गुटबन्दीले नेताहरूबीच बोलचाल छैन, कार्यकर्ता विभाजित भए : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गुटबन्दीका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको बताएका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले तीब्र गुटबन्दीका कारण नेताहरूबीच बोलचाल नै बन्द भएकाे स्वीकारेका छन् ।
‘स्थानीय चुनावमा पार्टीले १७५ पालिका जित्ने आकलन गरिएको थियो। तर १२२ मा सिमित भयो’, उनले भने, ‘आन्तरिक अन्तर्विरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जित्ने सिट गुमायौं ।’ पार्टीभित्र विचार समूह र नेतृत्वप्रति कसैको विमति नभएपनि गुटबन्दी मौलाएको बताए ।
‘पार्टीभित्रको गुटबन्दीलाई मैले स्वार्थ समूह भनेको छु । नेताहरूबीच बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । व्यक्तिवादी हावी भएका छन्’, उनले भने ।
फरक गुटको उम्मेदवार हुने वित्तिकै हराउनै पर्ने मानसिकताबाट मुक्त भए आगामी निर्वाचनमा पार्टीले राम्रो पोजिसन ल्याउने प्रचण्डले बताए ।
प्रतिक्रिया