NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सिट बाँडफाँट भोलिसम्म टुंगिन्छ, म चितवनबाटै उठ्छु : प्रचण्ड

'समाजवादीसँग एकता प्रयास भइरहेको छ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य क्षेत्रबाट नभएर चितवन क्षेत्र नं. ३ बाटै आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने स्पष्ट पारेका छन् ।  सिट बाँडफाँट चर्चा गरिएजस्तो पेचिलो नरहेको दाबी गर्दै उनले भोलिसम्ममा टुंगिने जानकारी दिए ।

‘मेरो निर्वाचन क्षेत्रबारे विभिन्न अनुमान र अड्कल भएका छन्,’ सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म चितवन–३ बाट आगामी निर्वाचनमा उम्मेदवार बन्छु । अन्यत्र जान्नँ ।’

पछिल्लो समय चितवन असुरक्षित रहेकाले प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा लागेको चर्चा चलिरहेको छ ।

यसैबीच, प्रचण्डले सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको क्षेत्र तोकेरै सिट बाँडफाँट गर्ने बताएका छन् । उनले बाहिर चर्चा गरिएजस्तो सिट बाँडफाँटमा कुनै विवाद नभएको र यो टुंगिने क्रममा पुगेको दाबी गरे । उनका अनुसार, सिट बाँडफाँटको विषय भोलिसम्म टुंगिने सम्भावना छ ।

हिजो अबेरसम्म बसेर संख्याबारे सहमति नजिक पुगेका छौं । अब आज एकपटक बसेर प्रदेश र प्रतिनिधिसभाको क्षेत्रबारे पनि निचोडमा पुग्छौं,’ उनले भने, ‘आजको बैठक सकिएपछि भोलि फेरि बसेर बाँकी विषय टुंग्याउनेछौं ।’

एकीकृत समाजवादी र आफ्नो पार्टीबीच एकता प्रयास भइरहेको पनि उनले बताएका छन् । त्यसका लागि केही समयपछि एकता संयोजन समिति नै बन्न सक्ने उनले बताए ।

‘एकीकृत समाजवादीसँग पार्टी एकताका लागि प्रयास भइरहेको छ । केही समयपछि पार्टी एकता संयोजन समिति बनेर यसलाई अगाडि बढाउने तयारी छ,’ सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

आगामी निर्वाचनमा एउटै घोषणापत्रमा चुनाव लड्ने गरी माओवादी केन्द्र र समाजवादी अघि बढेको जानकारी पनि उनले दिए । घोषणापत्र एउटै भए पनि चुनाव चिह्न भने अलग–अलग हुने उनले स्पष्ट पारे ।