NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

३० वर्ष मुनिकालाई चुनौती दिँदै प्रधानमन्त्री बन्ने दाउमा ७० कटेका उम्मेदवारहरू

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयपत्र दर्ता गरी निर्वाचन आयोगले निर्वाचन चिन्हसमेत प्रदान गरिसकेको छ । उम्मेदवारहरू आ–आफ्ना चुनाव चिन्ह लिएर यतिबेला जनताका घरदैलो कार्यक्रमा व्यस्त छन् । अघिल्ला निर्वाचनमा जस्तै योपटक पनि दलगत र स्वतन्त्र गरी सबैभन्दा कान्छा र सबैभन्दा पाका उमेरका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३० वर्षमुनिका उम्मेदवारको संख्या जम्मा एक सय ९५ रहेका छन् । ७० वर्षमाथिका उम्मेदवारको संख्या जम्मा ११० जना रहेका छन् । नेपालको कानुन अनुसार सुरक्षा भत्ता खाने उमेर ६८ वर्ष तोकिएको छ । यसको अर्थ सक्रिय र उर्जाशिल उमेर सकिएकाले सरकारले नै जेष्ठ नागरिकको सुरक्षाका लागि भत्ताको व्यवस्था गरेको हो ।

तर प्रतिनिधिसभाका उम्मेदवारहरूको तथ्याङ्क हेर्दा ३० वर्षमुनिका सक्रिय र उर्जाशिल उमेर समुहका हाराहारीमै जेठा उम्मेदवारहरू उल्लेख्य मात्रमा देखिन्छन् । भत्ता पाउने उमेर ६८ र ६९ वर्ष उमेर समुहका उम्मेदवारलाई यथावत राखि ७० वर्षमाथि उमेर समूहका उम्मेदवार ११० जना रहेका छन् । ती व्यक्ति २०४८ देखि कुनै न कुनै रुपमा लगातार संसदमा पुगिसकेका छन् । यही उमेर समुहका उम्मेदवारहरूमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री र पटक–पटक सांसद भइसकेका व्यक्ति पर्छन्।

प्रधानमान्त्रीसमेत रहेका डडेलधुराबाट कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । ५ पटक प्रधानन्त्री भइसकेका उनी आगामी निर्वाचन जितेर ७७ वर्षको उमेरमा छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । उनका ज्योतिषिले देउवालाई सातौं पटक प्रधानमन्त्री बन्ने योग रहेको उनी सगर्व बताउँदै आएका छन् । ७८ वर्ष उमेरका पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली ७० वर्षका भइसकेका छन् । उनी पनि आगामी निर्वाचन जितेर प्रधानमन्त्री हुने दाउमा छन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ६९ वर्षका भइसकेका छन् । उनी रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुर ८० वर्षको उमेरमा महोत्तरी ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सबैभन्दा जेष्ठ सदस्य रहेका माओवादीका उम्मेदवार महेन्द्रराय यादव सर्लाही ३ बाट ८५ वर्षको उमेरमा प्रतिस्पर्धा गर्दैछन् ।

योपटकको निर्वाचनमा ९९ वर्षका स्वतन्त्र उम्मेदवार टिकादत्त पोखरेलले सबै उमेर समुहलाई चुनौती दिएका छन् । उनले गोरखा २ बाट माओवादीको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभातर्फकाे उम्मेदवार बन्न योग्य उमेर २५ हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा समानुपातिकसहित जम्मा ८२५ सदस्यका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको मनोनयन दर्ताको काम सकेर मतपत्र छाप्ने तयारीमा जुटेको छ ।

अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि निर्वाचनमा होमिएका उम्मेदवार युवादेखि बुढासम्म छन् । प्रतिनिधिसभाका जेठा उम्मेदवार गोरखा २ का ९९ वर्षिया टिकादत्त पोखरेल छन् भने सबैभन्दा कान्छा उम्मेदवार २५ वर्षका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा गरी योपटक जम्मा ५ हजार ६३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये २ हजार ४१२ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । ३ हजार २२४ उम्मेदवार प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । योपटक प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार ८६७ र प्रदेशसभा सदस्यका लागि १२७८ मैदानमा भिड्दै छन् ।

