NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चुनावी रणनीति तय गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबारे रणनीति तय गर्न नेकपा एमालेको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अहिले बिहान ११ बजेका लागि तय छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आजको बैठककाे मूल एजेण्डा रहेकाे जानकारी दिए ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि सत्तासाझेदार दल रणनीति बनाएर सिटबाँडफाँटमा जुटे पनि एमालेले औपचारिक रूपमा ठाेस रणनीति तय गर्न सकेकाे छैन । आज बस्ने स्थायी समिति बैठकमा गठबन्धनलगायत सम्भावित चुनावी रणनीतिबारे छलफल हुने बताइएको छ । सत्तासाझेदार दलको गठबन्धनमा  नमिसिएका दलसँग गठबन्धन गर्ने एमालेको रणनीति छ । राप्रपासँगै उसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई आफूतिर तान्ने प्रयास गरिरहेको छ । राप्रपा यसमा सकारात्मक भए पनि लोसपाको नजर सत्तागठबन्धनतर्फ छ ।

त्यसैगरी, आजको बैठकमा चुनावी घोषणापत्र निर्माण, उम्मेदवारको छनोट मापदण्डबारे पनि ठोस छलफल हुने कार्यालय सचिव डा. अधिकारीले नेपालवाचलाई जानकारी दिए ।

नेकपा एमालेले आगामी निर्वाचनको घोषणापत्र निर्माणका लागि केपी ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ ।

स्थायी समिति बैठकले आज गरेका निर्णय पोलिटब्युरो र केन्द्रीय समितिमा लगेर अनुमोदन गर्ने एमालेको तयारी छ । त्यसका लागि उसले भदौ ९ मा पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय समिति बैठक डाकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष