NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शीर्ष १० नेता : योग्यता वृद्धभत्ताको, लोभ अझै सत्ताको

काठमाडौं । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेपछि दलहरू निर्वाचनमा होमिने तयारीमा छन् । चुनावी रणनीति बनाउन राजनीतिक दलहरू आ–आफ्नै तयारीमा जुटेका छन् । अंकगणितीय जोडघटाउ, सिट बाँडफाँट र चुनावी एजेण्डा तय गर्न दलहरूलाई भ्याइनभ्याइ छ ।

अघिल्लो निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । २०४६ को बहुदलीय प्रजातन्त्र पुनस्र्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा परम्परागत संसदीय पार्टीको एकल वर्चश्व र प्रायः एउटै नेतृत्वमा मुलुकको राजनीति अगाडि बढिरहेको छ ।

आवधिक चुनावले नेतृत्व फेर्छ । प्रतिनिधिसभाको निर्वाचन त झन् जनप्रतिनिधि बदल्ने एउटा उत्सव जस्तै हो । तर पहिलेपहिले जस्तै यसपटकको निर्वाचनमा पनि मतदाताले नयाँ होइन पुरानै अनुहार छान्नुपर्ने भएको छ । नेपालमा २०४८ सालयता ६ पटक निर्वाचन भइसकेको छ । सातौंपटक मुलुक निर्वाचनमा होमिंदैछ । तर दर्जनौं नेताहरू २०४८ सालमा उठेका र उम्मेदवार बनेका फेरि उठ्दैछन् ।

उमेर, उर्जा, परीक्षण, सक्रियता, सहभागिता, स्वास्थ्य सबै हिसाबले राजनीतिबाट अलग हुनुपर्ने नेताहरू फेरि चुनावी मैदानमा उत्रिंदैछन् । सांसदको लागि मात्रै होइन राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीका लागि सबै हिसाबको परीक्षण भइसकेका नेताहरू अग्रपंक्तिमा छन् ।
राज्यले वृद्धभत्ताका लागि ६८ वर्षको उमेरहद तोकेको छ । तर फेरि पनि प्रधानमन्त्रीमा दाबेदारी गर्ने नेताहरू ६८ वर्षभन्दा माथिका नै छन् । नेताको उमेर योग्यताले भत्ता खाने रहेको छ, तर उनीहरूका आँखाचाहिँ सत्तामै देखिन्छ । सक्रिय राजनीतिबाट विश्राम लिन मूलधारका

दलहरूलाई तीव्र दबाब छ । योपटक स्वतन्त्र युवाहरू दबाब पनि परम्परागत दलहरूको सिन्डिकेट तोड्ने भन्ने छ । उनीहरूले आगामी निर्वाचनमा प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि अहिलेसम्म कसरी अघि बढ्ने भनेर उनीहरूले मूर्तरुप दिएका छैनन् ।

‘स्वभाविक रुपमा वृद्ध हुँदै जाँदा राजनीतिज्ञहरूले पनि काम गर्न सक्दैनन् । यसका लागि अन्य मुलुकमा जस्तै संविधानमै राजकीय प्रमुख पदमा २ कार्यकालको व्यवस्था गर्नुपर्छ’, उनी भन्छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमात्र मुलुकले सही गति लिन्छ । अन्यथा हामी वृद्धहरूबाटै शासित भइरहनुपर्नेछ ।’

पत्रकारितासँगको आबद्धता त्यागेर भर्खर राजनीतिमा हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा राजनीतिको एमस्वीच बन्द गर्ने दाबी गरेका छन् । चुनावी अभियानमा देश दौडाहामा लागेका लामिछानेले वृद्ध नेताहरूलाई राजनीतिबाट सन्यास लिन आग्रह गरेका छन् । पाँच वर्षअघि नेपालमा अक्सफोर्ड विश्वविद्यालय पढेको नेता कहिले प्रधानमन्त्री हुने, कहिले यस्तै विश्वविद्यालय बन्ने भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सागर ढकाल प्रश्न सोधेर चर्चामा आएका थिए । उनै ढकाल अबको प्रधानमन्त्री ४० वर्षमुनिका हुनु्पर्ने भन्दै देउवाविरुद्ध नै डडेल्धुरामा चुनाव उठ्ने तयारीमा छन् ।

अहिलेको देउवा नेतृत्वको गठबन्धन सरकारले १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक बजेटमा सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष तोक्यो । प्रतिनिधिसभा बैठकमा बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले १५औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षाभत्ता दिने उमेर घटाइएको प्रष्टोक्ति दिए । तर आफ्नै नेतृत्वको सरकारले ल्याएको योजना यिनै दलका नेताको लागि कामकाजी नहुने भएको छ । साउन १ देखि उक्त कार्यक्रम कार्यान्वायनमा आइसकेको छ ।

६८ वर्ष पुगेका जोकोही नेपाली नागरिकले वृद्धभत्ता पाउने छन् । निजामती संघीय कानुन अनुसार निजामती कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ । २०५८ पछि उमेर हदको कारण काम गर्न पाउने छैनन् । संवैधानिक निकायको प्रमुखको हकमा उमेरहद ६८ वर्ष कायम गरिएको छ । तर मुलुकको नेतृत्व गर्ने राजनीतिकर्मीको हकमा उमेर र योग्यताबारे कुनै मापदण्ड बनेको छैन । तर औषत आयुको आधारमा नेताले पनि बढीमा ७० वर्षको उमेरमा अनिवार्य अवकास लिनुपर्ने आवाज उठ्ने गरेको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ संविधानमा नै २ कार्यकालको व्यवस्था नगरेसम्म मुलुकको शासन बुढाखाडाबाटै हुने तर्क गर्छन् ।
‘स्वभाविक रुपमा वृद्ध हुँदै जाँदा राजनीतिज्ञहरूले पनि काम गर्न सक्दैनन् । यसका लागि अन्य मुलुकमा जस्तै संविधानमै राजकीय प्रमुख पदमा २ कार्यकालको व्यवस्था गर्नुपर्छ’, उनी भन्छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमात्र मुलुकले सही गति लिन्छ । अन्यथा हामी वृद्धहरूबाटै शासित भइरहनुपर्नेछ ।’

सरोकारवालाहरूले जेजस्ता तर्क र विश्लेषण गरेतापनि आगामी निर्वाचनमा पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल छ । तर बिडम्वना राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका प्रमुख पद ताक्ने नेताहरू सबैजसो ६८ वर्षमाथिका छन् । जुन वृद्धभत्ता खाएर बस्ने उमेर हो । तर सबै दलभित्रको दलीय चक्र यिनै बुढाखाडा नेता वरिपरी छ । चुनावमा आफ्नै टिकट दिलाउनेदेखि आफूलाई शक्तिमा राखेर पार्टी गतिविधि अघि बढाउने कमाण्ड पनि यिनै ६८ वर्षमाथिका नेतामा छ ।

पटकपटक सत्ताको नेतृत्व गरेका नेपाली कांग्रेस, एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीका शीर्ष नेताको उमेर वृद्धभत्ता खाने समूहको छ । कत्तिको नाघिसकेको छ । तर आगामी निर्वाचनपछि पनि यी र यिनै नेताहरूको वरिपरि नेपालको राजनीति घुम्ने देखिन्छ ।

१. शेरबहादुर देउवा : पाँचपटक प्रधानमन्त्री, आँखा फेरि प्रधानमन्त्रीमै

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा २०५१ भदौ २६ मा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । त्यसयता उनी पटक–पटक गरी ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने अभिलाषामा छन् । ज्योतिषिले ७ औं पटकको योग निकालेपछि देउवामा छैटौंपटक प्रधानमन्त्री बन्ने हुटहुटी बढेको छ । उमेरले ७६ वर्ष पुगेका देउवा सत्ता राजनीतिमा निकै चतुर खेलाडी मानिन्छन् । शक्ति र सत्ता हत्याउन राजनीतिक र अराजनीतिक गतिविधि गर्ने गरेको आरोप उनलाई लाग्ने गरेको छ । प्रधानमन्त्री भएको पहिलो कार्यकालमा सांसद खरिदबिक्री गरेको, सांसदलाई रिझाउन प्राडो पजेरो खरिद गरेको, जम्बो मन्त्रिपरिषद गठन गरेको जस्तो आरोप देउवामाथि छ । माओवादी सशस्त्र युद्धलाई प्रोत्साहन गरेको, प्रजातन्त्र दरबारमा बुझाएको, महाकाली सन्धि गरी राष्ट्रघात गरेको आरोपसमेत उनीमाथि लाग्ने गरेको छ ।

