मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी कार्यदलको बैठक सकियो
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । उनले भने, “कार्यदलले आफ्नो काम भोलिसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।”
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताए । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।
गठबन्धनमा आबद्ध दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया