वर्षाले सडक अवरुद्ध हुँदा दशैँ मनाएर फर्किने समस्यामा
बैतडी । लगातारको वर्षाले दशैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।
पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरुद्ध भइरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाएर फर्किने यात्रु घण्टौँसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैँको टीका लगाएर फर्किरहेका छन्। बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए । लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको छ ।
निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरुद्ध हुँदा दसैँ मनाएर फर्किनेसमेत समस्यामा परेका छन् । राजमार्ग क्षेत्रमा पहिराेको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । यस्तै, लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन् ।
बाटोमा सडक अवरुद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौं जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए । बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ ।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरुद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ । (रासस)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया