NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं । आगामी भदौ २ देखि ६ गतेसम्म छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ । महिला उद्यमी महासंघ नेपालले आज पत्रकार सम्मेलन गर्दै आगामी २ गतेदेखि ६ गतेसम्म सानेपामा व्यापार मेला हुने जानकारी दिएको हो ।

महासंघका अध्यक्ष निरू रायमाझी खत्रीका अनुसार मेलामा देशभरका महिला उद्यमीहरूको सहभागी हुनेछन् । उनकाअनुसार मेलामा सहभागी उद्यमी महिलाहरुले उत्पादन गरेको विभिन्न रैथाने वस्तुहरूको प्रदर्शन हुनेछ ।

मेलामा नेपालका उद्यमीसहित भारत, बंगलादेश, पाकिस्तानका महिला उद्यमीहरूको सहभागी हुने महासंघले जनाएको छ । महासंघका पहिलो उपाध्यक्ष सोभा ज्ञवालीले मेलामा हस्तकलाका वस्तुहरुमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादनहरु, पुष्प सामग्रीहरु, जडीबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूको स्टल हुने बताइन् ।

सो मेलामा १०९ वटा स्टल हुनेछन् । जसमा एउटा स्टलमा दुई जना उद्यमी गरी २ सय १८ जना उद्यमीको स्टल हुनेछन् । महासंघले ४ दिनसम्म हुने प्रदर्शनका लागि प्रति स्टल ३ हजारदेखि ५० हजार रुपैयाँ मूल्य तोकेको छ ।

महासंघले महासंघबाट प्रदर्शन हुने वस्तुको स्टलका लागि ३ हजार रुपैयाँ, खानाको स्टलका लागि ४० हजार रुपैयाँ, महासंघका सदस्य उद्यमीका लागि २८ हजार रुपैयाँ, बाहिरी सदस्यलाई ३३ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय महिला उद्यमीलाई ५० हजार रुपैयाँ मूल्य तोकेको छ । साथै, यदि कुनै पनि उद्यमीले आफ्नो उत्पादनलाई डिस्प्लेमा देखाउने चाहेमा १ लाख ५० हजार रुपैयाँ रकम तिरेर प्रदर्शन गर्न सक्नेछन् ।

महासंघका तेस्रो उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेको रैथाने वस्तु प्रदर्शन हुने बताइन् । मेलामा प्रदेश नम्बर १ को सोलुखुम्बुमा बनेको तामाका भाँडो, ताप्लेजुङको राडीपाखी र अंलैची, मोरङको कफी बिन्स, चकलेट, ऊनको सामान प्रदर्शन हुने जानकारी दिइन् ।

त्यसैगरी, प्रदेश २ को धनुषाको मिथिला आर्टका सामानहरु, बाराको केरा, बागमति प्रदेशअन्तर्गतका जिल्ला भक्तपुरको दही र नेवारी लुगा, सिन्धुकलीको दुना टपरी, ढाका र फाइबरका सामानहरु, रामेछापको बाँसको सामान, चितवनको बेसार र तेल, नुवाकोटको रैथाने चामल र बेसार र गण्डकी प्रदेशको पर्वत जिल्लाको कोदो, पिठो कफी प्रदर्शन हुने उनको भनाइ छ ।

साथै, लुम्बिनी प्रदेशका जिल्ला बाँकेको ढकी र बाँस्केट, पाल्पाको ढाका, कपिलवस्तुको माछाको दाना, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको ड्रागन फ्रुट र सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको काठको ढकी, दार्चुलाको राडीपाखी र अन्य जिल्लाबाट विभिन्न वस्तुको प्रदर्शन हुने जनाएको छ ।