NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बाबुरामको द्वेध चरित्र : जहाँ प्रचण्डलाई ९ अर्ब भ्रष्टाचारको आरोप लगाए, त्यहीँको उम्मेदवार बनाए

काठमाडौं । २२ असोज २०७७ मा पालुङ्टार नगरपालिका–६ पौवाटारमा उभिएर डा बाबुराम भट्टराईले भनेका थिए, ‘करोड र लाखका कुरा छोडौं, अर्ब–अर्बको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरू गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रूपैयाँ कमिसन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ, यो कुरा प्रमाणित गर भन्नुभयो भने म तुरून्त गर्न सक्छु । यो मात्र होइन, अरू दस, आठ वटा आयोजनाबाट उनीहरूले अर्बौं–अर्ब कमिसन खाएर मुखमा बुझो लाएर बसेका छन् ।’

यदि देश विधि र पद्धतीमा चलेको थियो भने तीन पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान शुरू हुनुपर्थ्यो वा गलत सूचना प्रवाह गर्ने पूर्वप्रधानमन्त्री भट्टराईमाथि नै कारबाही अघि बढाइनुपर्थ्यो । सत्य के हो भने, यहाँ कि डा. भट्टराईले गलत बोलेका थिए, कि त तीन पूर्वप्रधानमन्त्री भ्रष्टचारी हुन् ।

ठ्याक्कै दुई वर्षपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफैले भ्रष्टाचारी करार गरेका प्रचण्डलाई प्रतिनिधिसभा निर्वाचनमा त्यहाँको जनप्रतिनिधि बनाउन प्रस्तावक बनेर गोरखा पुगेका छन् ।

संयोग कस्तो छ भने, बाबुरामले जुन ठाउँमा उभिएर प्रचण्डलाई ९ अर्ब भ्रष्टाचारको आरोप लगाएका थिए, अब उनले त्यही ठाउँमा उभिएर प्रचण्डका लागि मत माग्नुपर्ने भएको छ ।

बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भनि आफैँले आरोप लगाएका प्रचण्डलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले २ वर्षपछि सोही क्षेत्रको सांसद बनाउन चुनावी कमाण्डर बनेका छन् ।

आइतबार प्रचण्डले गोरखा २ मा उम्मेदवारी दर्ता गराए । प्रचण्डको साथमा भट्टराईसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । प्रचण्डको उम्मेदवारी दर्ताका लागि भट्टराई प्रस्तावक र श्रेष्ठ समर्थक बने । दुई बर्षमा बूढी गण्डकीमा धेरै पानी बगे तर प्रचण्डमाथि लगाइएको आरोप अहिलेसम्म कतैबाट पनि पुष्टि हुन सकेको छैन ।

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने नेपाली आहानलाई यसले चरितार्थ गरेको छ । राजनीतिमा बाबुराम र प्रचण्ड एक ठाउँमा उभिनु खासै आश्चर्यको कुरा होइन । तर नैतिकतामा आफैँले भ्रष्टाचारी करार गरेको व्यक्तिलाई त्यही ठाउँको सांसद बनाउन भोट माग्नु चाहिँ आश्चर्यको विषय हो ।

सम्बन्ध विच्छेद भएको ७ वर्षपछि यी दुई शीर्ष नेताबीचको कुम जोडाजोड आफैँमा सुखद कुरा हो । तर गोरखा क्षेत्र नं २ का मतदाता एउटा संकटमा छन् । त्यो के हो भने, दुई बर्ष अघि प्रचण्डलाई ९ अर्ब भ्रष्टाचारको आरोप लगाउने बाबुराम बदमास हुन् वा साँच्चै प्रचण्डले भ्रष्टाचार गरेका हुन् ? त्यो छुट्याउने जिम्मा तत्कालका लागि मतदाताको हातमा आएको छ ।

भट्टराईको त्यो गम्भीर आरोपप्रति आरोपितहरूबाट त्यतिबेला सार्वजनिक रूपमा कसैले पनि प्रतिवाद गरेका थिएनन् । भट्टराईले पनि अहिलेसम्म भ्रष्टाचार गरेको सप्रमाण सम्बन्धित निकायमा उजुरी दिएका छैनन् । उनको अभिव्यक्तिलाई लिएर त्यतिबेला कांग्रेस, एमाले र माओवादीका नेताहरूले राजनीतिक ‘स्टन्ट’ मात्र भएको प्रतिक्रिया दिएका थिए ।

आइतबार प्रचण्डको उम्मेदवारी दर्ता गर्न गोरखा जानुअघि भट्टराईले जीवनको अन्तिम कालखण्डमा प्रचण्डसँग नयाँ अध्याय सुरू भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नै निवासमा प्रचण्डसँग भएको भेटघाट र शान्ति प्रकृयापछि प्रचण्डका बुवा र आफ्नो बुवासँग खिचिएको सामुहिक तस्बिर शेयर गर्दै आफूहरूवीचको सम्बन्ध प्रगाढ बनाउन चाहेको उल्लेख गरेका छन् ।

