NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१६५ सिटमा भागबण्डाको सहमतिनजिक सत्तारुढ दल, कुन दलले कति सिट पाउँदैछन् ?

काठमाडौं । सिट फाँडफाँटमा आ–आफ्ना अडानमा रहेका सत्ता गठबन्धन दलहरू सोमबार भएको छलफलपछि केही लचिलो बनेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूबीच सहमति नजुट्दा एक्लाएक्लै उम्मेदवार सिफारिस गरेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले झण्डै ६० निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरिसकेको छ ।

गठबन्धन दलहरूबीच भागबण्डा नमिल्दा साझा उम्मेदवार छनोट हुन सकेको छैन । आइतबार र सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा सबै दलहरू आ–आफ्ना अडानबाट पछि हटेपछि भागबण्डा सहमति नजिक पुगेका हुन् ।

चुनावी तयारीका लागि मंगलबार सुदूरपश्चिमको धनगढी पुगेका सत्तारूढ माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भागबण्डामा सबै दल लचिलो भएकाले त्यहीअनुसार कार्यदलले आज प्रतिवेदन बुझाउने बताए ।

‘सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेका छन् । संघ र प्रदेशको निर्वाचन क्षेत्र र सिट बाँडफाँट प्याकेजमै टुंग्याउने गरी गृहकार्य भएकाले सहमतिमा केही ढिलाइ भएको हो’, उनले भने, ‘सबै दल आ–आफ्ना अडानबाट लचिलो भएका छन् । कार्यदलको प्रतिवेदनका आधारमा बुधबार बस्ने शीर्ष नेताहरूको बैठकले सबै विषय टुंगो लगाउँछ ।’

संचारकर्मीसँगको कुराकानीमा प्रचण्डले १०० सिटको अडानमा रहेको कांग्रेस ८० को हाराहारीमा आउन तयार रहेको दाबी गरे । आफूपनि ६० सिटको अडानबाट पछि हटेको बताए । प्रचण्डका अनुसार ४० सिट दाबी गरेको एकीकृत समाजवादी र जसपा २५ सिटकै हाराहारीमा सहमति नजिक रहेको उनको दाबी छ । दुई सिट दाबी गरेको राष्ट्रिय जनमोर्चाले १ सिटमा चित्त बुझाएको छ ।

तर कार्यदलका एक सदस्यका अनुसार गठबन्धन दलहरूबीच आधा–आधा सिट संख्यामा सहमति हुन लागेको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रसहित सिट बाँडफाँटको विषयमा धेरै कोण र विकल्पबाट छलफल भयो । १६५ निर्वाचन क्षेत्रमा कांग्रेस र अन्यदलहरूबीच आधा–आधा सिट भागबण्डा गर्ने सहमति नजिक पुगेका छौं । मंगलबार बस्ने कार्यदलको बैठकले अन्तिम रुप दिएर प्रतिवेदन मंगलबार शीर्ष नेतालाई बुझाउने कार्यतालिका रहेको छ’, ती सदस्यले भने ।

यसअघि कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा अडान लिएको थियो । कार्यदल सदस्यका अनुसार कांग्रेसले ८२ बाहेक लोसपालाई २ सिट चाहिने अडान लिएको छ । सहमतिमा कांग्रेसले ८३ र अन्य दलले ८२ सिट लिनेगरी कार्यदलले गृहकार्य गरिरहेको ती सदस्यले बताए ।

कांग्रेसइतर गठबन्धनमा भागबण्डा पेचिलो

सहमतिमा कांग्रेसले ८३ सिटमा चित्त बुझायो भने पनि कांग्रेस इतर गठबन्धनमा सिट बाँटफाँट पेचिलो हुने देखिएको छ ।

कांग्रेसलाई ८३ सिट छोड्दा बाँकी ८२ सिटमा माओवादी, एकीकृत समाजवादी, जसपा, राजमोलाई मिलाउनुपर्ने हुन्छ । त्यसबाहेक बाबुराम भट्टराईलाई दुई र वामदेव गौतमलाई एक सिट दिनुपर्ने बाध्यता छ । यद्यपी कांग्रेसले ८० सिटमा सहमति गरे बाँकी विषय आफूले टुंग्याउने प्रधानमन्त्री देउवालाई प्रचण्डले आश्वासन दिएको स्रोतको दाबी छ ।

यहि विषयमा सहमति गर्नुअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्डले वान–टु–वान भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले ८६ सिट कांग्रेसले लिएर बाँकी सिटमा मिलाउन प्रचण्डलाई आग्रह गरिएको बुझिएको छ । सिट संख्यामै कुरा नमिलेपछि निर्णायक भनिएको वार्ता विनानिष्कर्ष टुंगिएको थियो । भागबण्डालाई अन्तिम रुप दिन सोमबार राति अबेरसम्म बसेको बैठकमा सबै दल आ–आफ्ना अडानबाट पछि हटेका थिए ।

दलहरूबीच ८३–८२ सिटमा सहमति भएको खण्डमा कांग्रेसबाहेको दलहरूमा किचलो सुरू हुने देखिन्छ । ८२ सिटमध्ये माओवादी केन्द्र न्यूनतम ५० भन्दा तल नझर्ने अडानमा छ । ४० सिट दाबी गरेको एकीकृत समाजवादी २५ भन्दा तल नओर्लिने अडानमा छ । ३२ सिट दाबी गरेको जसपाले २५ भन्दा तल नजाने अड्डि लिएको छ ।

कार्यदलका एक सदस्यका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले २५ भन्दा तल आउनुपर्ने अवस्था आए गठबन्धनमै नबस्ने चेतावनी दिएका छन् । ८२ सिटमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी सिट संख्या जोड्दा १०० हुन आउँछ । भट्टराई, गौतम र राजमोलाई एक–एक सिट दिँदा पनि १०३ हुन आउँछ । माओवादीका एक नेताका अनुसार एक सिट राजमोलाई छुट्याएर बाँकीमा सहमति गर्ने गरी गृहकार्य भइरहेको दाबी गरे ।

‘अन्तिम सम्ममा कांग्रेस ८० को हाराहारीमा आउँने हाम्रो विश्वास छ । यस्तो अवस्थामा माओवादीको चुनाव चिन्हबाट उठ्ने दलहरूलाई ५० सिटभित्रै व्यवस्थापन गर्ने गरी बाँकी ३५ सिट एकीकृत समाजवादी, जसपा र राजमोलाई छोड्न सकिन्छ’, ती नेताले भने ।

माओवादी नेताको कुरालाई पत्याउने हो भने पनि एसलाई २० सिट दिएर १५ सिटमा जसपा र राजमो सहमत हुने अवस्था छैन । तर माओवादीले लिने ५० सिटभित्रै एकीकृत समाजवादीलाई व्यवस्थापन गरिएको खण्डमा भागबण्डामा सहमति हुन सक्ने जसपाका एक नेताले बताए ।

‘अघिल्लो निर्वाचनमा हामीले एक्लै लड्दा पनि १० सिट जितेका थियौं । ती नेताले भने गठबन्धनबाट १४–१५ सिट लिने हो भने एक्लै चुनावमा भाग लिए भइगो नि, किन गठबन्धन गर्नुपर्यो ?’

कार्यदल बैठकमा संघको १६५ निर्वाचनमा दलहरूबीच क्षेत्रगत सहमति जुटाएपछि त्यहि अनुसार प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सहमति जुटाउने तयारी गरेको छ । अघिल्लो निर्वाचनमा जुन दलले जहाँबाट जितेका छन्, त्यो उसैलाई छोड्ने सहमति भइसकेको कार्यदलका सदस्यले बताएका छन् । ती सदस्यका अनुसार ५० प्रतिशत निर्वाचन क्षेत्रमा दलहरूबीच सहमति भइसकेको छ । बाँकी निर्वाचन क्षेत्रमा मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाएर प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ ।

कांग्रेसले ८३ सिटसम्म लिने विषयलाई सत्तारुढ अरु दलले पनि स्वीकारिकेका छन् । यस्तोमा माओवादीले ४५, नेकपा एसले १८ र जसपाले १५ सिट र बाँकी तीनचार सिटमा बाबुराम भट्टराई, वामदेव गौतम र चित्रबहादुर केसीको दललाई दिंदा कुरा मिल्न सक्ने देखिन्छ । धेरै सिटमा दाबी गरे पनि दलहरू अन्तिममा आउने यही सिट वरिपरी नै हो । अन्यथा सत्तागठबन्धनबीच सहमति हुनै ग्राहो देखिन्छ ।