२५ देखि २९ उमेर समुहका प्रतिस्पर्धी उम्मेदवारहरू

यो निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवारहरूमा झापा क्षेत्र न. १ र ५ बाट २५ वर्षका विकास राजवंशी र तिर्थेश्वर चौधरी चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, २५ वर्षीय सुनिल कुमार शाह मोरङ २ मा उम्मेदवार छन् । सप्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका निंरजनप्रसाद कुशवाह छन् ।

धनुषा २ मा स्वतन्त्रबाट बद्रीप्रसाद फरकार यादवले उम्मेदवारी दिएका छन् । ३ मा पनि स्वतन्त्रकी पुजा साह, मात्रिकाप्रसाद दास र ज्योतिकुमारी साहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र न. ४ मा पनि स्वतन्त्रबाट नै २५ वर्षका राम अचल यादव, दिपेशकुमार यादव र रामगुण यादव उम्मेदवार बनेका छन् ।

यसैगरी, झापा ४ मा २६ वर्षका किरण श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । २६ वर्षे कमल राजवंशी मोरङ ३ मा स्वतन्त्रबाट उठेका छन् । मोरङ ४ मा स्वतन्त्रका कुवेत मियाँ उम्मेदवार बनेका छन् । सोलुखुम्बुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी लामु शेर्पाले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै सिराह एकमा पनि २६ वर्षीया ओम सिंह उम्मेदवार रहेका छन् । धनुसा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द्रशेखरकुमार यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै ३ र ४ बाट स्वतन्त्रका कृष्णा यादव र अनिककुमार चौधरी उम्मेदवार छन् । यी सबैको उमेर २६ वर्ष रहेको छ ।

मोरङ ४ र ६ मा २७ वर्षीया पदम कार्की र सुशील खड्का स्वतन्त्रबाट उठेका छन् । सुनसरी २ मा स्वतन्त्रका सुरेश कुमार मेहताले उम्मेदवारी दिएका छन् । सिराह ३ र ४ बाट पनि स्वतन्त्रका सुमित श्रेष्ठ र सुरेन्द्रकुमार ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी धनुषा ४ मा २७ वर्षका महेशकुमार यादव र कृष्णाकुमार महतोले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

२८ वर्षका बिक्रम लिम्बुले मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट ताप्लेजुङ क्षेत्र न. १ मा उम्मेदवारी दिएका छन् । २८ वर्षका अर्का उम्मेदवार मनकुमार ताप्मादेनले राष्ट्रिय जनमुक्ति पार्टीबाट झापा ४ मा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सुनसरी २ बाट क्षवणकुमार मेहताले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सप्तरी १ र ४ बाट स्वतन्त्रका सर्वेशकुमार नायक र सुरेशकुमार चौधरी थारुले उम्मेदवारी दिएका छन् । यसैगरी, सिरहा १ मा मौलिक जरोकिलो पार्टीका सुरेशकुमार कामैत र सिराह २ मा स्वतन्त्रका सन्तोषकुमार यादव उम्मेदवार बनेका छन् । धनुषा ३ बाट २८ वर्षका त्रिदेवकुमार मिश्र स्वतन्त्रमा उठेका छन् ।

त्यस्तै, झापा २ मा २९ वर्षीया अर्पण बस्नेत स्वतन्त्रबाट उम्मेदवार छन् । गोरखा २ बाट एमालेका २९ वर्षीय उम्मेदवार अब्दुस मियाँ उठेका छन् । उनले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका गठबन्धनका उम्मेदवार प्रचण्डसँग प्रतिस्पर्धा गर्दैछन् । धनकुटा क्षेत्र न. १ मा एकीकृत शक्ति नेपालका रमेश राई र मोरङ १ मा फूलकुमारी पण्डित राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टीबाट मोरङ ३ मा २९ वर्षका कमल लिम्बु , सुनसरी २ र ४ मा स्वतन्त्रका उम्मेदवार मजोज कुमार मेहता र धिरज वर्मा उम्मेदवार बनेका छन् । सिराह २ मा स्वतन्त्रका दीपककुमार यादव छन् । धनुषा ४ मा स्वतन्त्रका नै २९ वर्षीया प्रशुरामकुमार यादव रहेका छन् । महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी पुजा घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन् ।

वृद्ध भत्ता कार्ड बोकेर संसद भवन प्रवेश गर्ने तयारीमा रहेका उम्मेदवार

प्रतिनिधिसभाका सबैभन्दा जेठा उम्मेदवार गोरखा २ का ९९ वर्षीय टीकादत्त पोखरेल छन् । नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) सँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, अर्का जेठा उम्मेदवारमा ८७ वर्षका युवराम गौतम राप्रपाबाट तेह्रथुम १ मा उम्मेदवार छन् ।

८५ वर्षका महिन्द्रराय यादव माओवादी केन्द्रबाट सर्लाही ३ मा उम्मेदवार छन् । त्यस्तै ८५ वर्ष उमेरका विष्णुप्रसाद ढकालले काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । बारा १ मा ८१ वर्षका कृष्णराज गिरी स्वतन्त्रबाट उम्मेदवार छन् । यस्तै, कास्की ३ मा ८४ वर्षका पशुपतीनाथ तिमिल्सिना स्वतन्त्र उम्मेदवार छन् । डडेलधुरा १ बाट कर्णसिंह रावल पनि स्वतन्त्रमा छन् ।

संखुवासभा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ७९ वर्षका टिकाराम शाहीले उम्मेदवारी दिएका छन् । अर्का ७९ वर्षीय केशबहादुर थापाले कपिलवस्त्ु ३ मा मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका छन् ।

यस्तै, झापा १ र ३ बाट जनता समाजवादी पार्टी नेपालका ७० वर्षीय वीरबहादुर राई र जनता समाजवादी पार्टीकी राधा थापा उम्मेदवार छन् । झापा ५ मा नेकपा एमालेका केपी ओली छन् । धनकुटा १ मा राप्रपाका कुमारबहादुर थापा, महोत्तरी २ मा तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह, सर्लाही १ र रौतहट ३ मा स्वतन्त्रका बेनीबहादुर कार्की र महेन्द्रप्रसाद चौधरी, बारा ३ मा स्वतन्त्रका दिनेश्वर झा, ललितपुर ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार लिम्बु उम्मेदवार बनेका छन् ।

त्यसै गरी, काभ्रेपलाञ्चोक १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्दराज गिरी, सिन्धुपाल्चोक १ मा नेकपा माक्र्सवादी लेनिनवादीका कृष्णबहादुर ठकुरी, तनहुँ १ मा राष्ट्रिय जनमुक्त पार्टीका हस्तबहादुर किचिम थापा र स्याङजा १ मा स्वतन्त्रबाट लोकबहादुर दमैले उम्मेदवारी दिएका छन् ।

सुनसरी २ मा ७१ वर्षीय मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर गुरुङ र ३ मा स्वतन्त्रका सहिमुिद्धन मियाँले उम्मेदवारी दिएका छन् । यस्तै, चितवन ३ मा जगन्नाथ पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । स्याङजा २ मा स्वतन्त्रबाट चिरञ्जिवी पाण्डे, नवलपरासी पूर्व १ मा राप्रपाका डा. मोहनीलाल भुसाल, रुपन्देही ३ मा राप्रपा दीपक बोहरा उम्मेदवार छन् ।

७२ वर्षका एकीकृत समाजवादी पार्टीका झलनाथ खनाल इलाम १ बाट उम्मेदवार बनेका छन् । यस्तै अन्य ७२ वर्षका उम्मेदवारमा झापा ३ बाट नेपाली कांगे्रसका कृष्णप्रसाद सिटौला, मोरङ ६ मा नेपाली कांग्रेसका डा.शेखर कोइराला र सप्तरी ४ मा जनमत पार्टीका सुकदेवप्रसाद शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुर १ मा ७३ वर्षका नेपाली कांग्रेसका डा. नारायण खड्काले उम्मेदवारी दिएका छन् । यस्तै, सप्तरी १ मा जनता समाजवादी पार्टी, नेपालका नवल किसोर साह सुडी र २ मा नेपाली कांग्रेस (बीपी) का चिरञ्जिबीलाल देवले पनि उम्मेदवारी दिएका छन् । सप्तरी ४ बाट स्वतन्त्रका शंकरलाल चौधरी, धनुषा २ मा जनता समाजवादी पार्टी नेपालका ७३ वर्षका आनन्द यादव, काठमाडौं ९ मा स्वतन्त्रबाट लक्ष्मणसिंह खड्का छन् । चितवन २ मा स्वतन्त्रका जगदीश अर्याल, तनहुँ १ बाट स्वतन्त्रका गोविन्दराज जोशी र मुस्ताङ १ मा राप्रपाका मानबहादुर विश्वकर्मा उम्मेदवार छन् ।

७४ वर्षका गोकुलप्रसाद पोखरेल, मोरङ ४ बाट स्वतन्त्र उम्मेदवार छन् । यस्तै, अर्का ७४ वर्षका उम्मेदवारमा सिराह १ मा नेपाली कांग्रेसका पदमनारायण चौधरी बारा ४ मा नेपाल सद्भावना पार्टीका खेदु महतो धानुक र रुपन्देही १ मा स्वतन्त्रबाट विष्णुप्रसाद चौधरी कुर्मी रहेका छन् । बाँके २ मा नेकपा माक्र्सवादी(पुष्पलाल) बाट खलुप्रसाद थारुले उम्मेदवारी दिएका छन् ।

यसै गरी मोरङ ३ बाट ७५ वर्षका कृष्ण राई स्वतन्त्रबाट उठेका छन् । सिराह १ बाट अर्का ७५ वर्षीय हरिराम दास राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उठेका छन् । पर्सा १ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्ण रहेका छन् । पर्सा ४ मा एमालेका जालिम मियाँ मंसुरीले उम्मेदवारी दिएका छन् । नुवाकोट २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र कपिलवस्तु १ मा नेकपा (माक्र्सवादी लेनिनवादी) युवराजशर्मा आर्चायले उम्मेदवारी दिएका छन् ।

मोरङ ५ मा ७६ वर्षका राप्रपाका रेवतबहादुर थापा छन् । ७६ वर्षका भवनाथ शर्मा घिमिरे रौतहट ४ मा स्वतन्त्र उम्मेदवार बनेका छन् । स्याङजा २ बाट राप्रपा लालगोपाल अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, ७७ वर्षीय नेपाली कांग्रेसका शेरबहादुर देउवाले डडेलधुरा १ बाट, सूर्यबहादुर थापाले कपिवस्तु २ मा मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार छन् । नेकपा एमालेका अर्का ७७ वर्षीय मंगलप्रसाद गुप्ताले कपिलवस्तु ३ बाट उम्मेदवारी दिएका छन् ।

रौतहट २ मा राप्रपाका ७८ वर्षीय महिन्द्र साह तेली र कास्की २ मा स्वतन्त्रका तारानाथ सुवेदी उम्मेदवार छन् । पर्सा ४ मा ७८ वर्षका हेतुला मिँया मंसुरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् ।

महोत्तरी ३ मा ८० वर्षका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर छन् । पर्सा १ मा ८० वर्षका ह्दयनारायणप्रसाद बरै स्वतन्त्रबाट उठेका छन् । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।