रूपन्देही–२ का गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज,विष्णु पौडेललाई सहज
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेको रूपन्देहीको प्रतिनिधिसभा क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवारसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको हो ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले ८ वटा चेक बाउन्स गराएको र कालोसूचीमा परेको व्यहोराको उजुरी परेको थियो ।
उम्मेदवार गुरुङ आफैं अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा ०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै ०७८ मंसिर २१ गते फैसला गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका छ जनालाई विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) बमोजिम जनही रु दुई हजार जरिवानासहित मागदाबीअनुसारको बिगो तिराउने फैसला गरेको थियो ।
निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम गुरुङ र बस्याल निर्वाचन उम्मेदवार हुन अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमका अनुसार योग्यता नपुगेपछि हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी पनि खारेज गरिएको छ । भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले असोज २४ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन नपाउने भन्दै उजुरी दिएका थिए ।
विष्णु पौडेललाई सहज
रूपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार बनाएको छ । यो क्षेत्रका लागि पौडेल चिरपरिचित र स्थापित नेता हुन्। यसअघिका दुई निर्वाचनमा जित हासिल गरिसकेका पौडेल यसपटक विजयको ह्याट्रिक गर्ने दाउमा छन् ।
यसपटक यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीलगायत सत्तागठबन्धनले गुरुङलाई साझा उम्मेदवार खडा गरेकाले पौडेलको मुख्य प्रतिस्पर्धा उनीसँगै हुने ठानिएको थियो । तर गुरुङको उम्मेदवारी खारेज भएसँगै पौडेललाई थप सहज भएको छ ।
एमाले रूपन्देहीका नेताहरू गठबन्धनका उम्मेदवारभन्दा आफ्ना उम्मेदवार पहिलेदेखि नै अघि रहेको र गुरुङको उम्मेदवारी खारेजीले पौडेजको जित सुनिश्चित भएको दाबी गर्छन् ।
नजिकका प्रतिस्पर्धी ठानिएका उम्मेदवारको उम्मेदवारी खारेज हुनु र राप्रपासँग चुनावी तालमेल गरिनुले पनि एमाले नेताले दाबी गरेजस्तै पौडेलका लागि जितको ह्याट्रिक सुनिश्चितजस्तै देखिन्छ ।
रूपन्देही–२ मा १३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता छन् ।


प्रतिक्रिया