NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आफ्नो चुनावी क्षेत्रमा ५ पूर्व कम्युनिष्ट प्रधानमन्त्री : को बलियो ? को कमजोर ?

काठमाडौं । २०५१ सालमा एमालेका अध्यक्ष मनमोहन अधिकारी कम्युनिष्टबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । २०४६ को जनआन्दोलनले ३० वर्षे निरंकुश पञ्चायती शासन ढाल्यो । राजा महेन्द्रबाट खोसिएको बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो । २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा कांग्रेसले ११० सिटसहित बहुमत ल्यायो ।

६९ सिट जितेर एमाले प्रमुख प्रतिपक्षी दल बन्यो । कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बहुमतको सरकार बनायो । तर पार्टीभित्रै केही सांसदहरूको असहयोगका कारण २०५१ सालमा सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित भएन । आफूले ल्याएको नीति तथा कार्यक्रम पारित नभएपछि मंसिर १४ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर गिरिजाले मध्यावधि घोषणा गरेका थिए ।

२०५१ मा भएको निर्वाचनमा एमाले ८८ सिटसहित ठूलो दल भयो । बहुमतबाट खुम्चिएर कांग्रेस ८३ सिटमा सीमित भयो । राजनीतिक खिचातानीका कारण बहुमतको सरकार बन्न नसकेपछि ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता अधिकारीले अल्पमतको सरकार बनाए । तर पनि अधिकारी नेतृत्वको ९ महिने सरकार लोकप्रिय भएको थियो ।

अधिकारीपछि अहिलेसम्म नेपालमा ५ जना कम्युनिष्ट प्रधानमान्त्री भइसकेका छन् । २८ वर्षको यो अवधिमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री भए । कम्युनिष्ट प्रधानमन्त्रीमध्ये अधिकारीबाहेक पाँचै जना जीवितै छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यी सबै पूर्वप्रधानमन्त्रीले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रचण्ड, नेपाल र खनाल वाम–लोकतान्त्रिक गठन्धनबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । ओली एमालेबाट गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । २०७४ को निर्वाचनमा भट्टराईबाहेक अन्य चार पूर्वप्रधानमन्त्रीले वाम गठबन्धनबाट कांग्रेससँग प्रतिस्पर्धा गरेका थिए । भट्टराईले कांग्रेसको सहयोगमा वामपन्थीविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

अघिल्लो निर्वाचनमा यी सबै पूर्वप्रधानमन्त्रीले निर्वाचन जितेका थिए । वामगठबन्धनको सरकार भएपनि ओलीमात्र प्रधानमन्त्री बन्न सफल भए । तर ओलीले कार्यकाल पूरा गर्न सकेनन् ।

२०७४ मा भएको निर्वाचनमा ओलीको बढ्दो लोकप्रियतासँगै वाम गठबन्धन गरेकाले देशभर अत्याधिक मत प्राप्त गरेको थियो । मधेश प्रदेशबाहेक वामपन्थीले ६ प्रदेशमा अत्याधिक बहुमत ल्याएको थियो । संघमा झण्डै दुई तिहाइ मत ल्याएको थियो । ओली २०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पाँच वर्षको म्याण्डेट पाएर शक्तिशाली प्रधानमन्त्री बनेका ओली नेकपाभित्रको आन्तरिक विवादका कारण पूरै कार्यकाल प्रधानमन्त्री बन्न सकेनन् । ओली–प्रचण्डबीचको शक्ति संघर्षका कारण प्रधानमन्त्री भएको ४० महिनामै उनको सरकार ढल्यो । उनकै कार्यकालमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन भयो । एमालेभित्र उनी निकै शक्तिशाली भएपनि विभाजन रोक्न असफल भएको देखिन्छ ।

३१ वर्षदेखि लगातार राजनीतिको केन्द्रबिन्दुमा रहेका कम्युनिष्ट पूर्वप्रधानमन्त्रीको आगामी राजनीतिक यात्रा कस्तो रहला भन्नेमा आम चासो रहेको देखिन्छ । अघिल्लो पटक अत्याधिक वामपन्थी जनमत रहेकोमा आगामी निर्वाचनपछि वामपन्थी जनमत कस्तो रहला ? मतदातामा आएको राजनीतिक चेतनास्तर वृद्धिसँगै पुरातन राजनीति धारको लिगेसी बोकेका कम्युनिष्ट एजेण्डा जनमतबाट अनुमोदन होला कि नहोला ? पटक–पटक परीक्षण भइसकेका यी नै पुराना अनुहारलाई आम मतदाताले अनुमोदन गर्लान् कि नगर्लान् भन्ने विषयले राजनीतिक बजार तातेको छ । दलबदल र विभाजनको शिकार भएका कम्युनिष्ट पार्टीका यी पुराना नेताहरूको चुनावी प्रतिस्पर्धाले आगामी निर्वाचन निकै रोचक बन्ने देखिन्छ ।

केपी ओली

अघिल्लो निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट सबैभन्दा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए । उनी ५७ हजार १३९ मत ल्याएर निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो ।

देशभर माओवादीसँग भागबण्डा गरेका ओलीले आफूमाथि षड्यन्त्र हुनसक्ने भयका कारण राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँगसमेत तालमेल गरेका थिए । एमालेसहित माओवादी र राप्रपाको संयुक्त मतको आधारमा ओलीे अत्याधिक मत ल्याउन सफल भए । राजनीतिमा चलाख देखिएका ओलीले आफ्नो सिट सुरक्षित गर्न क्षेत्र नं. ३ मा लिङ्देनलाई छोडे ताकि त्यतिबेला माओवादी र राजमोबाहेक अन्य दलसँग चुनावी तालमेल गर्ने नीति नै थिएन ।

अघिल्लोपटक समानुपातिकतर्फ यो क्षेत्रमा एमालेले ४२ हजार २२५ मत पाएको थियो । कांग्रेसले २२ हजार ५८५, माओवादीले ६ हजार ३५२, राप्रपाले ९ हजार ५९, संघीय समाजवादीले २ हजार ३०६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ५५७, अन्यले ५४८० प्राप्त गरेका थिए । पहिलेको भोटका आधारमा अहिलेको सत्ता गठबन्धनको जम्मा मत ३२ हजार ८०० देखिन्छ । यहाँ एमाले ९४२५ ले अगाडि देखिन्छ । गठबन्धनले जित्न राप्रपासँग तालमेल गर्नुपर्ने बाध्यता छ ।

त्यस्तै गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ४१ हजार ६१९ मत पाएको छ । यो वडाध्यक्षले पाएको मत हो । त्यस्तै वडाध्यक्षमा कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७७८, नेकपा एसले १९८८, राप्रपाले ८ हजार ३५३ मत पाएको छ ।

गठबन्धनको जम्मा मत ३४ हजार ७८८ रहेको छ । जबकी एमाले एक्लैको मत ४१ हजार ६१९ छ । एमाले ६ हजार ८३१ मतले अगाडि देखिन्छ । यो मतमा पनि एमाले अगाडि देखिएकोले केपी ओलीलाई राप्रपाबाहेकका सबै दल एक ठाउँमा उभिंदा पनि चुनाव जित्न कठिन हुने देखिएको छैन । संघमा गठबन्धनलाई सहयोग गर्ने शर्तमा स्थानीय तह निर्वाचनमा गठबन्धनले राप्रपालाई सघाएको थियो । गठबन्धनसँगको सहमति पालना राप्रपाले गरे ओलीलाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ ।

बलिया ओली ?

२०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ओली समकालीन राजनीतिका चतुर खेलाडी मानिन्छन् । ओली–माधव प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका उनले नेपाललाई झिनो मतले पराजित गरेका थिए । नेतृत्वमा आएसँगै उनी पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमासमेत प्रभाव जमाउन सफल भए । विपक्षीमाथि व्यङ्य र उखान–टुक्कासहित चोटिलो प्रहार गर्न उनी निकै माहिर देखिन्छन् ।

संविधान निर्माणपछि २०७२ मा प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि ओली माओवादीको सहयोगमा २०७२ असोजमा प्रधानमन्त्री भएका थिए । भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री भएका उनले राष्ट्रियताप्रति अडान देखाउँदै लोकप्रियता हासिल गरेका थिए ।

२०४८, ०५१, ०५६ झापा–७ बाट प्रतिनिधिसभा निर्वाचन जितेका ओलीले २०६४ को संविधानसभा निर्वाचनमा झापा–६ बाट पराजित भएका थिए । २०७० र २०७४ को निर्वाचन झापा–६ र क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । पार्टी विभाजनपछि चितवनको सौराहामा भएको १० औं महाधिवेशनबाट दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए । कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गरेका ओलीले आगामी निर्वाचनमा पनि राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

प्रचण्ड

वाम गठबन्धनको सहयोगमा पूर्व प्रधानमन्त्री प्रचण्डले २०७४ सालमा एमालेको समर्थनमा ९ हजार ३३८ मतान्तरले राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई पराजित गरेका थिए । प्रचण्डले ४८ हजार २७६ मत ल्याएका थिए । पराजित पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । त्यतिबेला पाण्डेलाई कांग्रेसले सहयोग गरेका थिए ।

तर स्थानीय तहको यसपटकको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभाको यो क्षेत्रमा माओवादी एक्लै तेस्रोमा देखिएको छ । माओवादीले १० हजार ९४० मत पाएको छ । पहिलो स्थानमा रहेको एमालेले २९ हजार ७७१ र कांग्रेसले २९ हजार ३४३ मत ल्याएका छन् । माओवादी निक्कै पछाडि हुँदा एक्लाएक्लै चुनाव लडे प्रचण्ड हार्ने निश्चित देखिएको छ । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस देखिएका हुन् । यद्यपि उनलाई मंसिरमा हुने निर्वाचनमा पाँचदलीय गठबन्धनको सहयोग रहनेछ ।

उतारचढावपूर्ण यात्रामा प्रचण्ड

उमेरले ६८ वर्ष पार गरेका प्रचण्ड २५ वर्ष भूमिगत राजनीति गरी २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०५२ सालमा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरे । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा २०६२÷६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले नेपालबाट २४० वर्षे राजसंस्था अन्त्य गरायो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट अत्याधिक मतसहित विजयी भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–५ बाट निर्वाचनमा उठेका थिए । काठमाडौंबाट शर्मनाक हार व्यहोरेका उनी सिराहाबाट भने विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गरी वाम गठबन्धनबाट निर्वाचनमा भाग लिएका थिए । आफ्नै गृहजिल्ला चितवन–३ बाट उनले चुनाव जितेका थिए । आगामी निर्वाचनमा कांग्रेससँगको सहकार्यमा उनले चितवन–३ बाट नै चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । उनी २०६५ र २०७३ मा दुई पटक प्रधानमन्त्री भएका थिए ।

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं–२ बाट विजयी भएका थिए । योपटक उनले गृहजिल्ला रौतहटबाट चुनावमा भाग लिने भएका छन् । एकीकृत समाजवादीको पकड क्षेत्र रहेको रौतहट–१ बाट चुनावमा उठ्न लागेका हुन् । स्रोतका अनुसार गठबन्धनबाट चुनाव लड्दा काठमाडौं–२ नेपालका लागि सुरक्षित देखिएपनि विश्वस्त हुन नसकेपछि योपटक गृहजिल्ला जान लागेका हुन् ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । झाको मतान्तर ५ हजार ५९५ रहेको छ । माओवादीका सत्यनारायण भगले १२ हजार ३३१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा रौतहट– १ बाट एसले १९६९८, कांग्रेसले १६९२८, लोसपाले १२०६२, जसपाले ८२४१, माओवादीले ८१९१ र एमालेले ७३८५ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ५८ रहेको छ । एमालेसँगको मतान्तर ४५ हजार ६७३ रहेको छ । नेपाल २०७० को निर्वाचनमा पनि काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । मतपरिणाम हेर्दा नेपाल रौतहट–१ मा सुरक्षित रहेका देखिन्छन् । नेपाल २०६४ सालमा दुईदुई ठाउँबाट चुनाव हार्दा पनि प्रधानमन्त्री बन्न सफल भएका थिए ।

धेरै उतारचढाव बेहाेर्ने नेता

एमालेमा झण्डै १५ वर्ष महासचिव भएका पूर्वप्रधानमन्त्री नेपाल २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–१ बाट पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । एमाले ३३ सिटमा खुम्चिएको थियो । दुवै क्षेत्रबाट पराजित भएपनि प्रधानमन्त्री बन्ने सौभाग्य नेपाललाई मिलेको थियो ।

प्रधानसेनापति प्रकरणमा २०६५ वैशाखमा प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि नेपाल कांग्रेसको सहयोगमा २०६६ जेठमा प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएपछि प्रचण्ड–नेपालको सम्बन्ध त्यतिबेला निकै चिसिएको थियो । २०४८, २०५१, २०५६, २०७० को निर्वाचनमा काठमाडौं र रौतहटबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा विघटनसँगै एमालेबाट २०७८ भदौ २ गते नेपालसहितका नेता एमालेबाट अलग भएका थिए । आगामी निर्वाचनमा नेपाल रौतहट–१ बाट चुनावमा भाग लिने तयारी गरेका छन् ।

झलनाथ खनाल

२०४८ देखि इलाम क्षेत्र–१ बाट लगातार प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि साविक क्षेत्रबाट नै निर्वाचनमा भाग लिने तयारीमा छन् । अघिल्लो निर्वाचनमा खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

स्थानीय तह निर्वाचनमा इलाम–१ मा एमालेको २६२३३, कांग्रेसको २५७७२, एसको ९४८१, जसपा १८२९, माओवादी १२३५ र राप्रपाको ११६९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३८ हजार ३१७ मत रहेको छ । एमालेसँगको मतान्तर १२ हजार ८४ रहेको छ । गठबन्धनको भोट प्रभावित नभए आगामी निर्वाचनमा पनि चुनाव जित्ने देखिन्छ ।

एमालेका पूर्व प्रभावशाली नेता

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका सम्मानित नेता खनाल २०६७ माघमा प्रधानमन्त्री भएका थिए । २०६४ मा सबैभन्दा ठूलो दल रहेको माओवादी र एमालेबीच सम्बन्ध बिग्रदै गएपछि एमालेभित्र झलनाथ–वामदेव समूहले माओवादीसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए ।

माधव नेपाललाई राजीनामा दिन लगाएर झलनाथलाई प्रधानमन्त्री बनाउने गरी प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर झलनाथ–वामदेवको प्रस्ताव ओली पक्षले ठाडै अस्वीकार गरेका थिए । झलनाथ–वामदेव समूह र ओली समूहबीचको तीव्र मतभेदका कारण त्यतिबेला एमाले झण्डै विभाजन भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड, झलनाथ र रामचन्द्र पौडलबीच प्रतिस्पर्धा हुँदा १८ पटकसम्म संसदले प्रधानमन्त्री दिन सकेको थिएन । प्रचण्ड प्रधानमन्त्रीको दौडबाट पछि हट्दै खनाललाई समर्थन गरेपछि उनी प्रधानमन्त्री बन्न सफल भए ।

माओवादीको समर्थनमा प्रधानमन्त्री भएपछि पार्टीभित्र खनाल र ओलीबीच सम्बन्ध निकै चिसिएको थियो । पार्टीभित्र असहयोगका कारण उनले ६ महिनामै पदबाट राजीनामा दिएका थिए । खनालले इलाम–१ बाट २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ को सबै निर्वाचन जितेका छन् । मंसिरमा हुने निर्वाचनमा उनले अन्तिमपटक निर्वाचनमा भाग लिने तयारी गरेका छन् । खनाललाई गठबन्धनले सहयोग भएको छ । बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

डा. बाबुराम भट्टराई

उमेरले ६८ वर्ष काटेका नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई मंसिर ४ मा हुने प्रतिनिधिभा निर्वाचनमा साविक गोरखा–२ बाट नै चुनावी प्रतिस्पर्धा गर्ने दाउमा छन् । २०७२ सालमा माओवादी परित्याग गरी नयाँ शक्ति, संघीय समाजवादी, जसपा हुँदै पुनः माओवादीमै फर्किने तयारीमा उनी छन् । यद्यपि निर्वाचनमा भाग लिने विषयमा उनी निष्कर्षमा पुगेका छैनन् ।

अघिल्लो निर्वाचनमा नयाँ शक्तिबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । भट्टराईले ३१ हजार ८०७ मत ल्यायी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । भट्टराईको मतान्तर ६ हजार ८७४ रहेको छ । त्यतिबेला उनलाई कांग्रेसले सहयोग गरेको थियो ।

स्थानीय तह निर्वाचनमा गोरखा–२ बाट माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ र राप्रपा ८७८ मत पाएका छन् । योपटक कांग्रेस र माओवादीकोसमेत समर्थन रहेकाले भट्टराईले चुनाव जित्ने पक्काकक्की जस्तै देखिन्छ । यहाँ गठबन्धनको जम्मा मत ५० हजार ८९० रहेको छ । एमालेसँगको मतान्तर ४२ हजार ९६४ रहेको छ । गठबन्धन हुँदा बाबुराम सबैभन्दा सहज रुपमा चुनाव जित्ने नेताका रुपमा देखिन्छन् ।

बाबुरामलाई सबैभन्दा सहज

एमालेभित्र ओलीसँग झलनाथ समूहको विवाद बढ्दै गर्दा माओवादीभित्र प्रचण्ड–बैद्य–बाबुराम पक्षबीच मनमुटाव उत्कर्षमा पुगेको थियो । २०६८ साउनमा दोबीघाट भेलाबाट बैद्य–बाबुराम–नारायणकाजीबीच सहकार्य भएको थियो । उक्त भेलाले भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्यो । केन्द्रीय समितिमा पहिलोपटक अल्पमतमा परेका प्रचण्डले बैद्य–बाबुरामको प्रस्तावलाई स्वीकार गर्दै प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । भट्टराई मधेशवादी दलको समर्थनमा २०६८ भदौमा भट्टराई प्रधानमन्त्री बन्न सफल भएका थिए ।

माओवादी युद्धको प्रमुख योजनाकार रहेका भट्टराई प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा लोकप्रिय भएका थिए । उनकै नेतृत्वको सरकारले काठमाडौंमा साँघुरा सडक विस्तार गरी फराकिलो पारेको थियो । गठबन्धनकै नेता रहेका भट्टराईले गोरखा २ बाट २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए । अघिल्लोपटक कांग्रेसको सहयोगमा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहेका भट्टराई योपटक पनि चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष