NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललितपुर बसेर हेटौंडाको प्रमाणपत्र जारी गर्ने चिकित्सकलाई संगठनकै साथ !

विरोधमा नलाग्न विद्यार्थीलाई दबाब, समाचार पनि हटाउन लगाइयो

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) पशु चिकित्सकको हकहितसँगै सिंगो पशु चिकित्सा क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन स्थापित संस्था हो । यसर्थ आफ्नो पेसाभित्रका गलत कार्यविरुद्ध आवाज उठाउनु यसको धर्म नै हो ।

गत असोज ३० गते भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानले आफैं उपस्थित भएर पशु स्वस्थ भएको स्थितिमा मात्र दिनुपर्ने भेटेरिनरी प्रमाणपत्र ललितपुरमा बसेर हेटौंडामा जारी गरे । यो सिंगो भेटेरिनरी चिकित्सकलाई नै बदनाम गर्ने गम्भीर अपराध थियो । धेरैको अपेक्षा थियो, यसप्रति एसोसिएसनको ध्यानाकर्षण हुनेछ र उसले पछिल्ला दिनमा देखिएका यस्ता विकृति हटाउनेबारे बोल्ने छ ।

भेटेरिनरी चिकित्सा मर्यादित र व्यवस्थित गर्ने ठेकेदारी लिएको एनभिएले पेसाभित्र पलाएको ऐंजेरुबारे बोल्नुको साटो उल्टै गलत काम गर्ने चिकित्सकलाई साथ दिएको छ । प्रधानसँग सम्बन्धित समाचार सेयर गरेका तथा उनीमाथि कारबाही माग राख्दै विज्ञप्ति जारी गरेका भेटेरिनरी अध्ययनरत विद्यार्थीलाई एनभिएका महासचिव अशेष भट्टराईले विरोधमा नलाग्न र सेयर गरेका सामग्री हटाउन भन्दै दबाब नै दबाब दिएका छन् ।

डा. प्रधानको कर्तुत सार्वजनिकपछि नेपाल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन (हिकास्ट) ले पशु चिकित्सकको यो कार्यबाट सिंगो पेसाको बदनाम भएको उल्लेख गर्दै कारबाही गर्न माग गरेको थियो । यससम्बन्धमा विज्ञप्ति नै जारी गरेर पशु सेवा विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत उसले बोधार्थ दिएको थियो । जसलाई विद्यार्थीहरूले संस्था र व्यक्तिगत फेसबुकमा सेयरसमेत गरेका थिए । तर ती सामग्री एकाएक फेसबुक पेजबाट डिलिट भएका छन् । अभिव्यक्ति स्वतन्त्रताको हुर्मत लिँदै व्यक्तिगत पेजमा सेयर गरिएका सामग्री हटाउन पनि विद्यार्थीलाई दबाब दिइएको छ ।

हिकास्टका अध्यक्ष अविनाश ठाकुरले दबाबका कारण डा. प्रधानबारे सामाजिक सञ्जालमा सेयर गरिएको सामग्री हटाउनु परेको बताए ।

उनले भने, ‘पोष्ट् नहटाए एनभिएको साथ सहयोग केही नरहने भनेर हाम्रो अभिभावक संस्था एनभिएको तर्फबाट फोन आयो । उहाँहरूबाटै यस्तो धम्की आएपछि त्यसलाई थेग्न सकेनौं र हटायौं ।’ भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन एनभिएको भातृ संगठन हो ।

पेसाको मर्यादा कायम गर्न वेथितिविरुद्ध बोले पनि एनभिएकै जिम्मेवार व्यक्तिबाट दबाब आउँदा दुःख लागेको उनले बताए । उनले धम्की दिने पदाधिकारीको बारेमा भने केही खुलाउन चाहेनन् ।

सरकारी चिकित्सकले बिनापरीक्षण ललितपुर बसेर हेटौंडाको प्रमाणपत्र जारी गरेको खुलासा

एसोसिएसनका एक विद्यार्थीका अनुसार अनधिकृत कार्य गर्ने डा. प्रधानको बचाउ गर्दै उनीविरुद्ध गतिविधि नगर्न दबाब दिने व्यक्ति एनभिएका महासचिव भट्टराई हुन् । ती विद्यार्थीका अनुसार, भट्टराईले एउटै पेसा व्यवसायमा भएका व्यक्तिले एकअर्काको विरोध गर्न नहुने भन्दै सेयर गरेका समाचार र विज्ञप्ति सामाजिक सञ्जालबाट हटाउन भनेका थिए ।

भट्टराईले प्रधानविरुद्ध सामाजिक सञ्जालमा सेयर गरिएका सामग्री हटाउन विद्यार्थी र तिनको संगठनका पदाधिकारीलाई आफूले दबाब दिएको सहर्ष स्वीकार गरे ।

उनले भने, ‘विद्याथीहरूको काम आफ्नो शैक्षिक गतिविधि गर्ने र त्यससँग सम्बन्धित समस्या उजागर गर्ने हो । यसविपरीत पशु चिकित्सा परिषद्, एनभिसीलगायत जिम्मेवार निकायको विषयमा चासो राख्दै समाचार तथा पत्र सेयर गरेकाले हटाउन भनिएको हो ।’ तर उनले भेटेरिनरी प्रमाणपत्र दुरूपयोगबारे सार्वजनिक विषयले एनभिए गम्भीर भएको बताए । उनका अनुसार, यसलाई मर्यादित र व्यवस्थित गर्न एनभिएले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छ ।

प्रधान प्रकरणमा एनभिएको भूमिकालाई चासोका साथ हेरिएका बेला सानाभन्दा साना विषयमा प्रतिक्रिया जनाइहाल्ने एनभिए अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ भने रहस्यमय ढंगले मौनव्रतमा छन् । उनले यति गम्भीर विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । जानकारहरूका अनुसार, आफ्नै समुदायका भएका कारण श्रेष्ठले प्रधानमाथि सदाशयता प्रकट गरेका छन् । यसप्रकरणमा बोलिहाल्दा विवादमा परिने भएकाले उनले भट्टराईलाई अघि सारेर प्रधान प्रकरण सेटल गराउन भूमिका खेलिरहेको एक पशु चिकित्सकले दाबी गरे ।

डा. भट्टराईको दबाबबारे एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले कुनै प्रतिक्रिया जनाएका चाहेनन् । उनले प्रधानको पक्ष र विपक्ष कतैतिर पनि आफूहरू नरहेको बताए ।

यसमा देखिएको समस्या हल गर्न प्रयास गरिरहेकाले व्यक्तिविशेषमा गएर संगठनले टिप्पणी नगर्ने उनले बताए ।

पशुपन्छी ढुवानीका लागि जारी हुने भेटेरिनरी प्रमाणपत्र चिकित्सकले पशु जाँच गरेर स्वस्थ रहेको अवस्थामा मात्र जारी गर्नुपर्छ । तर विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. प्रधानले गत असोज ३० गते ललितपुरमै बसेर आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको हेटौंडामा प्रमाणपत्र जारी गरेका थिए । पछि इलाका प्रहरी कार्यालय, पशुपतिनगर हेटौंडाले अनधिकृत ढंगले प्रमाणपत्र जारी गरी ढुवानी गरिएको भन्दै ट्रकसहित नियन्त्रणमा लिएपछि डा. प्रधानको बदमासी सार्वजनिक भएको थियो ।