NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एक वर्ष : चामल आयातमा नेपालको खर्च ३० अर्ब

काठमाडाैं । नेपाल कृषिमा आधारित देश हो । कृषिप्रधान मुलुकमा खाद्यान्न प्रशस्त उत्पादन हुनुपर्ने हो । तर मुलुक कृषिप्रधान भनेर घोषणा गरेको भएपनि वास्तविकतामा यहाँ मुख्य खाद्यान्नमा गनिने धान, मकै, चामल आयातमै मुलुकबाट खर्बौ रुपैयाँ रकम बाहिरिएको पाइएको छ ।

नेपालीहरूले हरेक वर्ष धान दिवस मनाउँछन् । कृषि उत्पादनलाई बढाउन भन्दै विभिन्न कार्यक्रमहरु पनि सञ्चालन हुन्छन् । जस्तो कि हरेक वर्ष धान दिवसको अवसर पारेर वास्तविक सार्थकता धानको महत्व बुझाउन खोजेपनि कैयौं ठाउँमा जमिन बाँझो छोडिएका छन् । आफ्नो देशका उर्वर जमिनलाई बाँझो राखेर विदेशी भूमिमा पसिना बगाउन युवाहरु दिनकै हजारौँ संख्यामा विदेश पलायन भइरहेका छन् ।

युवाहरु विदेशिने, गाउँघरमा केटाकेटी र बुढाबुढी घरमै छाडिने र रेमिट्यान्सले नै परिवार चलाउने भएकाले अहिले गाउँघरतिर किसानले खेतीपाती गर्न छाडेका छन् । आफ्नो उर्वर जमिनलाई बाँझो राखेर आयातित खाद्यान्नदेखि हरेक वस्तु किनेर खाने बानी नेपालीलाई परिसकेको छ । परिणामस्वरुप नेपालमा आयातको ग्राफ उकालोतिर लाग्ने क्रम जारी छ ।

मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा करिब १ खर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ७८/७९ का १२ महिनामा कुल १ खर्ब ५ अर्ब ६ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबरको २ अर्ब २४ करोड ६६ लाख ८१ हजार ५२० केजी खाद्यान्न आयात भएको छ । सो मूल्य बराबरको खाद्यान्न आयात हुँदा सरकारले भने १० अर्ब ९८ करोड २७ लाख ५५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

३० अर्बभन्दा बढीको चामल आयात

आयातित खाद्यान्नमध्ये सबैभन्दा धेरै ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको ५७ करोड ८७ लाख ६७ हजार ३६७ केजी चामल आयात भएको छ । उक्त चामल आयातबाट नेपालले २ अर्ब ८७ करोड ६० लाख ५५ हजार बराबरको राजश्व संकलन गरेको छ ।
नेपालमा भारत, चीन, थाइल्याण्ड, जापानलगायतका देशबाट चामल आयात हुँदै आएको छ ।

९९ प्रतिशत चामल आयात भारतबाटै

नेपालमा ९९ प्रतिशत चामल छिमेकी मुलुक भारतबाट आयात भएको छ । चामल मात्रै नभएर अधिकांश खाद्यान्न आयात भारतबाटै बढी परिमाणमा हुने गरेको पाइएको छ ।

विभागको तथ्यांकअनुसार भारतबाट ३० अर्ब ३९ करोड ४९ लाख ५० हजार रुपैयाँको चामाल आयात भएको छ । उक्त रुपैयाँको चामाल आयात गर्दा सरकारले २ अर्ब ८७ करोड ५० लख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । भारतबाट नेपालले खैरो चामल, पोलिस गरेको र नगरेको दुवै खालका र टुक्रेको चामल आयात गरेको छ ।

भारतपछि नेपालले अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजारको २२ लाख ७७ हजार ८५० केजी चामल आयात भएको छ । चामल आयात हुने अर्को मुलुक चीनबाट ५१ लाख ८५ हजारको ७५ हजार ८३१ केजी चामल आयात भएको छ । उक्त चामल आयातबाट सरकारले २ लाख ८६ हजार राजश्व संकलन गरेको छ । चीनबाट खैरौ चामल, पोलिस र ननपोलिस चामल आयात हुने गरेको छ ।

यी देशबाहेक नेपालमा थाइल्याण्डबाट ६७ लाख ८९ हजार रुपैयाँको ४८ हजार ९७१ केजी, इटालीबाट ५७ हजारको २ सय केजी, भियतनामबाट २८ हजारको ३३ केजी, इन्डोनोसियाबाट ५ हजारको १०० केजी, जापानबाट २४ हजारको ३० केजी, कोरियाबाट ६ हजारको २७ केजी, बेलायतबाट २ हजारको ५० केजी, भुटानबाट २ हजारको १० केजी र ताइवनबाट २ हजारको ३ केजी चामल आयात भएको छ ।