NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

शीर्ष १० कम्युनिस्ट नेता : कसैले टिकट नै पाएनन्, कोही चुनावमा उठ्नै मानेनन्

काठमाडौं । २०४८ को प्रतिनिधिसभा निर्वाचनदेखि निरन्तर सत्ता राजनीतिको वरिपरी रहेका राजनीतिक दलका शीर्ष नेताहरू नै योपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । निर्वाचन प्रक्रियाबाट बाहिरिनेमा एमालेका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा रहेका छन् ।

त्यस्तै पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, डा. शिवमाया तुम्वाहाङफे, सीताकुमारी पौडेललगायत नेताहरू छन् । पूर्वउपमहासचिव घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले नै परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी सत्तारुढ दल कांग्रेसबाट शीर्ष नेता डा.रामशरण महत, सीतादेवी यादव, डा. मीनेन्द्र रिजाल, केबी गुरुङ, पूर्वअर्थमन्त्री महेश आचार्य छन् । मीना पाण्डे, डा. अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मालगायत नेताहरू पनि निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।

त्यस्तै सत्ता साँझेदार दल माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायत चुनावी दौडमा छैनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार भएनन् । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पनि निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।

८२५ पदका लागि ५६३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै

मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा समानुपातिकसहित जम्मा ८२५ सदस्यकालागि निर्वाचन आयोगले उम्मेदवारहरूको मनोनयन दर्ताको काम सकिसकेको छ । उम्मेदवारहरू चुनाव चिन्ह लिएर आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता संख्या रहेका छन् । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य१८५ छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा गरी योपटक जम्मा ५ हजार ६३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये २ हजार ४१२ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । ३ हजार २२४ उम्मेदवार प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । योपटक प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार ८६७ र प्रदेशसभा सदस्यका लागि १२७८ मैदानमा भिड्दै छन् ।

प्रतिनिधिसभा सदस्यमा २ हजार १८७ पुरुष उम्मेदवारले भाग लिएका छन् । महिला उम्मेदवारको संख्या जम्मा २२५ जना रहेका छन् । यसैगरी प्रदेशसभा सदस्यका लागि पुरुष उम्मेदवार २ हजार ९४३ रहेकामा महिला उम्मेदवार संख्या जम्मा २८० रहेका छन् । अन्यबाट जम्मा एक जनाको मात्र उम्मेदवारी परेको छ ।

शीर्ष नेता : कसैले टिकट नै पाएनन्, कोही उठ्नै मानेनन्

डा.बाबुराम भट्टराई

माओवादी १० वर्षे युद्धका प्रमुख योजनाकारसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई योपटक प्रतिनिधिसभा सदस्य निर्वाचन प्रकृयाबाट बाहिरिएका छन् । २०६४ को पहिलो संविधानसभादेखि गोरखा २ बाट लगातार निर्वाचन जित्दै आएका उनी चुनावी प्रकृयामै भाग नलिने घोषणा गरे । आफू उम्मेदवार नबनेपनि राजनीतिमा सक्रिय रहने उनले बताएका छन् । भट्टराईको निर्वाचन क्षेत्रमा उनका पूर्वसहकर्मी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाग लिएका छन् । काठमाडौं ७ बाट गठबन्धनको सहयोगमा उनले छोरी मानुषी यमीलाई उम्मेदवार बनाएका छन् ।

लामोसमय माओवादीबाट राजनीतिक गरेका भट्टराईले २०७२ को संविधान बनेपछि असोज ९ गते पार्टी परित्याग गरेका थिए । केही समय वैकल्पिक शक्ति निर्माणमा अलमलिएका उनी २०७३ जेठमा आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे । २०७४ को निर्वाचनमा उनको पार्टीले राष्ट्रिय मान्यता नै नपाएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीसँग विलय भए । २०७७ मा संघीय समाजवादी र राजपाबीच पार्टी एकता भइ जसपा भएपछि उनी संघीय परिषदका अध्यक्ष भएका थिए । जसपा विभाजनसँगै अध्यक्ष उपेन्द्रसँग मतभेद भएपछि असार २९ गते जसपाबाट बाहिरिएका थिए । संसदीय निर्वाचन प्रकृयाबाट बाहिरिने भट्टराईको कदमलाई धेरैले सकारात्मक भनेका छन् ।

नारायणकाजी श्रेष्ठ

माओवादीका वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ पनि योपटक प्रतिनिधिसभा सदस्यमा भाग लिएनन् । २०७४ को निर्वाचनमा श्रेष्ठ गोरखा २ बाट भट्टराईसँग ६ हजार ८७२ मतले पराजित भएका थिए । त्यतिबेला भट्टराईले ३१ हजार ८०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । राष्ट्रिय सभाका सदस्यसमेत रहेका उनी योपटक पनि गोरखा २ बाटै चुनाव लड्न चाहेका थिए । तर सोही क्षेत्रबाट अध्यक्ष आफै निर्वाचनमा उठ्ने भएपछि उनी पछि हटेका हुन् । २०७४अघि उनी माओवादीका समानुपातिक सांसद रहेका थिए ।

