यी हुन् संसदको ‘गेट पास’ खोज्ने वृद्धाभत्तायोग्य शीर्ष नेताहरू
काठमाडौं । विश्वविख्यात दार्शनिक एरिस्टोटलले भनेका थिए, ‘राजनीतिक विद्रोह धनी र गरिबबीचको द्वन्द्वले होइन, बाबु–छोराबीचको द्वन्द्वले हुन्छ ।’ यो भनाई नेपाली राजनीति वृत्तमा सदावहार साबित भएको छ । युवापुस्ताहरूको बुबापुस्ताहरूसँग राजनीतिमा स्थान दिने विषयमा अहिलेसम्म पनि द्वन्द्व कायम छ ।
२०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा शेरबादुर देउवा ४९ वर्षका थिए । अहिले पनि उनी प्रधानमन्त्री छन् । ०४६ मा बहुदल स्थापना भएपछि भएको पहिलो आम निर्वाचनमा भाग लिँदा उनको उमेर ४५ वर्षको थियो । त्यसयता डडेलधुराबाट लगातार छैटौंपटक प्रतिनिधिसभा सदस्य जितेका उनी अहिले सातौंपटक चुनावी मैदानमा उत्रिएका छन् ।
उमेरले ७७ वर्ष लागेका देउवा मंसिर ४ को निर्वाचनपछि पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् । संसदीय राजनीतिमा प्रवेश गरेको ३१ वर्षमा उनी मुलुकको पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । सरकारले निर्धारण गरेको सामाजिक सुरक्षाभत्ता पाउने उमेर ६८ वर्ष छ । सरकारले उनलाई आराम गर्न दिएको समयको हिसाब गर्ने हो भनेपनि देउवाको हकमा यो समय झण्डै १० वर्ष वितिसकेको छ ।
यसैगरी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उमेरले ७१ वर्षका भएका छन् । पार्टीकै आन्तरिक निर्वाचनमा ७० वर्ष उमेर हद राखेर अन्य दललाई चुनौती दिएका उनी विधानको छिद्र प्रयोग गरी गतवर्ष पुनः अध्यक्षमा चयन भए । दुईपटक प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले पुनः भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । उनी २०४८ देखि लगातार झापाबाट संसदीय राजनीतिमा सक्रिय छन् । ओलीले २०६४ को बाहेक सबै निर्वाचन जित्दै आएका छन् ।
त्यस्तै पूर्वप्रधनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले ६९ वर्षका भएका छन् । उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य बन्दा उनको उमेर ३८ वर्षको थियो । २०५१ देखि नेपाल काठमाठौं र रौतहटबाट संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै निर्वाचन जित्दै आएका छन् । उमेरले ७३ वर्ष पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आगामी निर्वाचन इलाम १ बाट भाग लिएका छन् । उनले २०५६ को निर्वाचनबाहेक सबै निर्वाचन जितेका छन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम नामावलीहेर्दा ६८ वर्षमाथिका उम्मेदवारहरूको संख्या १२० जना रहेका छन् । माथि उल्लेख गरेका शीर्ष नेतालगायतलाई स–सम्मान बिदा गर्नुपर्ने लहर चलिरहेको अवस्थामा वृद्धभत्ता पाउने उमेरका नेताहरू नै चुनावी मैदानमा सक्रिय छन् ।
सरकारले २०७९/८० को बजेट भाषणबाट सुरक्षा भत्ता लिने उमेर ६८ तोकेको छ । उत्त उमेरसमूहका व्यक्तिहरूलाई सरकार आफैंले सक्रिय र उर्जाशिल उमेर सकिएको भन्दै जेष्ठ नागरिकको सुरक्षाका लागि भत्ताको व्यवस्था गरेको हो । तर, सरकारमा रहेर आफैंलाई उर्जाशिल उमेर सकियो भन्दै करार गर्नेहरूले नै राज्यसत्ताको चाबी आफ्नै हातमा कसेर राखेका छन् ।
आसन्न चुनावमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने ६८ वर्षदेखिका उम्मेदवारमा शिर्ष नेता माधवकुमार नेपालदेखि केपी शर्मा ओली, महन्थ ठाकुर, झलनाथ खनाल र प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा छन् । निर्वाचनपछि पनि यी नै पात्रहरू सांसद, मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति बन्ने दाउमा छन् ।
निर्वाचनमा उम्मेदवार बन्नका लागि संविधानले २५ वर्ष उमेर तोकेको छ । तर कुन उमेरमा राजनीति विश्राम लिनेभन्नेमा संविधानले केही बोलेको छैन । कतिपटक सरकार प्रमुख बन्न पाउने भन्नेबारे पनि संविधान मौन छ । संवैधानिक रूपले २५ वर्षमाथिका सबै उमेर समूहले निर्वाचनमा भाग लिन पाउँछन् ।
पुस्तान्तरण र नेतृत्व विकासमा सहजीकरण गर्ने हो भने राजनीतिमा नैतिकताको विषय पनि महत्वपूर्ण कडिको रुपमा लिन सकिन्छ । पाटक–पटक राज्य सत्तामा बसेका जेष्ठ नागरिक उमेरका शीर्ष नेताहरू संरक्षक रहेर आ–आफ्ना पार्टीका योग्य र क्षमतावान युवाहरूलाई नेतृत्व विकासको अवसर दिन सकेमा त्यसले भावी राजनीतिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । त्यसका लागि संविधान संशोधन गरी दुई कार्यकालको व्यवस्था गर्न सकिन्छ । आफूले खाइपाइ आएको सुविधा हटाउन शीर्ष नेताहरू नै तयार नदेखिँने हुँदा आगामी दिनमा पनि यो मुद्दा बहसमै सिमित हुने देखिन्छ ।
राजनीतिज्ञको हकमा उमेरहदबारे विश्वमै त्यस्तो व्यवस्था नभएकाले नेपालको हकमा यो व्यवस्था लागु हुन्न भन्ने विषय जटिल नै छ । राज्यव्यवस्थाको चक्रअनुसार जीवनलाई ढाल्ने हो भने भने ६८ वर्ष स्वविवेकमा ‘रिटायर’ जीवन बाँच्नुपर्ने हो । तर, यो उमेरसमूहका ंनेताहरू नै संसद भवनको गेट पास लिन चुनावी मैदानमा उत्रिएका छन् । पुस्तान्तरणको आवाज उठाउँदै आएका युवाहरूको लागि शीर्ष नेताहरूको व्यवस्थापन ठूलो चुनौती देखिएको छ ।
वृद्धभत्ता लिने उमरका शीर्ष नेता को–को छन् ?
आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको नामावली अनुसार आगामी चुनावमा संसद्को गेट पास खोज्ने दौडमा रहने दलका शीर्ष नेताहरूमा सबैभन्दा जेठा उम्मेदवार माओवादीका महेन्द्रराय यादव रहेका छन् । सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको उमेर ८५ वर्षको रहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर छन् । उनीहरू दुवैको उमेर ८० वर्ष रहेको छ । केसी बागलुङ १ बाट उम्मेदवारी दिएका छन् भने ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट ।
त्यस्तै अर्का जेठा उम्मेदवार हुन् कांग्रेस नेता रामचन्त्र पौडेल । ७८ वर्षीय पौडेलले तनहुँ १ बाट उम्मेदवारी दिएका छन् । उनकै सहयात्री तथा प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवा ७७ वर्षका भए । उनी सातौंपटक डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ७२ वर्षका भए । उनले इलाम १ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णप्रसाद सिटौला ७२ वर्षका भए भने नेता डा. नारायण खड्का ७१ वर्षका भए । सिटौलाले झापा ३ बाट उम्मेदवारी दिएका छन् । खड्काको उदयपुर १ बाट उम्मेदवारी रहेको छ ।
त्यस्तै, मोरङ ६ बाट उम्मेदवारी दिएका कांग्रेस नेता शेखर कोइराला पनि ७२ वर्षका भए । सुनसरी ३ बाट उठेका कांग्रेस नेता विजयकुमार गच्छादार र मोरङ २ बाट उम्मेदवारी दिएकी सुजाता कोइराला पनि ६८ वर्षका छन् ।
काठमाडौं ६ बाट उम्मेदवारी दिने कांग्रका नेता भीमसेनदास प्रधान र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ६९ वर्षका भए । प्रतिनिधिसभाका सबैभन्दा जेठा उम्मेदवार भने गोरखा २ का ९९ वर्षीय टीकादत्त पोखरेल छन् । नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) सँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, अर्का जेठा उम्मेदवारमा ८७ वर्षका युवराम गौतम राप्रपाबाट तेह्रथुम १ मा उम्मेदवार छन् ।
त्यस्तै ८५ वर्ष उमेरका विष्णुप्रसाद ढकालले काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । बारा १ मा ८१ वर्षका कृष्णराज गिरी स्वतन्त्रबाट उम्मेदवार छन् । यस्तै, कास्की ३ मा ८४ वर्षका पशुपतीनाथ तिमिल्सिना स्वतन्त्र उम्मेदवार छन् । डडेलधुरा १ बाट कर्णसिंह रावल पनि स्वतन्त्रमा छन् ।
संखुवासभा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ७९ वर्षका टिकाराम शाहीले उम्मेदवारी दिएका छन् । अर्का ७९ वर्षीय केशबहादुर थापाले कपिलवस्तु ३ मा मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका छन् ।
रौतहट २ मा राप्रपाका ७८ वर्षीय महिन्द्र साह तेली र कास्की २ मा स्वतन्त्रका तारानाथ सुवेदी उम्मेदवार छन् । पर्सा ४ मा ७८ वर्षका हेतुला मिँया मंसुरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । पर्सा १ मा ८० वर्षका ह्दयनारायणप्रसाद बरै स्वतन्त्रबाट उठेका छन् ।


प्रतिक्रिया