NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तेह्रथुममा ६४ वर्षीय सुब्बा र ४६ वर्षीया सीताबीच कस्तो होला भिडन्त ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुममा पुराना र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले नयाँ पुस्ताका युवा उम्मेदवारहरुलाई अघि सारेको छ । एमालेले फेरि पनि पटक–पटक जिल्लाको नेतृत्वमा निर्वाचित भएर परीक्षण भइसकेका नेताहरुलाई उम्मेदवारमा अघि सारेको छ ।

नेकपा एमालेले जिल्लाबाट प्रतिनिधिसभा सदस्यकालागि ६४ वर्षे विजय सुब्बालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी ४६ वर्षे युवा नेता सीता गुरुङ चुनावी मैदानमा उत्रिएकी छिन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड छ । गीतसंगीतमा राम्रो दख्खल भएका सुब्बा जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा पनि चिनिन्छन् । तर उनले केन्द्रीय राजनीतिमा भएको पकडलाई जिल्लाको विकासमा खर्चिन भने सकेनन् । विगतमा यहीबाट दुई पटक चुनाव जितेपनि जिल्लाको लागि उनको सम्झनायोग्य योगदान भने केही पनि छैन ।

०४८ र ०५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका सुब्बा बीचमा एमाले छोडेर संघीय समाजवादीतिर लागेका उनी ०७१ मा फेरि एमालेमै फर्किएका थिए । जिल्लाको राजनीतिमा करिब २० वर्षदेखि गुमनाम बनेका सुब्बालाई अहिले फेरि एमालेले उम्मेदवार बनाएको छ । तर एमालेकै पूराना कार्यकर्ताले उनलाई अवसरवादी नेताका रूपमा चित्रण गर्छन् । ०७४ मा भने उनी समानुपातिकबाट सांसद बनेका थिए । उनलाई पहुँचमा भएपनि जिल्लाको लागि काम गर्न नसकेको र चुनाव लड्नैमात्रै जिल्ला आउने गरेको आरोप छ ।

कांग्रेसले भने यसपटक पनि अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी सीता गुरुङलाई उठाएको छ । केन्द्रीय राजनीतिमा उनको पनि कमजोर पकड होइन । उनी कांग्रेस सभापति तथा हाल प्रधानमन्त्री शेरबहादुर देउवानिकट गुरुङ ०६४ र ०७० मा निरन्तर समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसकेकी छिन् । सुब्बा जिल्लाको राजनीतिमा गुमनाम हुँदा गुरुङले जिल्लामा गरेका कामका कारण उनी जिल्लाकै आशालाग्दा नेतामध्ये एक हुन् । जिल्लामा उनको विकासप्रेमी नेताको परिचय बनेको छ ।

हाल कांग्रेसको तेस्रो पटक केन्द्रीय सदस्य रहेकी गुरुङ ०७४ को चुनावमा बामगठबन्धनका उम्मेदवार खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । त्यसबेला बामगठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र यसपटक उनको साथमा छ । जिल्लामा पछिल्लो दशकमा सबैभन्दा धेरै विकासे योजना भित्राउने नेताकोरुपमा रहेकी गुरुङले मध्यपहाडी लोकमार्गलाई जिल्लाका छमध्ये पाँच पालिका भएर निर्माण गर्न मुख्य भूमिका खेलेको दाबी गर्छिन् । सडक, पुल पुर्वाधार, खानेपानी र विद्युतीकरणमा गुरुङको योगदान रहँदै आएको छ । तेह्रथुमे जनताले जनमत दिएर काम गर्ने मौका दिए आफुसँग जिल्लाको समुन्नतिका लागि थुप्रै योजनाहरु रहेको उनको दाबी छ । त्यसो त सुब्बाले पनि कमजोर दाबी भने गरेका छैनन् ।

पटक-पटक चुनाव जितेरै सांसद भएपनि एमालेमा मन्त्री बन्ने अवसर नपाएका सुब्बाले अहिले पनि आश्वासन भने उत्तिकै बाँडिरहेका छन् । एमालेले ०१५ र ०६४ बाहेकका सबै आमनिर्वाचन जितेपनि एकपटक पनि मन्त्री नपाएको जिल्ला हो तेह्रथुम । यहाँबाट चुनाव जितेका खापुङ एकवर्ष अघि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेपछि अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । गठबन्धन सरकारको मन्त्री रहेका खापुङ पनि यसपटक कांग्रेसकी गुरुङकै लागि भोट मागिरहेका छन् । ०७४ मा खापुङ र गुरुङ नै प्रतिस्पर्धी थिए ।

प्रदेशसभातर्फ पनि उस्तै अवस्था छ । एमालेले पटक(पटक मौका पाएर पनि लोकप्रिय काम गर्न नसकेका पूराना नेताहरुलाई उठाएको छ भने सत्ता गठबन्धनबाट युवा र जुझारु नेताहरु उम्मेदवार छन् । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि यहाँ रोचक प्रतिस्पर्धा छ ।

प्रदेशसभा-१ मा नेपाली कांग्रेसका ४४ वर्षे सन्तोष सुब्बा उम्मेदवार छन् भने एमालेले ६५ वर्षे किशोरचन्द्र दुलाललाई उम्मेदवार बनाएको छ । बाबु(छोरा पुस्ताका दुलाल र सुब्बाबीच यहाँ रोचक प्रतिस्पर्धा देखिन्छ ।

तत्कालिन जिल्ला विकास समितिको सभापति रहेका दुलाल हाल एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य छन् । पटक(पटक रहर गर्दा पनि एमालेको जिल्ला अध्यक्षसमेत हुन नसकेका दुलाल निरन्तर राजनीतिमा सक्रिय त छन् । तर मौका पाउँदा समेत लोकप्रिय काम गर्न नसकेका कारण जिल्लामा उनको पक्षमा जनलहर भने छैन ।

उनीसँगै मैदानमा उत्रिएका कांग्रेस नेता सुब्बा भने नयाँ अनुहार हुन् । अहिलेसम्म पार्टी राजनीतिमा लोकप्रिय रहेका सुब्बा अब जनप्रतिनिधि बनेर जिल्लाको सेवा गर्ने दाबी गरिरहेका छन् । हाल कांग्रेस महामन्त्री गगनकुमार थापासँग निकट मानिने सुब्बा महासमिति सदस्य हुन् । उनी यसअघि कांग्रेसको जिल्ला सचिव र युवा भ्रातृ संस्था नेपाल तरुण दलको दुई पटक अध्यक्ष भएर काम गरिसकेका युवामाझ लोकप्रिय नेता हुन् ।

प्रदेशसभा-२ मा पनि बाबु-छोरा पुस्ताबीच प्रतिस्पर्धा

प्रदेशसभा-२ मा पनि बाबु(छोरा पुस्ताकै उम्मेदवार मैदानमा छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष ६८ वर्षे तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ४० वर्षे दुर्गाप्रसाद चापागाईं उम्मेदवार छन् । कन्दङवा र चापागाईं दुवै एउटै गाउँका छिमेकीसमेत हुन् ।

तर कन्दङवा पटक(पटक अवसर पाएपनि देखिने गरी विकास गर्न नसक्ने नेताकोरुपमा चिनिन्छन् भने चापागाईं उदाउँदो भविष्यकोरुपमा परिचित छन् । केन्द्रीय नेतृत्वसँग राम्रो पकड बनाएका चापागाईंले जिल्लाको विकास निर्माणमा राम्रो योगदान पुर्‍याएका छन् । यसअघि वर्षमान पुन उर्जामन्त्री हुँदा उनको स्वकीय सचिव बनेका उनले जिल्लामा विद्युतीकरण र काठको पोल विस्थापनमा गरेको कामको चर्चा छ ।

तत्कालिन जिल्ला विकास समितिका उपसभापति समेत रहेका कन्दङवा ०७४ मा यहीबाट प्रदेशसभा सदस्य निर्वाचित थिए । एमाले अध्यक्ष ओलीसँग निकट मानिने उनले यो पाँच वर्षमा एक पटक मन्त्रीसमेत पाएनन् । प्रदेशसभामा समेत उनको भुमिका देखिएन । उनलाई जिल्लाका नागरिकका समस्या र गुनासा प्रदेशसभासम्म पुर्‍याउन नसकेको आरोप छ ।

चापागाईं ०७० मा संविधानसभा सदस्यको उम्मेदवार थिए । उनी माओवादी केन्द्रको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।

यस्ताे छ अंकगणित र इतिहास

यो क्षेत्र कुनै बेला बामपन्थीहरुको किल्ला मानिन्थ्यो । तर बामपन्थी नेताहरुले जिल्लाको विकास निर्माण र समुन्नतिलाई केन्द्रमा राखेर काम गर्न नसकेपछि जिल्लाको जनमत उल्टिँदो छ । ०१५ सालपछि निरन्तर नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा ०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेपछि कांग्रेसको पक्षमा जनलहर बढेको हो । त्यसबेला कांग्रेस नेता तुलसी सुब्बा निर्वाचित भएका थिए ।
०७४ मा बामगठबन्धनका कारण एमालेकै भवानीप्रसाद खापुङले जिते । ०७० मा पनि यहीबाट चुनाव जितेका उनी अहिले एमालेमा त छैनन् नै, जिल्लाको राजनीतिबाटै रिङआउट भएका छन् । स्थानीय तह निर्वाचनमा ६ मध्ये ३ वटा जितेको कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि वर्चस्व कायम गर्न चाहन्छ ।

पछिल्ला तीन स्थानीय तह निर्वाचनको परिणाम पनि उस्तै गरी बामपन्थी जनमत उल्दिँदो देखिन्छ । ०५४ र ०७४ मा वर्चस्व जमाएको एमाले यसपटकको निर्वाचनमा आधा खुम्चिएको छ ।

यसपटक कांग्रेसले तीन वटा स्थानीय तह जितेको छ भने अघिल्लो पटक पाँच स्थानीय तह जितेको एमाले तीन वटामा खुम्चिएको छ ।
यसपटकको स्थानीय चुनावको परिणामले जिल्लामा कांग्रेस पहिलो दल हो । स्थानीय तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ ।

चुनावको मिति नजिकिँदा जिल्लाको चुनावी परिणाम कसले हात पार्ला रु भन्ने बहस समेत चलेको छ । गठबन्धनका उम्मेदवारहरु बलियो गठबन्धनलाई जनमतमा उतार्न चाहिरहेका छन् भने एमाले आफ्नो पुरानो जित दोहोर्‍याउन लागेको छ । उम्मेदवारहरु गाउँ(गाउँ पुगिरहेका छन् ।

तर एमालेमा आएको विभाजन, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनका कारण यसपटक जिल्लामा गठबन्धनका उम्मेदवारको जित निश्चित रहेको कांग्रेस नेताहरु दाबी गर्छन् । त्यसमाथि एमालेको टिकट वितरणमा अध्यक्ष केपी ओली हाबी हुँदा जिल्लामा नेता कार्यकर्ताबीचको सन्तुलन भत्किएको एमाले नेताहरुकै भनाइ छ । गठबन्धनका नेता त्यसले जित सहज बनेको दाबी गर्छन् ।

एमालेमा जिल्लाबाट उम्मेदवार बनेका सबै नेता ओली गुटका हुन् । यसअघि जिल्लाको राजनीतिमा माधव नेपाल समूहको पकड थियो । तर नेपालले अर्को पार्टी खोलेपछि भने जिल्लाको राजनीति असन्तुलित बनेको छ । विगतमा नेपाल पक्षमा रहेर काम गरेका नेताहरुलाई अहिले ओलीले मौका दिएनन् । ०७४ मा प्रदेशसभा(१ बाट चुनाव जितेर मन्त्री समेत बनेका लोकप्रिय नेता लक्ष्मण तिवारीले यसपटक टिकट नै पाएनन् । उत्तिकै लोकप्रिय रहेका अनुभूतिबम नेपाली, जिल्ला समन्वय समितिका पुर्वप्रमुख शिवप्रसाद ढुंगाना लगायत नेताहरुले समेत ओली गुटमा नभएकै कारण मौका पाएनन् ।

टिकट वितरणमा रहेको असन्तुष्टिको फाइदा पुग्ने गठबन्धनका नेताहरुको अपेक्षा छ । एमालेका एक नेताले भने पार्टीभित्र कुनै असन्तुष्टि नरहेको दाबी गरे ।

यसपटक जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।