आगामी निर्वाचनमा गठबन्धनको सहयोगमा कांग्रेसलाई एक बहुमत दिलाउने वा नसके माओवादीबाहेको सरकार बनाउन आवश्यक बहुमत जुटाउने रणनीतिमा उनी देखिन्छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि अपराजित यात्रा पार गरेका देउवाले सातौं आगामी निर्वाचनमा पटक उम्मेदवारी दिन लागेका हुन् ।

युवा पुस्ताबाट लोकप्रिय नेताको रुपमा उदाउँदै गरेका गगन थापाले प्रधानमन्त्रीमा दाबेदारी गर्दै आएका छन् । तर पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाले छैटौंपटकको तयारी गर्नुले नेतृत्वको हस्तान्तरणमा ठूलो खाडल रहेको देखाउँछ ।

२०४८ यताका ६ वटै निर्वाचनमा देउवा विजयी भएका छन् । यसक्रममा २०४८ गृहमन्त्री र पाँचपटक उनी प्रधानमन्त्री भइसकेका छन् ।

२. केपी ओली : तीनपटक प्रधानमन्त्री फेरि बन्ने दाउमा

उमेरले ७१ वर्ष लागेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मंसिरमा हुने फेरि उठ्दैछन् । अघिल्लो निर्वाचनमा माओवादीसँग मिलेर झण्डै दुई तिहाइको सरकार बनाउन ओली सफल भएका थिए । तर तत्कालीन नेकपाभित्रको विवाद समाधन गर्न नसक्दा ४० महिनामै उनको सरकार ढल्यो । सरकार ढल्ने भएपछि ओलीले दुईपटकसम्म संसद विघटनको असफल प्रयास गरे । ६ वटै प्रदेश सरकारबाट ओलीको सरकार बहिगर्मनमा पर्यो । तर फेरि पनि निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बनाउने महत्कांक्षा ओलीले पालेका छन् ।
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अपेक्षा गरेअनुसार एमालेको पक्षमा परिणाम आएन । यसैले आगामी निर्वाचनमा आवश्यकताअनुसार भरपर्दो शक्तिसँग चुनावी तालमेल नीतिलाई ओलीले त्यागिसकेका छैनन् ।

२०७२ मा असोजमा नयाँ संविधान जारी भएपछि नेपालमाथि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला थिए । नाकाबन्दीले नेपालमा भारत विरोधी सेन्टिमेन्ट बढ्दै गइराखेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका ओलीले नाकाबन्दीको विरोध गरे । नाकाबन्दीको विरोध गरेर ओलीले राष्ट्रवादी नेताको छवि बनाए । कोइराला नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा पहिलोपटक प्रधानमन्त्री बन्न सफल भए । पहिलोपटक प्रधानमन्त्री हुँदा उनको उमेर ६३ वर्षको थियो ।
२०७४ को निर्वाचनपछि ओली दोस्रोपटक शक्तिशाली प्रधानमन्त्री बने । तर ओलीको कार्यकाल विवादमुक्त भएन । ओली २०६४ को संविधानसभा निर्वाचनबाहेक २०४८ देखि झापाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । यसपटक फेरि झापा ५ बाट ओली प्रतिनिधिसभामा उम्मेदवार बन्दैछन् ।

उनीमाथि संविधान विपरीत संसद् विघटन गरी व्यवस्थामाथि धावा बोलेको, महंगी र भ्रष्टाचार नियन्त्र गर्न असफल भएको, अस्थिर राजनीतिलाई प्रश्रय दिएकोजस्ता आरोप लागेको छ । विपक्षीले लगाएका यस्ता आरोपको उनले खण्डन गर्दै आएका छन् । यद्यपि भारतको नियन्त्रणमा रहेको नेपालको क्षेत्र कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूगोल समेटेर चुच्चे नक्सा संसदबाट अनुमोदन गराएकोमा भने उनले चौतर्फी प्रशंसा बटुले ।

३.प्रचण्ड : दुईपटक प्रधानमन्त्री, दाउ फेरि प्रधानमन्त्रीकै

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय व्यवस्था खारेज गरी जनवादी सत्ता स्थापना गर्न भन्दै २०५२ फागुन १ देखि सशस्त्र विद्रोहमा निस्किए । १० वर्षसम्म माओवादी विद्रोहमा १७ हजार नेपालीको ज्यान गयो । तर परिस्थितिले उनलाई संसदीय राजनीतिको चक्रव्यूहमा खेल्ने र लाभ लिने नेताको रुपमा स्थापित गराएको छ । एकल जितसहित २०६४ मा शक्तिशाली प्रधानमन्त्री बनेयताका लगभग सबै सरकारमा प्रचण्डको पार्टी सहभागी हुँदै आएको छ ।

