आइकाओ महासभामा पुगेर पर्यटनमन्त्रीले भने: ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।
क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे । उनले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए ।
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताएका थिए ।
आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा पुगेका हुन्। महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् ।
आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ ।
महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया