पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ, नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी
काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।
तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । अभिनेता शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए ।
जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।
नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।
नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी
नवलपुर अदालतको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् ।
अदालतको पूर्ण पाठ आउने बित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया