म्यादीलाई सामाजिक सञ्जालमा कमेन्ट गर्न रोक, फोन बोक्न पनि नपाइने

काठमाडौं । आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ । गृह मन्त्रालयले स्वीकृत गरेको भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट् गर्न नपाउने उल्लेख छ ।
म्यादीले ड्युटीको समयमा मोबाइल फोन बोक्न पनि पाउने छैनन् । आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।
आगामी निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई स्वीकृत प्रदान गरिसकेको छ । प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकबाट म्यादी छनोट गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा भदौ ३० देखि असोज ६ सम्म आवेदन खुलाउँदै छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया