समानुपातिक उम्मेदवार टुंग्याउन एमालेलाई सकस, सचिवालय बैठक बस्दै
काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।
समानुपातिक बन्दसूचीबारे छलफल गर्न शनिबार पनि सचिवालय बैठक बसेको थियो । बैठकले आइतबार यसलाई अन्तिम रूप दिने निर्णय गरेको छ ।
एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले अहिले बिहान ११ बजे समानुपातिक बन्दसूचीबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन कार्यक्रम आजबाट सुरु भएको छ । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ गतेसम्म बुझाउनुपर्नेछ । आवश्यक संख्याभन्दा बढीले आकांक्षा देखाएपछि एमाले नेतृत्व सकसमा परेको छ ।
एमालेजस्तै नेपाली कांग्रेसलाई पनि समानुपातिक बन्दसूची टुंगो लगाउन सकस परेको छ । समयको चापमा परेको कांग्रेस आइतबार बिहानैदेखि छलफलमा जुटेको छ । उता, माओवादी केन्द्र पनि यसलाई टुंग्याउने गृहकार्यमा जुटेको छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ का लागि तय छ ।


प्रतिक्रिया