NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २६ गते

राष्ट्रपतिको पछिल्लो सक्रियता अस्वाभाविक : सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धन दलमा राष्ट्रपति विद्या भण्डारीको पछिल्लो सक्रियता र चासो अस्वाभाविक भएकोबारे चर्चा भएको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकमा नागरिकता विधेयकबारे राष्ट्रपतिले गरेको छलफल र राजीनामा दिने विषय अस्वाभाविक भएकोमा कुरा उठेको हो ।

नागरिकता विधेयक राष्ट्रपतिले एकपटक फर्काएपछि प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको थियो । तर आफ्नो चासोमा छलफलसम्म नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट छिन् ।

नागरिकता विधेयकको विषय पेचिलो बन्दै जाँदा राष्ट्रपतिले सुरक्षाकर्मीसहितका जर्नेलहरूसँग संवाद गरेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै राष्ट्रपति राजीनामा दिने मनस्थितिमा पुगेको पार्टी बैठकमा बिफ्रिङ गरेका थिए । आजको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट सैनिक अधिकारी र कानुनविद्सँग सल्लाह गर्नु अस्वभाविक र अनैतिक भएको बताएका थिए । प्रधानमन्त्रीले पनि चासाे राखेका थिए ।

चुनावको मुखमा राजनीतिक हिसाबले एमालेलाई फाइदा पुग्नेगरी राष्ट्रपतिको कदम अघि बढेपछि सत्तारुढ दल आक्रोशित भएका हुन् ।

नागरिकता विधेयक अब राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ । राष्ट्रिय सभाले पनि पारित गरे लालमोहरको लागि राष्ट्रपतिकोमा पुग्नेछ । तर त्यसअगावै राष्ट्रपतिले राजीनामा दिन सक्ने भन्दै एमालेबाटै राजनीतिक प्रचार भएको छ ।