२०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सहमतिपछि प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०६२÷०६३ को दोस्रो जनआन्दोलनले २४० वर्षे राजतन्त्र ढल्यो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचन पछि माओवादी ठूलो दल भयो । २०६५ मा साउनमा उनी पहिलोपटक प्रधानमन्त्री भए । त्यतिबेला उनी ५४ वर्षका थिए । प्रधानसेनापति रुक्मांगद कटुवाललाई हटाउन खोज्दा ९ महिना पूरा नहुँदै प्रचण्ड आफैं हट्न पुगे ।

२०७३ मा कांग्रेसको सहयोगमा उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । राज्यसत्ता विरुद्ध विद्रोह गरेका शक्ति नै सत्तामा भएकाले प्रचण्डमाथि धेरैले विकासको अपेक्षा गरेका थिए । तर जनअपेक्षा अनुसार काम गर्न असफल भएको उनीमाथि आरोप छ । पछिल्लो समय प्रचण्डलाई परिवादवादमा फसेको, राजनीतिक अस्थिरता निम्ताएको आरोप लाग्ने गरेको छ । २०६४ सालयताका लगभग सबै सरकार माओवादीकै कारण बन्ने र भत्किने भएका छन् । दुईदुई ठाउँबाट हारेका माधवकुमार नेपाललाई सांसद बनाउन भूमिका खेल्ने माओवादी नै थियो । उनै नेपाल अन्ततः प्रधानमन्त्रीसम्म बन्न पुगे । यतिमात्रै होइन त्यसयताका सबै कम्युनिष्ट, कांग्रेस प्रधानमन्त्री र खिलराज नेतृत्वको चुनावी सरकारका परिकल्पनाकार प्रचण्ड नै हुन् । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सरकार बनाउने र गिराउने खेलमा प्रचण्ड सबैभन्दा अगाडि र निर्णायक देखिएका छन् ।

६८ वर्ष पूरा भएका प्रचण्ड अझै पनि जोडघटाउको यो राजनीतिबाट टाढिने तयारीमा छैनन् । आगामी निर्वाचनबाट फेरि सत्ताको नेतृत्वमा पुग्ने दाउमा छन् । कांग्रेस र एमालेको प्रतिस्पर्धा तेस्रो शक्तिमा उभिंदै निर्णायक बन्ने गरी प्रचण्ड राजननीतिक सौदाबाजीमा व्यस्त छन् । २०६४ सालयताका सबै चुनावमा प्रचण्ड जित्दै आएका छन् ।

४. माधवकुमार नेपाल : फेरि एकपटक ठूलो पदको लालसा

१५ वर्ष एमालेको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राजनीतिक उतारचढाव उत्तिकै भोग्ने नेतामा पर्छन् । दुई ठाउँबाट हार्नुका बाबजुद २०६६ नेपाल अस्वाभाविक रुपमा प्रधानमन्त्री हुन सफल भएका थिए । २०६४ को निर्वाचनमा एमालेले देशभर अनपेक्षित हार व्यहोरेपछि नेपालले नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिएका थिए । काठमाडौं २ र रौतहट १ दुवै ठाउँबाट पराजित भएका नेपाललाई कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रधामन्त्रीमा प्रस्ताव गरेका थिए ।

७० वर्षमा लागेका नेपाल पहिलोपटक प्रधानमन्त्री हुँदा ५७ वर्षका थिए । आगामी निर्वाचनमा पनि उनी निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन् । सत्ता र स्वार्थको लडाईंमा एमालेलाई विभाजन गर्दै नेपाल सत्ता गठबन्धनसँग मिलेर यसपटक चुनाव लड्दैछन् । नेपाल पनि २०४८ सालयतका सबै चुनाव लड्ने नेतामा पर्छन् ।

५. झलनाथ खनाल : सत्तामा हुँदा र नहुँदा उस्तै

पूर्वप्रधनानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २०४८ यता सधैं सांसद बन्दै आएका छन् । एमालेभित्रको अन्तर्विरोधका कारण नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको सहयोगमा २०६७ माघमा झलनाथ खनाल प्रधानमन्त्री बने ।

६ महिना सरकारमा रहँदा एमालेभित्रको घरझगडाका कारण २०६८ साउनमा उनले राजीनामा दिए । बुटवलमा भएको आठौं महाधिवेशनमा केपी ओली र माधव नेपाल मिल्दा खनाल अध्यक्षमा निर्वाचित भएका थिए । सत्ता राजनीतिको खेलमा प्रधानमन्त्री बन्न सफल भए पनि खनालको कार्यकाल कुनै पनि हिसाबले चर्चामा रहेन । उमेरले ७३ वर्ष लागेका खनाल प्रधानमन्त्री हुँदा ६१ वर्षका थिए । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी साविक इलाम १ बाट चुनावमा उठ्दैछन् ।

६. बाबुराम भट्टराई : पुस्तान्तरण गफ नेतृत्वमा आफैं

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादीका संयोजक डा. बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री हुँदा उनी ५७ वर्षका थिए । १० वर्षे माओवादी युद्धका प्रमुख नेता रहेका भट्टराई शान्त्रिपूर्ण राजनीतिसँगै संसदीय राजनीतिमा पुनः प्रवेश गरेका थिए । २०४८ र ५१ को निर्वाचनमा संयुक्त जनमोर्चाबाट चुनावमा भाग लिएका भट्टराईले २०५६ को निर्वाचन बहिष्कार गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहेको उनले राजश्व वृद्धिमा उल्लेख सुधार गरेर चर्चा कमाएका थिए । माओवादीको धोबीघाट भेलाबाट प्रधानमन्त्रीमा सिफारिस भएका भट्टराईले काठमाडौंका सडक विस्तार गर्ने काम गरेका थिए । प्रधानमन्त्री हुँदा नेपालमा उत्पादित मुस्ताङ म्याक्स गाडी प्रयोग गरी चर्चामा आएका थिए ।

२०७२ को संविधान जारीपछि माओवादी परित्याग गरी नयाँ शक्ति, संघीय समाजवादीहुँदै जसपाका संघीय परिषद अध्यक्ष रहेका उनलाई गत महिना पार्टीले कारवाही गरी निष्कासन गरेको थियो । उमेरले ६८ वर्ष काटेका उनी आगामी निर्वाचनमा गोरखाबाट चुनाव लड्दै छन् । यद्यपि पार्टी अध्यक्ष बन्ने र निर्वाचनमा भाग लिने विषयमा उनी निष्कर्षमा पुगेका छैनन् । तर उमेरले वृद्धभत्ता खाने समय भए पनि राजनीतिबाट अलग बस्ने उनको घोषणा आएको छैन । यद्यपि उनले सरकारले दिएको वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

७.रामचन्द्र पौडेल : सधैं सत्तामा तर प्रमुख पदको हुटहुटी

कांग्रेसका नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेल आगामी निर्वाचनमा साविक तनहुँ २ बाट नै निर्वाचनमा भाग लिने तयारीमा छन् । २०४८ देखि लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका पौडेल अघिल्लोपटक तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भए । २०४८ मा नै सभामुख भएका उनी २०६४ मा उपप्रधान तथा शान्तिमन्त्री थिए । २०६८ मा प्रधानमन्त्रीका उम्मेदवार भएका पौडेल संसदमा १७ पटकसम्म प्रतिस्पर्धा हुँदासमेत प्रधानमन्त्रीमा निर्वाचित हुन सकेनन् । उनी अहिले ७८ वर्षका भइसकेका छन् । तर पनि अहिलेसम्म पार्टी र देशको नेतृत्व गर्न नपाएको कुण्ठा उनलाई छ । यसैले सत्ता गठबन्धनको बलमा चुनाव जितेर राष्ट्रपति वा प्रधानमन्त्री बन्ने आकांक्षा पौडेलको छ । एकपटक ठूलो पद प्राप्तिका लागि पौडेलले वर्षौसम्म दुष्मनी सम्बन्ध भएका शेरबहादुर देउवासँगसमेत आजकाल दोस्ती जमाएका छन् ।

८. वामदेव गौतम : ठूलो पदको महत्वकाक्षां

एमालेभित्र वर्षौसम्म प्रभावशाली नेताको छवि बनाएका वामदेव गौतम राजनीतिक सक्रियताको उत्तरार्धमा छन् । तर सांगठनिक रुपमा शक्तिशाली बनाएको एमाले पार्टीमा उनी छैनन् । एमाले विभाजन भएपछि विरक्तिएका उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका छन् । तर वामदेवको बिडम्वना पार्टी गठनको दुई दिनमै उनी निष्कासनमा परे ।

