NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सडकपेटीमा सुत्ने निमुखाको दिल्ली पुर्याएर मिर्गौला झिकिएको खुलासा

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत असारमा कोलकातामा लगेर मिर्गौला निकाल्ने अर्काे समूहलाई पनि पक्राउ गरेको थियो । काठमाडौंका सडकपेटीमा सुत्ने निमुखाहरूलाई आर्थिक प्रलोभनमा फसाएर कोलकाता लगेर मिर्गौला बेच्न लगाउने गरेको खुलेको थियो । त्यस्तो कार्यमा संलग्न धनबहादुर रोका, विजय कुँवर, थुपेन्द्र शाही, विकलबहादुर शाही र आशिष तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले कोलकाता लैजान लागेको अवस्थामा गत १५ असारमा दुईजनालाई उद्धार गरी गिरोहका सदस्य पक्राउ गरिएको एसपी दानबहादुर मल्लले बताए । उनीहरूलाई पाँच लाख नगद र ५० हजार रुपैयाँको मोबाइल दिने प्रलोभनमा पारी मिर्गौला बेच्न लगिदै थियो । यो समूहले केही व्यक्तिलाई कोलकाता लगेर मिर्गौला बिक्री गरिसकेको आशंकामा प्रहरीले छानबिन गरिरहेको छ ।

कोलकाता नै लगेर मिर्गौला बेच्ने अर्काे गिरोह ठीक एक वर्षअघि काभ्रेको बनेपाबाट समातिएको थियो । काभ्रे भुम्लुका कुमार परियार, सुरेश परियार र राजकुमार परियारलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । बनेपाका एक युवकलाई झुक्याएर कोलकाता लगी उनीहरूले मिर्गौला निकालेका थिए । त्यसरी पक्राउ परेकामध्ये दुईजना आफैँले पनि सुरुमा मिर्गौला बिक्री गरेका थिए । उनीहरू काभ्रे पाँचखालका हुन् । पाँचखालआसपासका गाउँ २५ वर्षअघिदेखि मिर्गौला बिक्रीका कारण बदनाम छन् । केही वर्ष प्रहरी सक्रियताले रोकिए पनि पछिल्लो समय फेरि गिरोह सक्रिय भएको देखिएको छ । पीडितका दाइको पनि केही वर्षअघि सोही गिरोहले मिर्गौला बेचेको खुलेको थियो ।

नुवाकोटको सहित यी तीनवटै घटनामा पीडितलाई कोलकाता पुर्‍याएर मिर्गौला निकालिएकाले त्यसमा एउटै गिरोह संलग्न हुन सक्ने प्रहरी आशंका छ । नेपालबाट भारतमा मिर्गौला तस्करीको धन्दा वर्षौँदेखि चल्दै आएको छ । यस्तो गिरोहका एक नाइके डा. अमित कुमारलाई करिब १५ वर्षअघि नेपाल प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । भारतका ठूला अस्पतालमै नेपालीलाई लगेर अवैध रूपमा मिर्गौला प्रत्यारोपण हुने भएकाले अहिले पनि ठूलै गिरोह संलग्नताको आशंका गरिएको छ ।

प्रहरीका अनुसार भारतमा रहेको गिरोहले अस्पतालसँग मिलेर मिर्गौला ग्रहणकर्ता खोज्ने गर्छ । उनीहरूले नेपालमा रहेको आफ्नो समूहलाई मिर्गौलादाता खोज्न लगाउने गर्छन् । ग्रहणकर्ता धेरै हुने र नेपालमा दाता खोजिसकेपछि मोटो रकम डिल हुने गरेको छ । दाताले भन्दा बिचौलियाले तीन गुणासम्म रकम खाएर कोलकाता लगेर मिर्गौला बेच्ने धन्दा हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको भनाइ छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष