NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

संसदीय निर्वाचनमा रञ्जुका एजेण्डा : मानसिक स्वास्थ्यदेखि समलैंगिक विवाहका लागि कानुन बनाउनेसम्म

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले मानसिक स्वास्थ्यदेखि समलैंगिक विवाहसम्मका विषयलाई चुनावी एजेण्डा बनाएकी छिन् ।

उनले काठमाडौं क्षेत्र नंबर ५ बाट आफ्नो उम्मेदवारी दिएकी हुन् । यस क्षेत्रमा उनको चुनावी प्रतिस्पर्धा दुई बलिया उम्मेदवार (नेकपा एमालेका इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल)सँग हुनेछ ।

दैनिक जीवनसँग सम्बन्धीत समस्यालाई कानुनमार्फत सम्बोधन गर्न आफूले संसदमा भूमिका निर्वाह गर्ने उनले बताएकी छिन् । वर्तमान समस्यालाई प्राथामकितामा राखेर उनले आफ्नो चुनावी एजेण्डा तय गरेकी हुन् ।

त्यसमा उनले मानसिक स्वास्थ्यका क्षेत्रमा नीति बनाउनेदेखि एकै लिंगबीच हुने विवाह कानुनी मान्यता दिने विषयलाई जोड दिएकी छिन् ।

उनले सार्वजनिक गरेको पहिलो एजेण्डा हो सार्वजनिक प्रशासन र सरकारी सेवाका प्रक्रियाको पुर्नसंसचना ।

आफू संसद भएमा उनले हाम्रा सरकारी सेवाका प्रक्रियामाथि हरेक १०/१५ वर्षमा अध्ययन तथा अवलोकन गरेर त्यसको परिवर्तन या पूर्नसंरचना गर्ने विषय उठान गर्नेछिन् ।

त्यस्तै, उनको अर्को एजेण्डा हो मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय उठान । बढ्दो आत्महत्या र मानसिक स्वास्थ्यसँग समस्यालाई लिएर नागरिकहरू आक्रान्त भइरहँदा यसबारे उपयुक्त नीति छैन । यससँग सम्बन्धित नीति बनाउनमा मद्दत गर्ने उनको दाबी छ ।

लैंगिक तथा अल्पसंख्यकका समस्या पनि सम्बोधन गरिनुपर्ने विषयमा उनको अडान छ । उनीहरूको जीवन सहज हुने कानुन निर्माणको विषय संसदसम्म लैजाने उनकाे वाचा छ ।

ती समुदायका मानिसहरूले कानुनी पहिचान पाउनका लागि पाएको सकसलाई सांसद भएर कानुन निर्माण गर्दै सहयोग गर्ने अठोट उनले गरेकी छिन् । योसँगै समैंगिक विवाहलाई कानुनी मान्यता दिनुपर्ने विषयलाई पनि संसदमा महत्वका साथ उठाउने उनको भनाई छ । २१ औं शताब्दीमा नागरिकको वैक्तिक जीवनलाई अंकुश लगाउन नमिल्ने बताइन् ।

पाँच वर्ष अघि विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाका लागि मेयरको उम्मेदवारी दिँदा  दर्शनाले फोहोरमुक्त र हराभरायुक्त काठमाडौं बनाउनेलगायतका एजेण्डा सार्वजनिक गरेकी थिइन् ।

यसबीचमा पार्टीमा आएको उतारचढावसँगै उनले पार्टी परित्याग गरिसकेकी छिन् ।