२०५२ देखि शुरू भएको माओवादी जनयुद्धमा प्रचण्ड सर्वोच्च कमाण्डर थिए । भट्टराई प्रमुख योजनाकार थिए । युद्धदेखि शान्ति प्रकृयामा आउँदासम्म यी दुई शीर्ष नेताबीच सहकार्य र अन्तरविरोध समानान्तर रूपमा अघि बढ्यो ।

संविधानसभा अन्तगर्तको संवैधानिक समितिको सभापति रहेका भट्टराईले २०७२ मा संविधान जारी भएपछि असोज ९ मा पार्टी परित्याग गरेका थिए । आफू अब कहिल्यै माओवादीमा नर्फकने बाचासहित उनले नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोषका साथ नयाँ शक्ति पार्टी गठन गरेका थिए । २०७४ को निर्वाचनमा सर्मनाक हार व्यहोरेपछि उनी संघीय समाजवादी, जसपा हुँदै पुनः प्रचण्डसँग सहकार्य गर्न आइपुगेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनी आगामी निर्वाचनपछि माओवादीसँग पार्टी एकता गर्ने गरी एउटै चुनाव चिन्हबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिन लागेका हुन् ।

गोरखा २ प्रचण्डका लागि कति सहज ?

माओवादी युद्धको उद्गम स्थलसमेत रहेकाले गोरखा प्रचण्डका लागि निकै सुरक्षित मानिएको छ । २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका प्रचण्डले गोरखा २ बाट अत्याधिक मतसहित जित्ने गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डेको दाबी छ ।

‘गोरखा माओवादी युद्धको आधारभूमि भएको क्षेत्र हो । प्रचण्ड राष्ट्रिय नेतासमेत भएकाले उहाँले अत्याधिक मतले विजयी हुनुहुनेछ’, उनले भने, ‘गोरखाली जनता र गोरखाको विकासका लागि प्रचण्डको आगमनले सार्थकता मिल्नेमा हाम्रो विश्वास छ ।’

अघिल्लो निर्वाचनमा माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भट्टराईले ६ हजार ८७२ मतले पराजित गरेका थिए । त्यतिबेला नयाँ शक्तिको अध्यक्षसमेत रहेका उनले ३१ हजार ८०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्रमा अत्याधिक मतसहित माओवादी उम्मेदवार विजयी भएका थिए । भट्टराई सोही क्षेत्रबाट ४८ हाजार मतान्तरले विजयी भएका थिए । २०७० को निर्वाचनमा देशभर माओवादीको सर्मनाक हार हुँदा उनी गोरखा २ बाटै विजयी भए । २०७४ को निर्वाचनमा एमाले–माओवादीबीच गठबन्धन भएपछि उनी कांग्रेसको सहयोगमा सोही क्षेत्रबाट निर्वाचन जितेका थिए ।

यस्तो छ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ११ पालिकामध्ये ९ पालिका प्रमुख माओवादीले जितेको थियो । अघिल्लो निर्वाचनमा ९ पालिका जितेको कांग्रेस योपटक २ पालिकामा सिमित भएको थियो । एमालेले वडाध्यक्षमा चित्त बुझाएको थियो । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा गोरखा २ बाट माओवादीले २२ हजार २५० रहेको छ ।

कांग्रेसको २१ हजार १३६, एमालेको ७ हाजर ९२६, जसपाको ७ हाजर ५०४ र राप्रपाको जम्मा ८७८ मत रहको छ । यस क्षेत्रमा गठबन्धनको जम्मा मत ५० हजार ८९० रहेको छ । तेस्रो स्थानमा रहेको एमालेको मत जम्मा ७ हजार ९२६ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर ४२ हजार ९६४ रहेको छ । आगामी निर्वाचनमा एमालेले भर्खर एमाले प्रवेश गरेका अब्दुस मियाँलाई उम्मेदवार बनाएका छन् । नयाँ मतदाताको सबै मत एमालेलाई गएपनि प्रचण्डको जित सहज देखिन्छ ।

२०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भाग लिएका प्रचण्ड त्यतिबेला काठमाडौं १० र रोल्पा २ बाट अत्याधिक मतसहित विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराह ५ बाट उठेका थिए । काठमाडौं १० बाट सर्मनाक हार व्यहोरेका उनी सिराह ५ मा झिनो मतले विजयी भएका थिए । २०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गरेका प्रचण्डले आफ्नै गृहजिल्ला चितवन ३ बाट विजयी भएका थिए ।

योपटक पनि चितवन ३ बाट नै निर्वाचन लड्ने दाबी गरेका थिए । तर गठबन्धन नेतृत्व दल कांग्रेसभित्र देखिएको आन्तरिक किचलो, विपक्षी एमालेले राप्रपा र जसपासँग चुनावी तालमेलका कारण असुरक्षित देखिएपछि उनी पछि हटेका हुन् । यसअघि तीनपटक निर्वाचनमा भाग लिन लागेका प्रचण्डले योपटक पनि नयाँ निर्वाचन क्षेत्र रोजेका छन् ।