२०४८ र ०५१ मा बर्दिया १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५४ सालमा संसदबाट महाकाली सन्धि अनुमोदन भएपछि क्रुद्ध बनेका गौतम विद्रोह गरी एमालेबाट अलग भए । २०५६ सालको संसदीय चुनावमा गौतम नेतृत्वको मालेले एक सिट पनि जित्न सकेन । २०५८ पुनः एमालेमै फर्किएका थिए । उमेरले ७४ वर्ष लागेका उनी एमालेमा रहँदा उपप्रधान तथा गृहमन्त्री बन्न सफल भए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा बर्दिया १ र प्यूठान १ निर्वाचित भएका थिए । वामदेव २०७४ सालमा चुनाव जितेर प्रधानमन्त्रीको दाबेदारमा नाम लेखाउन चाहन्थे । तर एमाले र माओवादीको तालमेलमा देशभर सामान्य उम्मेदवार जित्दा बलियो पकड रहेको परम्परागत क्षेत्रमै हार्नुपरेपछि उनले यसलाई षडयन्त्र भन्दै आएका छन् । एमालेमा कहिले माधव र कहिले ओलीतर्फ ढल्किएको आरोप लाग्दै आएका उनीमाथि तत्कालीन नेकपामा कहिले प्रचण्ड–माधव र कहिले ओलीतर्फ ढल्किएको आरोप लाग्ने गरेको छ ।

नेकपा विघटनपछि कुनै गुटमा पनि नलागेका उनी अहिले वामपन्थी एकताको पक्षमा उभिएका छन् । प्रतिनिधिसभामा पराजित भएपनि राष्ट्रिय सभा सदस्य बनेका थिए । राष्ट्रिय सभामा सदस्य हुँदासमेत गौतमले प्रधानमन्त्री बन्ने इच्छा पटकपटक सार्वजनिक गरेका थिए । गौतम आगामी निर्वाचनमा गठबन्धन वा एमाले कसको सहयोगमा चुनावी प्रतिस्पर्धा गर्छन् अहिले उनले मुख खोलेका छैनन् ।

९. सुवास नेम्वाङ : कुटिल बनेरै ठूलो पद हत्याउने दाउ

संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेपालमा लामोसमय समामुख बन्न सफल नेता हुन् । २०६२/६३ जनआन्दोलनपछि पुनस्र्थापित संसदमा सभामुख रहेका उनी २०६४ मा संविधानसभा अध्यक्ष भए । २०७० को दोस्रो संविधानसभा अध्यक्ष रहेका उनी २०७२ मा नयाँ संविधान जारी भएपछि पदमुक्त भएका थिए । एमालका कुटिल नेतामा रुपमा उनी परिचित छन् । आलोचनामा परिने डरले कुनै विषयमा सीधा र सरल धारणा नराख्ने नेताका रुपमा चर्चा कमाउँदै आएका छन् । नेम्वाङ इलाम २ बाट लगातार निर्वाचन जित्दै आएका छन् । उमेरले ७० वर्ष भएका उनी आगामी निर्वाचनमा साविक निर्वाचन क्षेत्रबाट नै उठ्ने तयारी गरेका छन् ।

१०. महन्थ ठाकुर : सबैभन्दा पाका राजनीतिकर्मी

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर कुनैबेला कांग्रेसभित्रका आदर्श र सन्त नेताको रुपमा चिनिन्थे । २०४८ देखि निरन्तर प्रतिनिधिसभा निर्वाचित भएका ठाकुरले २०६२/६३ आन्दोलनपछि कांग्रेसमा विद्रोह गरी क्षेत्रीय पार्टी तराई लोकतान्त्रिक पार्टी खोलेका थिए । गतवर्ष जसपाबाट अलग भएका उनी प्रतिनिधिसभाकै सबैभन्दा जेष्ठ सदस्य हुन् । उमेरले ठाकुर ८३ वर्ष लागेका छन् । ठाकुरले जेष्ठ सदस्यको रूपमा सांसदहरूलाई शपथ ग्रहण गराएका थिए । उनी ०५१ मा उपसभामुख भएका थिए । ०५६ मा कानुन र सञ्चारमन्त्री भएका थिए । उमेरले सबैभन्दा पाका राजनीतिककर्मी भए पनि ठाकुरले सांसदमा उठ्ने इच्छा मारिसकेका छैनन् । २०७४ सालमा कांग्रेससँग तालमेल महोत्तरीबाट उनले चुनाव जितेका थिए । यसपटक पनि उनी चुनावमा उठ्ने तयारीमा छन् ।