NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल अन्योलमा

सुदूरपश्चिम । सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौल देखिएको छ ।

सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सुदूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्रटेडिङग कर्पोरेसन धनगढीप्रदेश कार्यालयका सहायक रामचन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन्, परिपत्र नआउँदा कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने टुङ्गो लागेको छैन् । माथिको परिपत्र पर्खिराखेका छौँ ।’ सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र नआएकाले परिपत्रबिना सञ्चालन गर्न नसकिने जनाइएको छ ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने सहायक जोशीको भनाइ थियो । विगतका वर्षमा दसैँ, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

कर्पोरेसनले विगतका वर्षमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसैँ, तिहार तथा छठलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिएकोे थियो । यस्ता पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी,नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेको थियो ।