष्ट्रिय ध्वजावाहक निगमको न्यारोबडी जहाज ए ३२० को दायाँ इन्जिनमा खराबी आएपछि सात महिना पहिले नै ग्राउण्डेड गरिएको थियाे । त्यसपछि समस्या आएको इन्जिन इजरायल पठाएर भाडाको इन्जिनमार्फत जहाजको उडान सञ्चालन गरियो । भाडाको इन्जिनका लागि मात्रै निगमले अहिले मासिक करिब एक करोड भुक्तानी गर्दै आएको छ । तर अघिल्लो इन्जिन मर्मत भएर आइनसक्दै अर्को दायाँ इन्जिनमा पनि समस्या देखिएपछि ग्राउण्डेड गरिएकाे निगमले जनाएकाे छ ।

समस्या आएको उक्त बायाँ इन्जिन यतिबेला इजरायलको इजरायल एरोस्पेस इन्डस्ट्रिजमा छ । निगमका अधिकारीहरू निगम नेतृत्वको उदासीनताले त्याे इन्जिन मर्मत नभएर लामो समयसम्म थन्किन पुगेको बताउँछन् ।

इन्जिनका कारण मासिक एक करोड घाटा

जहाजकाे इन्जिन भाडामा लिएर सञ्चालन गर्दा आर्थिक रूपमा धराशयी निगममाथि थप व्ययभार परेको छ ।

निगमले अहिले भाडामा लिएको इन्जिनका लागि लिजबापत दैनिक दुई लाख ५३ हजार ८९४ रूपैयाँ बुझाइरहेको छ । यसबाहेक जहाज उडेको प्रतिघण्टा ३७ हजार ६८ र प्रति साइकल ३० हजार ३ सय ४० रूपैयाँ पनि निगमले तिरिरहेको छ । दैनिक लिजबापत बुझाउनुपर्ने उक्त शुल्क जहाज नउडेको खण्डमा पनि बुझाउनुपर्ने हुन्छ ।

निगमका अधिकारीहरू निगम नेतृत्वको उदासीनताले त्याे इन्जिन मर्मत नभएर लामो समयसम्म थन्किन पुगेको बताउँछन् 

निगमका एक अधिकारी समयमा जहाजको इन्जिन मर्मत पूरा नहुँदा निगमलाई मासिक झण्डै एक करोड रूपैयाँबराबर घाटा परिरहेको बताउँछन् । ‘व्यवस्थापनले चासो दिने हो भने इन्जिन मर्मत भएर आउन सात महिना लाग्दैन,’ निगमका ती अधिकारीले भने, ‘व्यवस्थापनले यसतर्फ चासो नदिँदा निगमलाई मासिक एक करोड नोक्सान लागिरहेको छ ।’

एउटा इन्जिन भाडामा लिइरहेको निगमले अर्कोमा पनि समस्या आएपछि पुनः भाडामा लिनुपर्ने अवस्था आएको छ । यो प्रक्रियासम्म पुगेर जहाज पुनः सञ्चालनमा आउन पनि थप लामो समय लाग्ने निगमका अधिकारी बताउँछन् । स्मरण रहोस्, यसअघि गत डिसेम्बरमा दोहामा बिग्रिएको ३२० जहाजले ७० दिनपछि मार्र्चमा भाडाको इन्जिनको सहयोगमा बल्ल उडान भरेको थियो । ७० दिनसम्म उक्त जहाजलाई ग्राउण्डेड गराइएकाले यसपटक पनि न्यारोबडी जहाज सोही अवधिसम्मका लागि थन्किने अनुमान गरिएको छ ।

ए ३२० जहाजको खराबी गत जुलाइ २८ मै तत्कालीन इन्जिनियर विभागका प्रमुख केबी थापाले खुट्याएका थिए । जहाजमा ‘डिफेक्ट’ रहेको देखिएसँगै दशभन्दा बढीपटक ल्याण्डिङ नगर्न सुझाइएको थियो । हाल जहाजले आठवटा ल्याण्डिङ गरिसकेको छ । दुई वटा लण्डिङ बाँकी राखेर जहाज ग्राउण्डेड गरिएको हो । तर खराबी आएको भनिएको जहाजको आठवटा ल्याण्डिङ सकिँदासम्म पनि निगम व्यवस्थापनले इन्जिन मर्मत गर्ने टोली र भाडामा लिने कम्पनीबारे टुंगो लगाउन सकेको छैन ।

निगमकी प्रवक्ता अर्चना खड्का उक्त जहाज सञ्चालनका लागि इन्जिन भाडामा ल्याउने कि मर्मतका लागि पठाउने भन्नेबारे अझै टुंगो लागिनसकेको बताउँछिन् । इन्जिन मर्मतसम्बन्धी निर्णय सञ्चालक समितिबाट हुनुपर्ने भएकाले अब बस्ने बैठकले यसबारे निर्णय लिने उनले जानकारी दिइन् ।