लसुनको उचित मूल्य नपाएपछि चुनबाङका किसानको गुनासो

रुकुम (पूर्व) । भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ ।
चुनबाङमा लसुन उत्पादक किसान भने प्रतिकिलो ५० रुपैयाँ मा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलोको एक सयका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई एक सय रुपैयाँ दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रिएको च्याङचुङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए ।
अहिले आफ्नो मात्रै १० क्विन्टलको हारहारीमा लसुन रहेको उनले बताए । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेको उनले अहिले भने उत्पादन घटेको बताए । केहीको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटे पनि समग्रमा भने गत वर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ । अहिले उचित मूल्य नपाएकै कारण कति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए ।
उनका अनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हारहारीमा लसुन छ । लसुनले उचित मूल्य र बजार नपाएको भन्दै उनले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाए ।यस्तै चुनवाङकै स्थानीय एवं पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको बताउँदै बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए ।
बजार मूल्यभन्दा महँगो लसुन संकलन गर्न भने नसकिने उनको भनाई छ । यसवर्ष चुनबाङमा चार सय ३२ दशमलव ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । उनका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । अहिले जिल्लाको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुनखेती हुँदै आएको छ । (रासस)
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया