सय दिनमा बालेनको सन्देश– लामो रेसको घोडा हुँ, हतार नगरी, निराश नपारी काम गर्छु
फोहोर व्यवस्थापनदेखि मद्यपानसम्मका विषयमा प्रष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू १०० दिनको दौडमा नरहेको बताएका छन् । महानगरका समस्या समाधान र विकासका लागि आफूसँग पाँच वर्षको योजना रहेकाले केही समय गाली र आलोचना सहेरै भए पनि दीगो समाधान र व्यवस्थापनको मार्गमा अघि बढ्ने उनको भनाइ छ ।
१०० दिनको अवधिमा फोहोर व्यवस्थापनलगायतमा अपेक्षित प्रगति हासिल गर्न नसके पनि नागरिक तहमा आशाको सञ्चार गराउन सकेको दाबी बालेनले गरेका छन् । १०० दिनको अवधिमा गरिएका कामबारे स्पष्टीकरण दिएका उनले आफूमाथि विश्वास र भरोसा गर्नेलाई निराश नबनाउने प्रतिबद्धता पनि जनाएका छन् ।
‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ । तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।’
बालेनले फुटपाथबाट मकैको ठेला हटाएको, इ–स्पोर्टसका लागि बजेट विनियोजन गरिएको, यम बुद्धको सालिक निर्माण, कार्यक्रममा मध्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापन र अनधिकृत संरचना हटाएको सन्दर्भमा आफूमाथि उठेका प्रश्नको निकै संयम र शालीनतापूर्वक जवाफ दिएका छन् । उनले पटक–पटक विधि र पद्धतिअनुसार समस्याको समाधान गरेर विकासको मार्गमा अघि बढ्न चाहेको आशय दोहोर्याएका छन् ।
फुटपाथबाट गरीखाने वर्गलाई हटाएकोमा सर्वाधिक आलोचित बालेनले फुटपाथको आधारभूत निर्माण पैदलयात्रीका लागि भएकाले आफूले यो कदम चालेको प्रष्टीकरण दिएका छन् । यो सन्दर्भमा अझै पनि सही के हो भनेर छुट्याउन आफूलाई धर्मसंकट महसुस भइरहेको उल्लेख गर्दै उनले आफूले पाएको अभिभारा भावनाभन्दा माथि उठेर पूरा गरेको बताए ।
‘फुटपाथबाट मकैको ठेला हटाएको सन्दर्भले अझै पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ,’ बालेनले भनेका छन् ।
फुटपाथमा व्यवसाय गर्नेको व्यवस्थापन निकै जटिलपूर्ण भएको र विगतमा पनि असफल भएकाले क्षमताले भ्याउने जे थियो त्यो गरेको उनले बताएका छन् । उनका अनुसार, पुरानाको व्यवस्थापन गरेलगत्तै नयाँ आउने भएकाले यो चक्र तोड्न महानगरको क्षमताले भ्याउने स्थिति छैन । फुटपाथका व्यापारी हटाएपछि तिनको उचित व्यवस्थापन नभएको भन्दै बालेनको चर्को आलोचना भएको थियो ।
‘महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्ण रूपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो,’ बालेनको भनाइ छ । आफू महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए यसको समाधान फरक ढंगले हुनसक्ने बालेनको मत छ ।
फोहोर व्यवस्थापनमा सोचे जति गर्न नसकेको बालेनले स्वीकार गरेका छन् । तर झण्डै दुई दशकदेखि जकडिएर रहेको यो समस्या सतहमा ल्याउन भने सफल भएको उनको भनाइ छ ।
‘फोहोर व्यवस्थापनमा के स्वीकार्नु पर्दछ भने १०० दिनभित्र यसको सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ ।’ यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्षम भएको बालेनले बताएका छन् ।
अनधिकृत संरचना हटाउन महानगरले थालेको कामको सन्दर्भ कोट्याउँदै उनले जुन प्रयोजनका लागि संरचना बनेका छन् त्यसैअनुरूप उपयोग गराउन अभियान थालेको प्रष्ट पारे । उनले कुनै पनि सर्तमा यो नियम लागू गर्नबाट पछि नहट्ने प्रतिबद्धता पनि जायर गरेका छन् ।
अदालतको सन्दर्भमा दिएको अभिव्यक्ति र अल्फाबिटाका सञ्चालकसँग भएको नोकझोकको सन्दर्भमा मुख खोलेका छन् । बालेनका अनुसार, आममानिसहरूको आवाज सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा ती कार्यहरू भएका हुन् ।
प्रतिक्रिया