NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

छाङ्छाङ्दीमा साउनमा साढे १२ लाख भेटी संकलन

वालिङ। स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार ६ सय ९९ रुपैयाँ भेटी संकलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलनभएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।

मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी संकलन भएको हो । ‘साउन महिना महादेवको प्रिय महिना र त्यसमा पनि सोमबार विशेष दिन भएको हुँदा यहाँ भक्तजनको भीड लागेको हो’ , उनले भने, ‘यसपटक साउन महिनाका पाँच वटा सोमबार रहेको र आउने भक्तजनले विभिन्न शीर्षकमा दिएको भेटी संकलन गरी आम्दानी बाँधेर राखेका छौँ ।’

मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको सचिव श्रेष्ठले जानकारी दिए । विभिन्न शीर्षकबाट संकलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको छ । मन्दिरका नाममा माछापुच्छै« बैंकसँग समन्वयमा ‘क्युआर कोड’ मन्दिर परिसरमै राखिदिएकाले पनि भेटी सिधै बैंकमा जम्मा हुने गरेको छ ।

‘संकलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ’, उनले भने ‘यहाँ बर्सेनि नयाँनयाँ भौतिक संरचना तथा विभिन्न मूर्तिहरू प्रतिस्थापन गर्दै थप व्यवस्थित गर्दै अगाडि बढेका छौँ ।’ उक्त ठाउँमा हिमालयकी पुत्री पार्वतीको अन्तिम अंगपतन भएको किंवदन्ती छ ।

दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अंग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहिआएको छ । यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष