NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विशिष्ट पदाधिकारीले राज्यलाई बुझाएनन् विदेश भ्रमणमा पाएको उपहार

काठमाडौं । अति विशिष्ट र विशिष्ट पदाधिकारीले विदेश भ्रमणमा प्राप्त उपहार राज्यलाई बुझाउनुपर्ने हुन्छ । तर, राज्यसँग त्यस्ता उपहारको अभिलेखसम्म छैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसहित नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले ‘दिएको उपहार र प्राप्त गरेको उपहार विवरण पेस गर्नुपर्ने’ भए पनि उल्लंघन गरेको पाइएको हो ।

नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ मा ‘भ्रमण सम्पन्न गरेपछि भ्रमण प्रतिवेदनको साथमा दिएको उपहार र प्राप्त गरेको उपहार विवरण पेस गर्नुपर्ने हुन्छ ।’ निर्देशिकाअनुसार यस्तो उपहारको विवरण राख्ने जिम्मा परराष्ट्र मन्त्रालयको हो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा उपहार शिष्टाचार महापालले बुझ्नुपर्ने हुन्छ भने अन्यको हकमा टोली नेताले बुझ्ने प्रचलन छ । तर, परराष्ट्र मन्त्रालयसँग पनि यसको विवरण छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले उपहारको विवरण राख्नुपर्ने नियमबारे अनभिज्ञता प्रकट गरे । ‘यसबारे बुझेर खबर गरौँला,’ उनले भने । अधिवक्ता सिर्जना अधिकारीसहितको टिमले सूचनाको हक प्रयोग गर्दै परराष्ट्र मन्त्रालयसँग राज्यका पदाधिकारीले विदेश भ्रमणमा जाँदा प्राप्त उपहारको विवरण माग गरेको थियो । तर, परराष्ट्र मन्त्रालयमार्फत अति विशिष्ट पदाधिकारीको नाममा उपहार प्राप्त भएमा ‘मन्त्रालयले उपहार नखोली गन्तव्यमा पुर्‍याउने, उपहारको विवरण मन्त्रालयमा नरहेको’ लिखित जवाफ प्राप्त भएको उनले बताइन् ।

पूर्वमुख्यसचिव विमल कोइराला ऐन नै बनाएर प्राप्त उपहारको अभिलेख गर्नुपर्ने बताउँछन् । ‘कसैले विवरण राखेजस्तो पनि लाग्दैन, अब ऐन बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘कुन–कुन ठाउँबाट कसको नाममा के उपहार आयो, जनताले पनि थाहा पाउनुपर्छ ।’ उपहारको अभिलेख राख्दा भ्रष्टाचार नियन्त्रणमा पनि सघाउ पुग्ने उनको ठम्याइ छ । ‘उपहारका नाममा के आउँछ, थाहा हुँदैन । निकै महँगो पनि आएको हुन सक्छ,’ उनले भने, ‘पारदर्शी भयो भने भ्रष्टाचार नियन्त्रणमा पनि राज्यलाई सहयोग पुग्छ ।’