अष्टलक्ष्मी शाक्य

एमालेभित्र लामोसमय माधव नेपाल निकट रहेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रभावशाली नेता हुन् । महिला सशक्तिकरणको पक्षमा सामाजिक अन्याय र अत्याचारविरुद्ध संघर्षमा होमिएकी शाक्य आफ्नै क्षमतामा पार्टीको माथिल्लो तहमा पुगेकी हुन् । २०७४ को प्रदेशसभा निर्वाचनपछि उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीका मुख्य दाबेदार थिइन् । तर एमालेभित्र शक्ति संघर्षका कारण ओलीले आफूभन्दा कनिष्ट डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएपछि उनी असन्तुष्ट थिइन् । २०४८ देखि नै संसदीय राजनीतिमा सक्रिय रहेकी उनी अघिल्लो निर्वाचनमा काठमाडौं ८ ख बाट निर्वाचन जितेकी थिइन् । गतवर्ष पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिइ उनी एमालेमै बसेकी थिइन् । वाग्मती प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेकी उनी पार्टी विभाजनकै कारण विश्वासको मत पाउन सकिनन् ।
योपटक काठमाडौं ८ बाट निर्वाचनमा भाग लिन चाहेपनि सो क्षेत्रबाट राजेश शाक्य सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि उनले चुनावमा भाग नलिने घोषणा गरिन् । पछिल्लो समय अध्यक्ष ओलीले निर्वाचनमा भाग लिन दबाब दिएपनि उनी चुनावमा उठ्न मानिनन् ।

युवराज ज्ञवाली

एमालेभित्र सरल र सादगी जीवन विताउने नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली पर्छन् । लामोसमय माधवनिकट रहेर काम गरेका उनी पार्टी विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए । महंगो निर्वाचन प्रणालीप्रति असन्तुष्ट रहेका ज्ञवाली सामान्य व्यक्तिले चुनावी प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र महंगो चुनावी खर्चकाकारण उनी निर्वाचन प्रकृयाबाट पछि हटे । अघिल्लो निर्वाचनमा दाङ ३ बाट उनलाई समानुपातिक सूचीमा राखिएपनि अन्तिमा उनको नाम काटिएको थियो । योपटक सोही क्षेत्रबाट उनी निर्वाचनमा भाग लिने चर्चा चलेको थियो । तर समानुपातिक र प्रत्यक्ष दुवैतर्फ बस्न उनले अस्विकार गरे ।

रामबहादुर थापा

माओवादी युद्धका सैन्य योजनाकारसमेत रहेका एमालेका उपाध्यक्ष रामबहादुर थापा चितवन २ बाट उठ्न चाहेका थिए । स्रोतका अनुसार सोही क्षेत्रका निवर्तमान सांसद कृष्णभक्त पोखरले थापालाई ठाउँ छोड्न नचाहेको बताइएको छ । अघिल्लोपटक एमाले र माओवादीबीच भागबण्डा हुँदा उक्त क्षेत्र एमालेलाई परेको थियो । थापलाई राष्ट्रियसभा सदस्य बनाइयो । योपटक समानुपातिकमा बस्न नचाएपछि ओलीले थापालाई काठमाडौं १० बाट भाग लिन आग्रह गरेका थिए । ओलीको आग्रह उनले अस्वीकार गरे । नेकपा विभाजनपछि ओलीलाई साथ दिएका थापा पछिल्लो समय ओलीसँग असन्तुष्ट रहेका बुझिएको छ । त्यसो त एमालेभित्र भएका पूर्वमाओवादी नेताहरू कोहीपनि खुसी नभएको नेता प्रभु साहले सार्वजनिक गरेका छन् । साहले त पाएको टिकट पनि लत्याएर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वामदेव गौतम

कुनै बेला एमालेभित्र वामदेव गौतमको एक्लौटी हैकम चल्थ्यो । संगठन निर्माणमा कुशल नेता रहेका गौतमले २०४८ देखि प्युठान र बर्दियाबाट संसदीय निर्वाचनमा भाग लिएका थिए । २०७४ मा वामगठबन्धनबाट सामान्य नेतासमेत अत्याधिक मतले विजयी हुँदा उनी पराजित भए । बर्दिया १ बाट निर्वाचनमा भाग लिएका उनी कांग्रेका उम्मेदवार संजय गौतमसँग ७५३ मतले पराजित भएका थिए । आफ्नो पराजयलाई उनले ओलीपक्षको षड्यन्त्र भन्दै आएका छन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा पनि बर्दिया र प्यूठानबाट पराजित भएका थिए ।

नेकपा विभाजपछि ओली र माधव गुट कतै नरहेका उनी अहिले नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष छन् । गठबन्धनको सहयोगमा गौतमले प्यूठान १ बाट निर्वाचनमा भाग लिन चाहेका थिए । तर त्यहाँ राष्ट्रिय जनमार्चाले नछोडेपछि उनले निर्वाचन प्रकृयामै भाग लिएनन् । सत्ता गठबन्धन र एमाले दुवै पक्षलाई निर्वाचनमा समर्थन नगरेका उनले आफ्ना समर्थकलाई मतदानमा स्वविवेक प्रयोग गर्न आह्वान गरेका छन् ।

डा. भीम रावल

एमालेभित्र लामोसमय माधव निकट रहेका भीम रावलले योपटक पार्टीबाट टिकटै पाएनन् । अछाम १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई ओलीले टिकट नै नदिइ माओवादीका नेता झपट बोहरालाई दिएका थिए । १० बुँदे सहमतिका संयोजकसमेत रहेका रावल पार्टी विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए । गत मंसिरमा चितवनमा भएका एमालेको १० औं महाधिवेशनमा रावलले ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनको गतिविधि पार्टीहित विपरित भएको निष्कर्ष निकाल्दै ओलीले टिकट नदिएपछि निर्वाचनमा भागै लिएनन् । १० बुँदे पक्षधर अधिकांक्षले टिकट पाउँदा रावल र भुसालले मात्र टिकट पाएनन् । भुसालले पार्टी पारित्याग गरेपनि उनी एमालेभित्र अन्तसंघर्ष गरी बस्ने निर्णय गरेका छन् । रावल २०४८ देखि नै संसदीय निर्वाचनमा भाग लिँदै आएका नेता हुन् । उनी एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष भएका थिए । सरकारका उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

कृष्णबहादुर महरा

माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरापनि आगामी निर्वाचन प्रकृयाबाट बाहिरिएका छन् । उनी २०६४ देखि दाङ र रोल्पाबाट लगातार निर्वाचित सांसद हुन् । अघिल्लो निर्वाचनमा दाङ २ बाट भारी मतले विजयी भएका उनी योपटक सोही क्षेत्रबाट उठ्न चाहेका थिए । दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेलले भाग लिएका छन् । माओवादीको तर्फबाट रेखा शर्मा प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि महरालाई दाङ २ बाट समानुपातिक सूचीमा राखेपनि पछि हटाइएको थियो । उनले आफू विरामी भएका कारण निर्वाचन प्रकृयामा भाग नलिएको भन्दै पार्टीका उम्मेदवार शर्मालाई जिताउन आह्वान गरेका छन् । माओवादीभित्र सबैभन्दा बढी फाइदा लिने नेतामध्ये महरा एक हुन् ।

अग्निप्रसाद सापकोटा

२०६४ को संविधानसभा निर्वाचनदेखि लागतार निर्वाचन जित्दै आएका सभामुख अग्निप्रसाद सापकाटोले योपटक अप्रत्यासित रुपमा निर्वाचनमा भाग नलिने घोषणा गरे । सापकोटाले २०६४, २०७० र २०७४ को निर्वाचन सिन्धुपाल्चोक १ बाट निर्वाचनमा विजयी भएका थिए ।

अहिले उनको क्षेत्रमा भतिजा माधव सापकोटा उम्मेदवार भएका छन् । सापकोटाको निर्णयप्रति सिन्धुपाल्चोककै नेता तथा कार्यकर्ताहरू असन्तुष्ट रहेका छन् । जिल्लामा एक से एक क्षमतावान नेता भएपछि उनले आफन्तलाई टिकट दिएको आरोप लागेको छ । सापकोटाले उम्मेदवार नबन्ने निर्णय पुस्तान्तरणका लागि भन्दापनि भतिजाको दबाबबाट सिर्जना भएको समस्य भएको जिल्लाका एक नेताले बताएका छन् ।

‘बाहिरबाट हेर्दा उहाँले पद त्याग गरेर पुस्तान्तरणका लागि सहजीकरण गरेको जस्तो देखिन्छ’, ती नेताले भने, ‘वास्तवमा भतिजाको दबाब थेक्न नसकेपछि उनले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।’

हरिबोल गजुरेल

माओवादीभित्र प्रचण्डका विश्वासपात्र रहेका सिन्धुलीका नेता हरिबोल गजुरेल योपटक निर्वाचनमा भाग लिएनन् । गठबन्धनको भागबण्डामा सिन्धुली १ कांग्रेस र २ माओवादीको भागमा परेको थियो । गजुरेले दुवै क्षेत्रबाट सिफारिस भएका थिए । अन्तमा जिल्ला इन्चार्ज राजन दाहालले पार्टीबाट टिकट पाए । २०६४ देखि माओवादीबाट लगातार निर्वाचन जित्ने नेतामध्ये गजुरेल पनि एक हुन् । निर्वाचन प्रकृयाबाट बाहिरेपछि नेतृत्वसँग उनी असन्तुष्ट छन् । उम्मेदवार नभएको विषयमा जिज्ञासा राख्दा उनले यसबारे आफूलाई केही थाहा नभएको बताए ।

‘टिकट दिने विषयमा मलाई केही थाहा छैन । अध्यक्षज्यूलाई थाहा होला । उहाँलाई नै सोध्नोस्’, उनले भने । स्रोतका अनुसार जिल्लामा दाहालको दबदबा बढेकाले गजुरेल पछि हट्न बाध्य भएको बुझिएको छ ।